विराटनगर । सहकारीमार्फत उदाहरणीय खेती प्रणाली विकसित गरेको इजरायलको त्यही सफलता हेर्न त्यहाँ पुगेका विराटनगर महानगरका मेयर नागेश कोइराला इजरायल–इरान युद्धले त्यहिं बन्धक बनेका छन् । विराटनगर महानगरका मेयर कोइराला सात दिनदेखि इजरायल भ्रमणमा छन् ।
केही दिनयता इजरायल र इरानबीच आक्रमण र प्रत्याक्रमण चल्न थालेपछि उनीसहित त्यहाँ पुगेका विश्वका विभिन्न देशका जनप्रतिनिधिहरु बंकरमा लुक्दै बस्न बाध्य भएका छन्।
आइतबार साँझ टेलिफोनमा कुरा गर्दै मेयर कोइरालाले आफू सेफाइम भन्ने ठाउँमा सुरक्षित रहेको जानकारी दिएका छन् ।
‘राजधानी सहरबाट ३० किलोमिटर दुरीमा रहेको सेफाइम भन्ने सहरमा छु म,’ कोइरालाले भने ‘नेपालबाट म एक्लै छु । मेरो टोलीमा फिलिपन्सका दुई सांसदसहित १७ जना जनप्रतिनिधिहरु छन् ।’
मेयर कोइरालाका अनुसार उनी इजरायलको सहकारी अभ्यासबारे अध्ययनका लागि इजरायली निम्तोमा सात दिन अघि त्यहाँ पुगेका थिए ।
जुन महिनाको २० तारिखमा उनी नेपाल फर्कने कार्यक्रम छ । तर, इरानसँगको तनाव बढेपछि त्यहाँका विमानस्थलहरु बन्द छन् ।
त्यसले नेपाल फिर्ती अनिश्चित बनेको उनले जानकारी दिए ।
‘यहाँ बेलाबेला साइरन बजिरहँदो रहेछ’, कोइरालाले भने ‘इरानले बम या अरु कुनै आक्रमण गर्न लाग्दा साइरन बजेपछि डेढ मिनेटभित्र बंकरभित्र छिरिसक्नुपर्ने रहेछ । म अहिलेसम्म ८–९ पटक बंकरभित्र छिरिसकें ।’
आफूलाई भेट्न इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डित दुई पटक आइसकेको जानकारी दिँदै कोइरालाले परराष्ट्र मन्त्री आरजु राणा देउवासँग पनि कुराकानी भएको बताए ।
‘राजदूतले दुतवास नै गएर बसौं भन्नुभयो तर साथीहरु छाडेर गएको छैन’, उनले भने ।
चार दिन अघि इजरायलले इरानमा आक्रमण गरेपछि सुरु भएको दुई देशबीचको तनाव र गोलाबारी जारी रहँदाको त्रासले मेयर कोइरालासहित हजारौं नेपाली पिरोलिएका छन् ।
इजरायली आक्रमणपछि प्रत्याक्रमणमा उत्रेको इरानले लगातार क्षेप्यास्त्रहरु प्रहार गरिरहँदा त्यहाँ रहेका नेपाली आत्तिएका छन् ।
View : 2996
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved