Biratnagar, Morang, Nepal
२५ पुष २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

स्टार्टअप कार्यक्रम सञ्चालनका सम्झौता

उद्‌घोष सम्वाददाता
२७ मंसिर २०८१, बिहिवार

विराटनगर । उद्योग संगठन मोरङ पूर्वाञ्चल विश्वविद्यालय (पूवि) बीच व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप (नवप्रवर्तन) कार्यक्रम सञ्चालन गर्ने गरी सम्झौता भएको छ । 

सम्झौतामा संगठनका तर्फबाट स्टार्टअप एण्ड इनोभेशन (नवप्रर्वतन तथा नयाँ खोज) कार्यक्रममा संयोजक सुरेन्द्र गोल्छा र विश्वविद्यालयका तर्फबाट व्यवस्थापन विभागका डिन डा सन्देशदाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

संगठनले विगत ३ वर्षदेखि सञ्चालन गर्दै आएको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमको माध्यबाट युवाहरुलाई उद्यमशिलता रुपान्तरण र पारिस्थितिक प्रणाली विकास गर्ने सन्दर्भमा संघीय सरकारले उक्त कार्यक्रमलाई पहिचान गरी कार्यक्रमलाई थप वढावा दिन सरकारले यस आर्थिक वर्षको बजेटमा ७ प्रदेशमा व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालन गर्न वजेट विनियोजन गरेको छ । 

हस्ताक्षर कार्यक्रममा कोशी प्रदेशको हकमा उद्योग संगठन मोरङसँग सहकार्य गरी व्यवसाय सम्वद्र्धन केन्द्र सञ्चालन गर्नु नीजि क्षेत्रका लागि गौरवको विषय भएको संगठनका कार्यक्रम संयोजक सुरेन्द्र गोल्छाले बताए । 

उनले उद्यमशिलता विकासका सन्दर्भमा नीजि क्षेत्रको प्रयासलाई संघीय सरकारले पहिचान गरी सहकार्य गर्नुले आफूहरुलाई उत्साहित वनाएको भन्दै सरकारलाई धन्यवाद दिए । 

संगठन र पूविबीच भएको सम्झौता अनुरुप कार्यक्रमलाई त्रिपक्षीय त्रिआयामिक (ट्रिपल हेलेक्स) पद्धति अनुसार नीजि क्षेत्र, शैक्षिक क्षेत्र र स्थानीय सरकारको सहकार्यमा र संघीय सरकारको सहयोगमा विराटनगरमा स्थापना हुने व्यवसाय सम्वद्र्धन केन्द्रले स्टार्टअप कार्यक्रमलाइ प्रभावकारी रुपमा सञ्चालन गर्ने संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले बताए ।

उनले उद्योग संगठन, पूर्वाञ्चल विश्वविद्यालय र विराटनगर महानगरपालिकाको सहकार्यमा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई थप संस्थागत गरिदै लगिने स्पष्ट पारे । 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजु थपलियाले युवाहरुलाई उद्यमशिलतातर्फ आकर्षित गर्न सम्वद्र्धन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै केन्द्रबाट प्रदान हुने सेवालाई आवश्यकता अनुसार आगामी दिनमा परिमार्जन र परिस्कृत गरि थप प्रभावकारी वनाउने धारणा राखे ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव छविन्द्र पराजुलीले नेपाल सरकारले युवा उद्यमशिलता प्रवद्र्धन गर्न सातै प्रदेशमा व्यवसाय सम्वद्र्धन केन्द्र तथा स्टार्टअप कार्यक्रम सञ्चालनका लागि कार्यक्रम बनाएको वताए । 

विश्वविद्यालयका तर्फबाट व्यवस्थापन विभागका डिन सन्देशदाश श्रेष्ठले कार्यक्रम अन्तर्गत पहिलो चरणमा विश्वविद्यालयका विभिन्न १० वटा सम्वन्धन प्राप्त कलेजबाट ३० वटा आईडिया एक आईडियामा ३ जना रहने गरी ९० जना विद्यार्थीहरुलाई छनोट गर्ने र दोस्रो चरणमा ९० जनाबाट ३० जना छनोट गरी ७ महिनासम्म सम्वद्र्धन केन्द्रको माध्यमबाट स्टार्टअप इको सिस्टमका सेवाहरु उपलब्ध गराइने बताए । 

कार्यक्रममा संगठनका उपाध्यक्ष विपीन राठी, विश्वविद्यालयको डेपुटी डिन सोनिला शाक्यका साथै विभिन्न क्याम्पसका प्रमुखहरुको उपस्थिति थियो ।

View : 129

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved