विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालयमा तोडफोड र आगजनीपछि हथियार लुट्नेमध्ये तीन जनालाई लुटिएका दुई थान पेस्तोल र २० राउन्ड गोलीसहित प्रहरीले पक्राउ गरेको छ ।
झापाको दमक नगरपालिका–८ र इलामको चुलाचुली गाउँपालिका–४ बाट प्रहरीले लुटिएको दुई थान चाइनिज पेस्तोल र २० राउन्ड गोलीसहित तीन जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–८ का २५ वर्षीय सरोज पुरी, दमक–६ का २९ वर्षीय विश्व लिङ्देन र इलामको चुलाचुली–४ का पवन हाङ्सुरुम्बा रहेका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
काठमाडौं महानगरीय प्रहरी कार्यालयमा तोडफोड र आगजनी गरी हथियार, गोलीगठ्ठा लुटी फरार भएका पुरी आफ्नै घरमा लुकेर बसेको भन्ने विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय दमक र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पुरीलाई एक थान पेस्तोल र १५ राउन्ड गोलीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका पुरीले लुटेर ल्याएको अर्को पेस्तोल र ५ राउन्ड गोली विश्व लिङ्देनलाई दिएको र विश्व लिङ्देनले उक्त पेस्तोल र गोली चुलाचुली–४ का पवन हाङ्सुरुम्बालाई राख्न दिएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ ।
हाङ्सुरुम्बाले बारीमा खाल्डो खनी लुकाइराखेको १ थान पेस्तोल र ५ राउन्ड गोलीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनाविरुद्ध आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अघि बढाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
View : 177
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved