Biratnagar, Morang, Nepal
२३ जेठ २०८३, शनिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

पत्रकारलाई निर्वाचनमा सहज रूपमा समाचार संकलनको व्यवस्था गर्न महासंघको माग

२१ फागुन २०८२, बिहिवार

काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकारलाई मतगणनाको समाचार संकलन रूपमा गर्ने व्यवस्थाका लागि निर्वाचन आयोग र नेपाल सरकारसँग माग गरेको छ ।

महासंघले बुधबार विज्ञप्ति जारी गरी प्रतिनिधिसभा सदस्य निर्वाचनको समाचार संकलनमा प्रशासनिक झन्झट व्यहोर्नुपरेको भनी देशभरबाट पत्रकार तथा सञ्चारगृहले गुनासो गरेको उल्लेख गर्दै सूचना विभाग तथा अन्य सरकारी निकायबाट जारी प्रेस पास, सम्बद्ध सञ्चारगृह वा नेपाल पत्रकार महासंघको परिचयपत्रका आधारमा मतदान, मतगणनाको समाचार संकलनको व्यवस्था गर्न माग गरेको हो ।

मतदानको अघिल्लो दिनसम्म पत्रकार र सञ्चारगृहले सहज रूपमा जनतासमक्ष सूचना पुर्याउने दायित्व पूरा गर्ने वातावरण नबनेकामा महासंघले दुःख व्यक्त गरेको छ ।

पारदर्शी, स्वच्छ, निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि नेपाली प्रेसजगत्को भूमिका रहिआएको सन्दर्भमा प्रेसलाई आफ्नो दायित्व निर्वाहमा सहजीकरण र समन्वय गर्नु सम्बद्ध निकायको कर्तव्य हुन आउने उल्लेख गर्दै महासंघले अन्यथा निर्वाचनप्रति नै आशंका सिर्जना हुन सक्नेतर्फ गम्भीर हुन महासंघ सम्बद्ध पक्षको ध्यानाकर्षणसमेत गराएको छ ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “निर्वाचनका क्रममा सबैखाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पत्रकारको सुरक्षामा विशेष ध्यान दिन महासंघ माग गर्दछ र पत्रकारहरूसमक्ष सुरक्षित रूपमा कार्यथलोमा खटिन र तटस्थता कायम राख्दै निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको परिपालना गर्न आहृवान गर्दछ । यसतर्फ प्रेरित गर्दै आफ्ना सदस्यहरूका समस्या समाधानमा क्रियाशील हुन महासंघका सबै प्रदेश समिति, शाखा समिति र संस्थागत सदस्य संस्थाहरूलाई अपिल गरिन्छ ।”

View : 108

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved