विराट ट्रेड एक्स्पो–२०२५ विशेष
विराटनगर । धनकुटाको महालक्ष्मी नगरपालिका–९ मुर्तिढुंगाका कृष्णबहादुर विश्वकर्माको पूख्र्यौली पेशा थियो ठेकी बनाउने । अहिले उनी ठेकीलगायत काठबाट बन्ने दर्जनौं सामग्री उत्पादन गर्ने उद्योगकै मालिक बनिसकेका छन् ।
विराटनगरमा मंगलबारदेखि सुरू भएको विराट ट्रेड एक्स्पोमा उनले आफ्नो उद्योगबाट उत्पादित काठका सामग्रीको विक्री कक्ष नै राखेका छन् ।
एक्स्पोभित्र राखिएको तेस्रो डोमको अन्तिमतिर उनको स्टल छ । कृष्णबहादुरले पञ्चकन्या ठेकी उद्योगको नाममा काठका सामग्री उत्पादन गर्दै काठमाडौंमा समेत बिक्री केन्द्र सञ्चालन गर्दै आएको बताउँछन् ।
विराट ट्रेड एक्स्पोले स्थानीय र घरेलु उत्पादनलाई प्रवद्र्धन गर्ने नीति लिएका कारण आफूले परम्परागत रूपमा प्रयोग हुने ठेकी, हर्पे, मानी, खुकुरी, हर्पे, सन्दुक, तोङ्बा, मसलादानी, चपबोर्ड, ग्लास, वाइन ग्लास जस्ता काठबाटै बनेका सामग्रीको स्टल राखेको उनले बताए ।
‘भान्सामा अहिले प्लाष्टिकका सामग्रीको प्रयोग बढ्दै गएको छ, स्वास्थ्यका हिसावले पनि यस्ता सामग्रीको प्रयोग कम गर्नुपर्छ भन्ने मान्यता बढ्दै गएको छ’ कृष्णबहादुरले भने, ‘हामीले परम्परादेखि प्रयोग गरेका काठबाट भान्सामा प्रयोग हुने धेरै सामग्री उत्पादन गर्दै बिक्री गर्दै आएका छौं, ग्राहकले जस्तो अर्डर गर्छन् त्यस्तै सामग्री उत्पादन गर्नसक्छौं, काठका सामग्री स्वास्थ्यका हिसावले पनि राम्रो मानिन्छन् ।’
आफूले धनकुटाको हिले बजारमा मुख्य बिक्री केन्द्र सञ्चालन गरिरहेको उनले बताए ।
काठमाडौंस्थित बौद्ध तिनचुलीमा सात महिना अघिमात्रै नयाँ बिक्री केन्द्र खोलेको जानकारी दिए । अहिले भने विराट ट्रेड एक्स्पोमा स्टल राखेर काठका सामग्रीको प्रवद्र्धन र विक्री वितरण गरिरहेको उनले बताए ।
भान्सामा चिनियाँ र जापानीले काठका सामग्री धेरै प्रयोग गर्ने गरेको देखेर आफूले पनि अहिले त्यस्तै सामग्री अर्डर अनुसार बनाइरहेको बताए । तर काठबाट सामग्री बनाउन अहिले उपयुक्त काठको अभाव हुन थालेको बताए ।
‘एक्स्पोको माध्यमबाट सवैलाई काठका सामग्रीको महत्व बुझाउँदैछु, काठकै भाँडाकुँडा, डाडुपन्यू देख्दा धेरैले किन्ने गर्छनन्, हामीलाई पनि हौसला त हुन्छ नै’ उनले भने, ‘दार, सिसौ, साँदन, खमारी, नीम, विजयसाल र बाँसका जराबाट यस्तो उपयोगी वस्तु बनाइन्छन्, तर अहिले यस्तो जातको काठ अभाव हुन थालेको छ ।’
पछिल्लो पटक नुवाकोट जिल्लामा दार पाउने कुरा पत्ता लागेपछि त्यहीं उद्योग स्थापना गरिएको उनले बताए ।
काठका सामग्री उत्पादनका लागि धनकुटा नगरपालिकाले समेत सहयोग गरिदिएकोमा उनी खुसी व्यक्त गरे । तर दक्ष कामदारको अभाव हुने गरेको गुनासो गरे ।
‘अहिले एक्स्पोमा पनि कारोबार ठिकै छ, तर काम सिकिसकेपछि काम गर्नेहरू विदेश पलायन हुन्छन्’ उनले भने, ‘यहीं बसेर केही गर्न प्रयास गरौं भन्ने भावना विकास गर्नुपर्दछ, मैले आफैंले अहिले आठ जनालाई रोजगारी त दिइरहेको छु ।’
View : 168
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved