विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की र संयुक्त राष्ट्रिय संघीय खाद्य तथा कृषि संगठन (एफएओ) का नेपाल साथै भुटान हेर्ने प्रतिनिधि केन सिमिजुबीच सोमबार विराटनगरमा भेटवार्ता भएको छ ।
भेटका अवसरमा मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत विभिन्न परियोजनाहरू संचालन गरेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
उनले मध्यपहाडी जिल्लाहरूमा वातावरणीय प्रभाव कम गर्ने, कृषि क्षेत्र र उच्च मूल्यका फलहरूको उत्पादन, बजारीकरण र व्यवस्थापनमा काममा सहयोग गर्नका लागि आग्रह गरेका छन् । मुख्यमन्त्री कार्कीले कोशी प्रदेशको कृषि, जलवायु र विपद् जस्ता क्षेत्रमा सहकार्य गरेर अगाडि बढ्न सके अझ थप उपलब्धि हासिल हुनेमा जोड दिएका हुन् ।
कोशी प्रदेश सरकार जलवायु परिवर्तन र यसले पारेका असरका सन्दर्भमा अत्यन्तै चिन्तित रहेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेशको जैविक विविधतासहितको प्राकृतिक पहिचानलाई बचाउने कार्यमा थप सहयोग आवश्यक रहेको बताए ।
‘प्रदेश सरकार यी विषयहरूमा कसरी अगाडी बढ्ने भन्ने गहन छलफल गर्नु पर्ने अवस्थामा छौं, मुख्यमन्त्री कार्कीले भने, ‘यी र यस्ता प्रभावहरूका बारेमा सबै सरोकारवालाहरूसँग छलफल गर्न हामी चाहन्छौं ।’
आगामी आर्थिक वर्षमा विश्व रामसार दिवसको अवसरमा जलवायु परिवर्तनका असरका सम्बन्धमा सम्मेलन आयोजना गर्ने तयारी रहेको समेत उनले बताए ।
भेटका क्रममा संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका प्रतिनिधि केन सिमिजुले आफूहरू पनि प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताए । उनले थप काम गर्नका लागि यहाँ सम्पर्क कार्यालय सञ्चालन गरेर अघि बढ्ने तयारी रहेको जानकारी दिए ।
प्रदेश सरकारले सञ्चालन गर्न लागेका कृषि र जलवायुका विविध विषयमा सहकार्य र समन्वयका साथ अगाडि बढ्ने उनले बताए । संयुक्त राष्ट्रिय संघीय खाद्य तथा कृषि संगठनले कोशी प्रदेशमा जैविक विविधता माटो संरक्षण व्यवस्थापन, चुरे क्षेत्रमा वातावरणीय प्रभाव न्यूनीकरण जस्ता विषयमा काम गरिरहेको जनाइएको छ ।
View : 381
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved