Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
कोशी

प्रतिनिधिसभा निर्वाचन

सोलुखुम्बु : कांग्रेस–एमालेबीच पुरानै प्रतिस्पर्धा, नयाँ दलहरूले दिंदैछन् चुनौती

उद्‌घोष संवाददाता
५ फागुन २०८२, मङ्गलवार

विराटनगर । कोशी प्रदेशको हिमाली जिल्ला सोलुखुम्बु कुनै समय नेपाली कांग्रेसको निर्विवाद गढ मानिन्थ्यो । विश्वको सर्बोच्च शिखर सगरमाथाको काखमा अवस्थित यो जिल्ला राजनीतिक हिसाबले कांग्रेसको पकडमा थियो । तर समयसँगै मतदाताको मनोविज्ञान र राजनीतिक समीकरण फेरिएपछि कांग्रेसले जिल्लाको पकड गुमाउँदै गएको बेला फागुन २१ को निर्वाचन सोलुमा दलहरूको शक्ति परीक्षणको निर्णायक घडी बन्दैछ । यसपटक सोलुखुम्बुमा कुल १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 

एमालेबाट महिला उम्मेदवार कल्पना राई मैदानमा छिन् भने कांग्रेसबाट प्रकाशसिंह कार्की चुनावी दौडमा छन् । 

नेपाली कम्युनिष्ट पार्टीबाट असीम राई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ऋषि धन थुलुङ राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र बस्नेत, जनता समाजवादी पार्टी नेपालबाट लाक्पा शेर्पा, नेपाल मजदुर किसान पार्टीबाट कमलबहादुर मगर, मंगोल नेशनल अर्गनाइजेसनबाट मनकुमार गुरुङ, श्रम संस्कृति पार्टीबाट वियस राई, मितेरी पार्टी नेपालबाट श्रीध्वज तामाङ, उज्यालो नेपाल पार्टीबाट पेम्बाछिरी शेर्पा, र आम जनता पार्टीबाट गुणराज भट्टराई उम्मेदवार छन् । 

२०४८ यता अहिलेसम्म भएका सात वटा चुनावमध्ये सोलुमा चार पटक कांग्रेसले जित हासिल गर्दा तीन पटक वामपन्थी दलले बाजी मारेका छन । यही तथ्यले पनि सोलुखुम्बुमा हरेकपटक बहुपक्षीय प्रतिस्पर्धा हुँदै आएको छ । त्यसो त सोलुको राजनीतिक इतिहासलाई बुझ्न बलबहादुर केसीलाई अलग गरेर हेर्न सकिदैन ।

नेपाल विद्यार्थी संघको अध्यक्ष बनेर २०३६–३७ सालको आन्दोलन हाकेका केसी कांग्रेसभित्र प्रभावशाली नेताको रूपमा स्थापित नेता हुन् । 

विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा उक्लिएका केसीले सोलुखुम्बुबाट चार पटक प्रतिनिधिसभा र संविधानसभामा प्रतिनिधित्व गरे । २०४८, २०५१ र २०५६ मा प्रतिनिधिसभा सदस्यमा लगातार निर्वाचित भएका उनी २०७० मा संविधानसभामा पुनः विजयी भएका थिए । 

उनको लामो राजनीतिक यात्रामा पराजयको अध्याय पनि कम रोचक छैन । 

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा उनी माओवादीका गोपाल किरातीसँग पराजित भएका थिए । २०७४ मा हेमकुमार राई (माओवादी केन्द्र) ले जित्दा केसी दोस्रो स्थानमा रहे । २०७९ मा मानवीर राई (एमाले) ले जिते र केसी पुनः दोस्रो भए । 

तीन पटकको पराजयपछि यसपटक भने केसी चुनावी दौडबाट बाहिरिएका छन् । कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको अनिच्छा र उनी स्वयं पनि चुनाव लड्न इच्छुक नदेखिएपछि पार्टीले नयाँ उम्मेदवार अघि सारेको हो । 

पछिल्लो चुनावमा एमालेका मानवीर राई १९ हजार ३२४ मत प्राप्त गरेर विजयी भएका थिए । कांग्रेसका केसीले १६ हजार ५४५ मत पाएका थिए । जनता समाजवादी पार्टी, नेपालका लाक्पा शेर्पा ९०१ मतमा सीमित भएका थिए । 

समानुपातिक मत परिणाम अनुसार एमालेले १५ हजार ७०५ मत पाउदा कांग्रेसले १० हजार ४७३ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले ८ हजार ५२४ मत ल्यायो भने राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार १३५ मत पाएको थियो । यी आकडाले सोलुखुम्बुमा वामपन्थी शक्तिको पकड क्रमशः बलियो बन्दै गएको देखाउँछन्, यद्यपि कांग्रेस अझै पनि प्रतिस्पर्धामा कमजोर भइसकेको छैन ।

पुरानो कांग्रेस गढ मानिएको जिल्लामा यसपटक नयाँ अनुहार र विविध दलहरूको उपस्थितिले चुनावलाई थप रोचक बनाएको छ । 

बलबहादुर केसीको सक्रिय चुनावी यात्राको विश्रामसंगै सोलुखुम्बुको राजनीति एक युगबाट अर्को युगमा प्रवेश गरेको मान्न सकिने भएको छ । 

सोलुखुम्बुको राजनीतिमा कसले पकड जमाउला ? कांग्रेसले आफनो ऐतिहासिक आधार पुनः मजबुत बनाउला कि वामपन्थी शक्तिले आफनो पकड अझ विस्तार गर्लान् ? फागुन २१ ले फैसला गर्नेछ ।

View : 165

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved