Biratnagar, Morang, Nepal
२३ फागुन २०८२, शनिवार
+977 21 450305, 515728, 578305
समाज

नालाको बाढीले बगाएर विद्यार्थीको मृत्यु भएपछि धरानका विद्यालयमा शोक विदा

उद्‌घोष संवाददाता
१४ भदौ २०८१, शुक्रवार

विराटनगर । सडक नालाको बाढीमा परेर विद्यार्थीको मृत्यु भएपछि धरान उपमहानगरपालिकाले शुक्रबार विद्यालय बन्द गरेको छ ।

धरानमा बिहीबार साँझ परेको भारी वर्षापछि वडा नम्बर १७ मा सडक नालाको बाढीमा परेर १४ वर्षीय विद्यार्थी रोशन लिम्बुको मृत्यु भएको थियो । धरान–११ स्थित ऐश्वर्य मार्गको ड्रेनको भेलमा परेर विद्यार्थी मृत्यु भएपछि उपमहानगरपालिकाले शोक विदाको घोषणा गर्दै विद्यालय बन्द गरेको हो ।

लिम्बु धरान–११ को भिक्टोरिया स्कुलको कक्षा ९ मा अध्ययनरत थिए । उनी विद्यालयबाट घर फर्कने क्रममा सडक नालामा परेका थिए । लिम्बुको शव धरान–१७ स्थित फोक्लेन टापुको ठकुरी खोला पुल नजिकै फेला परेको थियो । 

उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले शुक्रबार विहानै गरेको नगर प्रमुख स्तरीय निर्णय अनुसार सम्पूर्ण विद्यालयमा शोक विदा दिइएको शिक्षा महाशाखा प्रमुख गणेश प्रसाद खतिवडाले बताए । 

‘धरान–११ स्थित ऐश्वर्य मार्गमा ड्रेन तर्ने क्रममा अबिरल वर्षाको कारण आएको बाढीमा परी मृत्यु भएको भन्दै शोक विदा दिने दिुखद् घडीमा मृतक विद्यार्थीको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामनाका साथ मिति २०८१/०५/१४ गतेको नगर प्रमुख स्तरीय निर्णयानुसार आज मिति २०८१/०५/१४ गते शुक्रवार १ (एक) दिन धरानस्थित सम्पूर्ण निजि तथा सामुदायीक विद्यालयहरुमा शोक विदा दिइएको व्यहोरा जानकारी गराईन्छ ।’ सूचनामा उल्लेख छ ।

बिहीबार साँझको बाढीले उपमहानगरपालिकामा छेउकै खहरे खोलाको बाढी पस्दा गेट अगाडीको सडक भासिएको छ । खहरे बस्तीमा पस्दा चतरा लाइन जलमग्न बनेको थियो ।

View : 529

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved