सुनसरी । सम्झौता भएको एक बर्षपछि इटहरीमा आधुनिक बसपार्कको शिलान्यास गरिएको छ । इटहरी उपमहानगरपालिका र नगरविकास कोषबीच २०७९ माघ २२ गते बसपार्क आयोजनाका लागि ऋण सम्झौता भएको थियो ।
साढे ९ करोडको लागतमा बन्न लागेको अत्याधुनिक बसपार्कको मंगलबार इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकर्ण पौडेल र वडा नं ९ का वडाध्यक्ष जितेन्द्र थापाले शिलान्यास गरे ।
१८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको बसपार्क सुरुवातमा १६ करोड २२ लाखको लगानीमा बन्ने भनेर सम्झौता भएको थियो । त्यसका लागि लागि नगरविकास कोषले ११ करोड ३५ लाख ऋण उपलब्ध गराउने र बाँकी रकम नगरपालिकाले ब्यहोर्ने सम्झौता भए पनि बजेट अभावमा लागत घटाइएर पुन सम्झौता गरिएको नगरप्रमुख पौडेलले जानकारी दिए ।
बसपार्कका लागि लिइने ऋण नगरपालिकाले २० बर्षभित्र तिरिसक्ने बताइएको छ ।
इटहरीमा अहिले भएको पुरानो बसपार्क साँघुरो भएकोले सोही ठाउँमा क्षेत्र बिस्तार गरी सुबिधा सम्पन्न बसपार्क निर्माणको काम सुरु भएको हो ।
एक बिघा क्षेत्रफलमा फैलिने बसपार्कको तल्लो तलामा टिकट काउन्टर, सोधपुछ कक्ष, यात्रु प्रतीक्षालय, सभाहल तथा रेष्टुरेन्ट सहितको हुनेछ । ५० वटा भन्दा बढी बस अट्ने क्षमताको बसपार्कमा ढल व्यवस्थापन र ढल सहितको हुने इटहरी ९ का वडाध्यक्ष जितेन्द्र थापाले बताए ।
View : 315
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved