Biratnagar, Morang, Nepal
८ मंसिर २०८१, शनिवार
+977 21 450305, 515728, 578305
स्वास्थ्य

महानगरद्वारा निःशुल्क अटिज्म सेवा केन्द्र सञ्चालन

उद्घोष सम्वाददाता
८ कार्तिक २०८१, बिहिवार

विराटनगर । विराटनगर महानगरपालिकाले अटिज्म भएका बालबालिकाहरूका लागि निःशुल्क ‘महानगर अटिजम सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

विराटनगर–४ दूधफारम दक्षिणमा अवस्थित केन्द्रको महानगरका मेयर नागेश कोइरालाले उद्घाटन गरे । करुणा फाउण्डेशनको प्राविधिक सहयोगमा सञ्चालनमा ल्याइएको ‘महानगर अटिजम सेवा केन्द्र’ का लागि छिट्टै नै भवन निर्माण गर्ने योजना रहेको कोइरालाले बताए । 

अटिजम सेवा केन्द्र सञ्चालनका लागि महानगरले चालु आर्थिक वर्षको बजेटमा १ करोड रुपैयाँ विनियोजन गरेको थियो । 

विनियोजित रकममध्येबाट ३० लाख रुपैयाँको लागतमा महानगर अटिजम सेवा केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य महाशाखा प्रमुख डा. दिलिप यादवले जानकारी दिए । 
यादवका अनुसार केन्द्र बिहान ९ देखि ३ बजेसम्म सञ्चालन हुनेछ । हाल केन्द्रमा ५ बालिकासहित २५ जनाले सेवा लिइरहेका छन् । महानगरको तथ्यांकअनुसार विराटनगर क्षेत्रभित्र ५१ जना अटिजम भएका बालबालिका छन् ।

महानगरले सञ्चालनमा ल्याएको केन्द्रमा फिजियोथेरापी, स्पीज थेरापी (बोल्न सिकाउने), बालबालिका र अभिभावकलाई मनोचिकित्सक सेवा प्रदान गरिनेछ । केन्द्रभित्र ट्रेम्पोलिन, चिप्लेटी, चाकाचुली, पुल बल, रकिङ हर्स, घुम्ने पिङ, टेबल टेनिससहित आवश्यकताअनुसारका विभिन्न खेलौनाको समेत व्यवस्था गरिएको छ । 

केन्द्रमा भर्ना भएका बालबालिकाको उपचारसहित अध्ययनसमेत गराइनेछ । उनीहरूलाई उपचारपछि अन्य विद्यालयमा भर्ना गरिने यादवले जानकारी दिए ।

View : 85

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved