दुर्घटना अपडेट
विराटनगर । इटहरी– धरान हुँदै भोजपुरको आमचोक जाँदै गरेको बोलेरो जिप दुर्घटनामा कम्तिमा ६ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले दुर्घटनामा ६ जनाको मृत्यु भएको तर मृतकहरूको सनाखत हुन बाँकी रहेको जनाएको छ ।
मृत्यु हुनेमा एक बालकसहित तीन महिला र दुई पुरुष रहेका छन् । जिप थिचेका र चेपिएका गम्भीर घाइतेहरूको उद्धार गर्न कठिन भइरहेका कारण मृतकको संख्या अझै बढ्ने सक्ने जनाइएको छ ।
बिहीबार विहान करीव साढे १० बजेतिर उदयपुरको बेलका नगरपालिका– ७ र भोजपुर जोड्ने चुहार पुल पुग्न अघिको ओरालोमा जिप दुर्घटना भएको हो । जिप सडकबाट चारवटा मोडहरू माथिबाट उछिट्टिएर खोँचमा खसेका कारण उद्धार गर्न कठिनाइ भएको स्थानीय मिलन सुभाराले बताए ।
उनले सात जना जति मानिसहरू जिपमै च्यापिएको र केही यात्रु जिपले नै थिचिएको बताए ।
को १ ज २५९३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो । दुर्घटनास्थलमा प्रहरी पुगिसकेको जनाइएको छ ।
जिपबाट उछिट्टिएर गम्भिर घाइते भएका केहीलाई कोशी नदीमा चल्ने जेट बोटमा हालेर उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको जनाइएको छ ।
जिपमा एउटै घरका चारजना सहित १४ जना यात्रु रहेको जनाइएको छ ।
View : 459
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved