Biratnagar, Morang, Nepal
३१ वैशाख २०८१, सोमवार
+977 21 450305, 515728, 578305
समाज

दक्षिणी विराटनगरबाट नियन्त्रणमा लिइएका ११ वटा साँढेलाई कोशी टप्पुमा छाडिने

उद्घोष सम्वाददाता
२९ माघ २०८०, सोमवार

विराटनगर । बाली खाइदिएपछि किसानले बन्दी बनाएका ११ साँढेलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा लगेर छाडिने भएको छ ।

खेतमा लगाइएको अन्नबाली निरन्तर खाइदिने समस्या भोग्दै आएका विराटनगर–१८ भेडियारीका किसानले ११ वटा साँढेलाई थुनेर राखेका छन् । किसानहरुले माघ २४ गते नियन्त्रणमा लिएका साँढेहरुलाई विराटनगर–१८ भेडियारीमा रहेको विराट राजाको दरवार र दरवार परिसर अगाडि रहेको धरहवा पोखरी परिसरमा थुनेर राखेका हुन् । 

सो पोखरी क्षेत्रमा १० वटा र विराट राजा दरवार परिसरमा एउटा साँढेलाई राखिएको छ । नियन्त्रणमा लिइएका साँढेहरुलाई किसानले पराल र पानीको ब्यवस्था भने गरिदिएका छन् ।

विगतदेखि नै साँढेले दुख दिंदै आएकाले केही सीप नलागेर बाध्य भएर नियन्त्रणमा लिनु परेको किसानहरुले बताएका छन् । किसानले बन्दी बनाएका साँढे कहा लगेर राख्ने बिषय महानगरपालिकाका लागि टाउको दुखाइको बिषय बनेको थियो ।

महानगरका मेयर नागेश कोइरालाले सुनसरीस्थित कोशी टप्पु आरक्ष प्रशासनसँग कुराकानी गरेपछि आरक्ष प्रशासन साँढे जिम्मा लिन सहमत भएको जनाइएको छ । महानगरका मेयर कोइरालाले छिट्टै आरक्षक्षेत्रमा लगेर साँढे छाडिने बताए । 

५ बर्षयता दर्जनौंको संख्यामा आउने साँढेले बाली खाइदिने समस्या निम्तिएपछि त्यसबाट जोगिन किसानले अनेकौं उपाय अपनाउँदै आएका थिए । उनीहरु खेतको बीचमा टहरो बनाएर रातभरि साँढे धपाउन जागासमेत बस्दै आएका छन् ।

यद्यपि उनीहरुको यस्तो उपायले समेत काम गरेन । बिघौ–बिघामा लगाइएको गहुँबाली साँढेले खाइदिएपछि किसानहरु एकत्रित भएर साँढेलाई नियन्त्रणमा लिएका हुन् ।

साँढेहरुले किसानका बाली खाइदिने मात्र नभई सोही वडामा रहेको दमादिघी र लावाघाट क्षेत्रका ५ जनालाई घाइतेसमेत बनाएको स्थानीयले जानकारी दिएका छन् । 

View : 123

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved