अस्पताल व्यवस्थापन समितिको अध्यक्षबाट जिसस प्रमुखलाई हटाउन अध्यादेश
विराटनगर । जनप्रतिनिधिमुलक विश्वासिलो संयन्त्रलाई हटाएर मुख्यमन्त्री केदार कार्कीले अस्पताल व्यवस्थापनमा आफू अनुकुल व्यक्तिहरूलाई नियुत्ति गर्ने बाटो खोलेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्ति जनाएको छ ।
एमाले प्रमुख सचेतक रेवतिरमण भण्डारीले जनप्रतिनिधिमुलक र लोकतान्त्रिक संयन्त्रलाई हटाएर सरकारले निरंकुश र स्वेच्छाचारी रूपमा आफ्ना मान्छे नियुक्ति गर्न खोजेको आरोप लगाए ।
‘अघिल्लो सभाले पास गरेको ऐनमा जिल्ला समन्वय समितिका प्रमुखहरू जिल्ला अस्पताल विकास समितिका अध्यक्ष रहने व्यवस्था थियो, त्यो जनप्रतिनिधित्वमुलक र लोकतान्त्रिक नै थियो’ भण्डारीले भने, ‘त्यसलाई खारेज गरेर मुख्यमन्क्री वा मन्त्रीलाई लागेकोलाई अध्यक्ष नियुत्त गरिदिने भन्ने कुरा लोकतन्त्र विरोधी, निरंकुश र स्वेच्छाचारिता हो, अस्पतालमा पनि राजनीतिक खेलोमेलोमा मुख्यमन्त्री लाग्नुभयो ।’
आफूले अस्पताल विकास समिति खारेज नै गर्ने हो भने योग्यता र विज्ञता तोकेर नियुक्ति गर्ने बाटो बनाउन सुझाव दिएको जानकारी दिए । तर मुख्यमन्त्री कार्कीले अहिले आफ्नो गोजीबाट मान्छे टिपेर सकेसम्म कांग्रेसको मान्छे, कांग्रेसभित्र पनि मुख्यमन्त्रीको गुटको मान्छे नियुत्त गर्ने दाउमा लागेको आरोप लगाए ।
प्रमुख सचेतक भण्डारीले भने, ‘यो कदम अत्यन्तै आपत्तिजनक छ, जनप्रतिनिधि हटाएर गोजीको मान्छेलाई टिपेर अध्यक्ष बनाइदिने कुरा सिद्धान्ततः पूर्ण रूपमा अव्यवहारिक छ ।’
View : 204
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved