Biratnagar, Morang, Nepal
७ मंसिर २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न :  परीक्षण उत्पादन सुरु हुँदै

उद्घोष सम्वाददाता
२९ साउन २०८१, मङ्गलवार

कास्की, २९ साउन । पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।

आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।

“आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौँ ।

त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने)को काम सुरु हुन्छ”, प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भने ।

‘वेट टेष्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ ।

सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ । 

पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ । सो आयोजना नदी जलप्रवाहमा आधारित छ ।

कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताए । उनले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको बताए ।

उनले भने, “जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ ।

पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ ।”

सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ । यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् ।

अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताए ।

सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो ।

कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताए । रासस

View : 140

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved