Biratnagar, Morang, Nepal
१४ जेठ २०८२, बुधवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेभित्र उथलपुथल ल्याएको मानगढ चुनावको सन्देश

सागर थापालाई महानगरबाट जिल्ला नेताको तहमा उकाल्ने यात्राको सुरुआत पनि मानगढ चुनाव नै बन्यो । र, संस्थापन पक्षका नाममा विरोधीलाई छानीछानी कारबाही गर्ने त्यसबेलाका एमाले नेताहरुलाई ‘डुबाउने’ कारक पनि मानगढ नै बन्यो । यसरी एमालेभित्र ठूलो हलचल ल्याउने कारण बनेको मानगढ चुनाव चर्चामा रह्यो ।
उद्‌घोष सम्वाददाता
१३ जेठ २०८२, मङ्गलवार

अध्यक्षमा निर्वाचित लालमणी भट्टराई (बिचमा) सँगै नेकपा एमालेका तत्कालिन महानगर उपसचिव नवराज नेपाल । मानगढ खानेपानीमा भट्टराईलाई सघाएको आरोपमा नेपालसहितका एमालेका महानगर स्तरका नेताहरु कारवाहीमा परेका थिए । तस्वीर : उद्घोष

विराटनगर । विराटनगरस्थित मानगढ खानेपानीमा गत वर्षको जेठ १९ मा भइरहेको मतदान नबिथोलिएको भए यतिबेला नयाँ समितिले कार्यकालको एक वर्ष बिताइसकेको हुने थियो । चल्दाचल्दैको मतदान रोकिएर वर्षदिनपछि मात्रै शनिबार खानेपानी निर्वाचन भयो । लालमणि भट्टराईलाई उपभोक्ताले आफ्नो मतमार्फत अध्यक्षमा चयन गरेका छन् ।

एउटा खानेपानी संस्थाले आफ्नो नयाँ समिति छान्ने विषय यत्तिमै टुङ्गिनुपर्ने हो । तर, मानगढ खानेपानी चुनावको कथा यत्तिमै टुङ्गिदैन । मानगढ खानेपानी निर्वाचन नेकपा एमाले मोरङमा उथलपुथल मच्चाउने मुख्य कारण बन्यो ।

पहिले अध्यक्ष केपी ओली पक्षमै रहेका तर पछिल्लो समय ओलीबाट टाढिएर किनारामा धकेलिएका नेता विनोद ढकाललाई फेरि पार्टीभित्र शक्तिशाली रुपमा ‘कमब्याक’ गर्ने अवसरको ढोका पनि मानगढ चुनावले नै खोल्यो । 

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका सागर थापालाई महानगरबाट जिल्ला नेताको तहमा उकाल्ने यात्राको सुरुआत पनि मानगढ चुनाव नै बन्यो । र, संस्थापन पक्षका नाममा विरोधीलाई छानीछानी कारबाही गर्ने त्यसबेलाका एमाले नेताहरुलाई ‘डुबाउने’ कारक पनि मानगढ नै बन्यो । यसरी एमालेभित्र ठूलो हलचल ल्याउने कारण बनेको मानगढ चुनाव चर्चामा रह्यो ।

गत वर्ष जेठ १९ मा पहिलोपटक मानगढ खानेपानीको निर्वाचन भएको थियो । त्यसमा एमालेबाट दुई जना उम्मेदवार थिए । 

हालसम्म अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका रामबहादुर घिमिरेलाई तत्कालीन एमाले जिल्लाको संस्थापन पक्षले फेरि अध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको थियो । 

अहिले प्रतिनिधिसभा सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले त्यसबेला भर्खरै जिल्ला अध्यक्षबाट बिदा लिएका थिए । उनका उपाध्यक्ष बाबुराम कार्कीले संगठन कमिटी अध्यक्षको जिम्मा पाएका थिए । 

ती दुवै नेताको रोजाइमा परेका घिमिरेलाई खानेपानी चुनावमा विनोद ढकाल पक्षका लालमणि भट्टराईले चुनौती दिएका थिए । कांग्रेसले दुर्गा चापागाईंलाई अघि सारेको थियो ।  

जेठ १९ मा निर्वाचन चलिरहदा मतदानस्थलमा विवाद भयो । एक हजार भन्दा बढी मतदाताले मतदानको अवसर नै नपाउने अवस्था बनेपछि भएको विवादले मतदान भाँडियो । फेरि मतदान गराउनु पर्ने माग गर्दै केही उपभोक्ता अदालततिर गए ।

उच्च अदालत विराटनगरमा खानेपानी चुनावबारे मुद्दा विचाराधीन नै थियो । त्यहीबेला मोरङ एमालेभित्र भने खानेपानी चुनावको विषयले रडाको सिर्जना गरिसकेको थियो । 

नेताहरु ऋषिकेश पोखरेल, बाबुराम कार्कीसहितका संस्थापन पक्षका नेताहरुले ‘खानेपानीमा पार्टीका आधिकारिक उम्मेद्वारविरुद्ध गतिविधि गरेको’ भन्दै विराटनगर महानगर एमालेका तत्कालिन अध्यक्ष सागर थापा, उपसचिव नवराज नेपाल र खानेपानीका उम्मेदवार लालमणि भट्टराईलाई पार्टीको  साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरे । कारबाहीको पत्र थमाइएको दिन सागर थापा पाञ्चालीको पार्टी कार्यालयमा भक्कानो छाडेर रोएर थिए ।

जिल्ला कमिटीले गरेको निर्णयलाई घनश्याम खतिवडा नेतृत्वको प्रदेश कमिटीले पनि सदर गर्यो । कारबाहीमा परेका तीनै जना कार्यकर्ता विनोद ढकाल पक्षका थिए । खानेपानीको यही विवाद तन्किएर गएको फागुनको जिल्ला अधिवेशनमा पनि आइपुग्यो ।

विनोद ढकाल समूहले ‘मानगढमा भएको अन्यायविरुद्ध जिल्ला अधिवेशनले न्याय गर्ने’ नारा लगाएको थियो । नभन्दै अजम्बर राई नेतृत्वमा खडा भएको ढकाल प्यानलबाट सागर थापाले उपाध्यक्ष जिते । आफूलाई कारवाहीको सिफारिश गर्ने शान्ति लिम्बूलाई नै थापाले हराए ।

पदाधिकारीसहित बहुमत सदस्य ढकाल पक्षले जितेको थियो । त्यसबेला सागर थापाले ‘नेताले कारबाही गरे पनि कार्यकर्ताले न्याय गरेको’ बताएका थिए । त्यसपछि एमाले महानगरमा पनि ढकाल पक्षले एकपक्षीय नतिजा निकाल्यो ।

यसबीचमा उच्च अदालत विराटनगरले पुरानै उम्मेदवार र मतदाता सहभागी गराएर खानेपानी निर्वाचन फेरि गर्न आदेश दिएको थियो । शनिबार मतदान भएपछि सोमबार निर्वाचन नतिजा आउँदा गत वर्ष पार्टीले कारबाही गरेका लालमणि भट्टराई र उनको प्यानलका धेरै उम्मेदवार विजयी भए । त्यसपछि अध्यक्षमा निर्वाचित भट्टराईले पनि उही वाक्य दोहोर्याएका छन् ‘मतदाताले न्याय गरे ।’

अहिलेका जिल्ला उपाध्यक्ष थापाले पार्टीमा भएको शक्ति दुरुपयोग गरेर  त्यसबेला कारबाही गर्नेहरुले लगातार कार्यकर्ता र मतदाताबाट झट्का पाइरहेको प्रतिक्रिया दिएका छन् । 

उनले भने ‘हामी गलत नभएको बारम्बार प्रमाणित भएको छ ।’ 

पार्टीको  जिल्ला, महानगर, मोरङका अरु स्थानीय पालिका कमिटीमा आफू पक्षीय उम्मेदवारलाई पार्टी नेतृत्वमा जिताएका विनोद ढकाल अध्यक्ष केपी ओली पक्षमै रहेका नेता हुन् । तर, लामो समयदेखि ओली पक्षबाट किनारामा पारिएका उनलाई जिल्लामा शक्ति देखाएपछि अध्यक्ष ओलीले बालुवाटारमै बोलाएर ढकालसँग भेटिसकेका छन् । 

खानेपानी चुनावको नतिजापछि सागर थापाले सार्वजनिक रुपमै  ‘खानेपानीबाट सुरु भएको पार्टीीभत्रको विवाद खानेपानीमै आएर टुंगिएको’ पनि बताएका छन् । के उनले भने जस्तै एमाले मोरङभित्रको विवाद अब टुङ्गिएकै हो त ?

अहिलेको जिल्ला कमिटीको विपक्षमा रहेको टिम भने यो मान्न तयार छैन । एमाले महानगर अध्यक्षमा पराजित बनेका रोहित कोइरालाले केही दिन अघि फेसबुकमै रामबहादुर घिमिरे नै एमालेको आधिकारिक उम्मेदवार भएको भट्टराई विद्रोही उम्मेदवार भएकाले उनीमाथि पार्टीले कारबाही गर्नुपर्ने बताएका थिए ।

आफूलाई अध्यक्ष ओली टिमको बताउने कोइरालासहितका नेताहरुले कारबाहीको माग गरेका भट्टराईले एमालेकै घिमिरेलाई हराएर अध्यक्ष जितेका छन् । 

चुनावी परिणामले ओली पक्षीय नेताहरुको दाबी र पुरानो निर्णयलाई अस्वीकार गरेको छ ।

View : 298

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved