Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

झापामा सुरु भयो चिनियाँ कृषि परियोजना

उद्‌घोष संवाददाता
६ जेठ २०८३, बुधवार

विराटनगर । चीन सरकारको सहयोगमा झापामा कृषि परियोजना सुरु भएको छ । कोशी प्रदेशको परम्परागत कृषि प्रणालीलाई आधुनिक, व्यावसायिक र जलवायुअनुकूल बनाउन कृषि परियोजना सुरु भएको हो ।

चीनको छोङछिङ महानगर जनसरकार र छोङछिङ महानगर कृषि तथा ग्रामीण मामिला ब्युरोका वरिष्ठ कृषि विशेषज्ञहरूको टोलीले झापाको विर्तामोडमा आधुनिक कृषि प्रविधि र मेसिनरी हस्तान्तरण गर्दै परियोजना अघि बढाएका हुन् । 

परियोजनालाई ‘भाइब्रेन्ट भिलेज इनिसिएटिभ’ नामकरण गरिएको जनाइएको छ । 

यस परियोजनाले चीनसहित दक्षिण एसियाको गरिबी निवारण तथा विकासमा सहयोग पुग्ने दाबी गरिएको हो । 

परियोजनाअन्तरगत आधुनिक कृषि उपकरण जडान कार्य सम्पन्न भइसकेको र यस्तो चिनियाँ प्राविधिकहरूले स्थानीय किसानलाई उपकरण सञ्चालनसम्बन्धी तालिमसमेत दिएका छन् । परियोजनामार्फत १२० भन्दा बढी किसानले उन्नत गाईभैंसीपालन तथा आधुनिक मत्स्यपालनसम्बन्धी व्यावहारिक तालिम प्राप्त गरिसकेको ग्रामीण विकास प्रतिष्ठान (सीएफआरडी) नेपालकी निर्देशक जोउ जिछियाङले बताइन् ।

उनले किसानहरूलाई वैज्ञानिक मकैखेती, पशुदानाका लागि साइलेज प्रविधि, भण्डारण विधि तथा आधुनिक फार्म व्यवस्थापनसम्बन्धी थप प्रशिक्षण सञ्चालन गरिने जानकारी दिइन् ।

यो परियोजना बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकासँगको सहकार्यमा कार्यान्वयन सुरु गरिएको हो ।

सन् २०२३ मा झापामा गरिएको स्थलगत अध्ययनपछि पशुपन्छी तथा मत्स्यपालनको उच्च सम्भावना देखिएकाले परियोजना अघि बढाइएको हो ।

‘भाइब्रेन्ट भिलेज इनिसिएटिभ’ परियोजना अन्तरगत झापामा पशुपन्छी तथा मत्स्यपालन विकास परियोजना, चितवनमा वर्णशंकर धानखेती प्रदर्शन तथा ललितपुर र दक्षिणकालीमा आधुनिक हरितगृह तरकारी खेती प्रणाली सञ्चालन गरिएको जनाइएको छ ।

यसैबीच, सीएफआरडीले सामाजिक उत्तरदायित्व अन्तरगत दमकका १० वटा सरकारी विद्यालयलाई खेलकुद सामग्रीसमेत वितरण गरेको छ ।

परियोजनालाई ‘प्रदर्शन मोडेल’ का रूपमा अघि बढाइएको बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रादेवी महताराले बताइन् । यसले नेपाली किसानलाई चीनले गरिबी निवारणमा हासिल गरेका कृषि उपलब्धिहरू प्रत्यक्ष अनुभव गर्ने अवसर प्राप्त भएको उनले बताइन् ।

साथै, नेपालको परम्परागत पशुपालन तथा जलकृषि क्षेत्रलाई आधुनिक र दीगो उद्योगका रूपमा विकास गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको उनको भनाइ छ ।

परियोजनाको उद्घाटनमा प्रतिनिधिसभाका पूर्वसभामुख देवराज घिमिरे, कोशी प्रदेशका खानेपानी, सिंचाइ तथा ऊर्जामन्त्री तिलचन पाठक र उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरीले लगायतले शुभकामना दिएका छन् । 

उनीहरूले चीनबाट आएका कृषि विशेषज्ञको योगदानको प्रशंसा गर्दै अत्याधुनिक कृषि मेसिनरीले कोशी प्रदेशमा कृषि आधुनिकीकरणप्रति नयाँ आशा र ऊर्जा थपेको बताएका छन् ।

कार्यक्रममा नेपालस्थित चिनियाँ दूतावास, कोशी प्रदेश सरकार तथा स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता थियो ।

View : 133

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved