विराटनगर । अहिलेको सत्ता समीकरण नै परिवर्तन गर्ने कसरत गरिरहेको आरोप खेपेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संसदीय दलको नेता परिवर्तन गर्न सक्ने अवस्थामा आफू नरहेको अभिव्यक्ति दिएका छन् ।
बुधबार गृहनगर विराटनगर आइपुगेका नेता कोइरालाले दलको नेता फेर्न अहिले संख्या पुग्ने स्थिति नरहेको स्वीकारेका हुन् ।
विराटनगरको कोइराला परिवारको राजनीतिक विरासत धानिरहेका शेखर आउँदो महाधिवेशनबाट पार्टी सभापति बन्ने लक्ष्यसहित अभियानमा छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति असन्तुष्ट उनले विपक्षी नेताहरूदेखि एमालेभित्रैका ओलीविरोधी नेताहरूसँग बाक्लो भेटघाट गरिरहेका छन् ।
उनको यस्तो सक्रियतालाई कांग्रेसकै पूर्वपदाधिकारीहरूले मन पराएका छैनन् । उनकै भाइ संशाक कोइरालासहितका पूर्वपदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई यसबारे भनेका थिए ।
पूर्वपदाधिकारीहरुसँगको भेटमा देउवाले ‘सक्ने भए शेखरले संसदीय दलको नेता फेरेर देखाए हुन्छ’ भन्दै चुनौती दिएका थिए ।
विराटनगर विमानस्थलमा यसबारे पत्रकारहरूले प्रश्न गर्दा शेखरले अहिले आफू दलको नेता फेर्ने अवस्थामा नरहेको मात्रै बताएनन्, अहिलेको सरकारको विकल्प खोज्न नलागेकोसमेत भनेका छन् ।
साता अघिसम्म पार्टी सभापति र प्रधानमन्त्रीविरुद्ध आक्रामक सुनिने शेखरको यस पटक भने ‘टोन डाउन’ भएको देखिएको छ ।
संसदीय दल नेता फेर्नका लागि सांसदहरूको संख्या आवश्यक पर्ने उल्लेख गर्दै कोइरालाले त्यो सम्भावना अहिले नरहेको पनि बताए ।
‘संसदीय दलको नेता फेर्न संख्या चाहिन्छ, त्यसै त हुँदैन’, उनले भने, ‘यो कुरा सभापतिजीले पनि बुझ्नुभएको छ, चिन्ता गर्नु पर्दैन ।’
कोइरालाले कांग्रेस–एमाले समीकरणको अहिलेको संघीय सरकारले राम्रोसँग काम गर्न नसकेको टिप्पणी पनि गरेका छन् । यसो भन्दाभन्दै पनि उनले अहिलेको गठबन्धन ०८४ सम्मै जाओस् भन्ने कामना पनि गरेका छन् ।
‘यो समीकरण र सरकार २०८४ सम्म नै जाओस्’, उनले भने, ‘तर, सरकार राम्रोसँग चलाउनुपर्यो । अहिले राम्रोसँग चलेको छैन ।’ उनले कांग्रेस र एमालेबीच भएका ७ बुँदे सहमति कार्यान्वयनतर्फ लैजानुपर्नेमा जोड दिए ।
कोइरालाले केही समयअघि मात्रै प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेपछि कांग्रेस भित्र र बाहिर उनी नयाँ कसरतमा लागेको भन्दै चर्चा भएको थियो ।
प्रधानमन्त्री ओलीले क्याबिनेट बैठकमै यसबारे कुरा उठाएका थिए । यसरी प्रधानमन्त्रीलाई चस्का पर्ने गरी दौडधुप गरिरहेका कोइराला साता दिन नबित्दै बोली फेर्ने अवस्थामा कसरी पुगे ? कोइराला निकट नेताहरू उनले बोली फेरेको मान्न तयार छैनन् ।
सत्ता समीकरण नै फेर्छु भनेर हिँडेको नेता दलको नेता फेर्न सक्दिनँ भन्ने तहमा कसरी आउनुभयो भन्ने प्रश्नमा उनी निकट नेताहरू अहिलेको यथार्थ त्यही भएको तर प्रयास नछाड्ने बताउँछन् ।
कांग्रेसमा २०७९ पुस ६ गते भएको संसदीय दल नेता चुनावमा देउवा ६४ मतसहित निर्वाचित हु“दा अर्का उम्मेदवार महामन्त्री गगन थापाले २५ मतमात्रै ल्याएका थिए ।
त्यो संख्यामा खासै फेरबदल नआएकोले संसदीय दल नेता परिवर्तन हुन सक्ने सम्भावना कांग्रेसमा कम छ ।
अर्को प्रसंगमा कोइरालाले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो हुने बताएका छन् ।
तर पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले नरोकेको पनि उनले बताए ।
‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले त दिएको छ, जे गर्न पनि हुन्छ भन्छ,’ कोइरालाले भने, ‘तर अब मलाई सोध्नुहुन्छ भने नफर्केको राम्रो, मेरो विचारमा । अब राजनीतिमा फर्कन त कसले रोक्न सक्छ र ?’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेपछि एमाले केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपतिलाई पार्टी राजनीतिमा नल्याउने निर्णय गरेको थियो ।
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन भने माओवादीको सक्रिय राजनीतिमा उपाध्यक्ष बनेर फर्किसकेका छन् ।
View : 637
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved