चितवन, २२ भदौ । जिल्लाको कालिका नगरपालिका–२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ ।
यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो ।
कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रबार व्यावसायिक डल्ले च्याउको उत्पादन शुभारम्भ गर्दै पालिकासँगै मुलुकलाई च्याउमा आत्मनिर्भर बनाउने उद्देश्यले वातावरण अनुकूल टनेल निर्माण गरी उत्पादन सुरु गरिएको बताए ।
नगरपालिकाले कृषक र कृषि क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न अनुदान, प्राविधिक, कृषि उपकरणलगायत सहयोग गरिरहेको उनले जानकारी दिए ।
नगरप्रमुख रेग्मीले यहाँको उत्पादन मुलुकका प्रमुख सहरमा पुग्ने भएकाले यसलाई थप व्यावसायिक हुँदै उत्पादनमा केन्द्रित योजना अनुरूप वातावरण अनुकूल टनेल निर्माण गरिएको बताए । उनका अनुसार रेन्स्की एग्रो फार्मले डल्ले च्याउ उत्पादन थालेको हो ।
यसअघि यहाँ पाते च्याउ उत्पादन हुँदै आएको थियो ।
फार्मका सञ्चालक कमल शर्मा सुवेदीले एउटा टनेल १० टन कम्पोस्टको क्षमताको भएको बताउँदै यसबाट १८ देखि २० प्रतिशत च्याउ उत्पादन हुने जानकारी दिए ।
“निर्मित १२ वटा टनेलमा ६५ दिनमा करिब २४ हजार किलो च्याउ उत्पादन हुने अनुमा गरेका छौँ ।
एक वर्षमा छ पटकसम्म उत्पादन गर्न सकिने भएकाले गर्मी मौसमका लागि यो प्रभावकारी मानिएको छ”, उनले भने ।
प्रतिकिलो चार सयमा डल्ले च्याउ बिक्री हुन्छ । यहाँ उत्पादित ७० प्रतिशत च्याउ चितवनको बजारका साथै काठमाडौँ र मकवानपुरमा बिक्री हुने गर्दछ ।
गर्मी मौसम भएकाले वातावरण अनुकूलित टनेलमा च्याउ उत्पादन गरिएको हो ।
सुवेदीको भनाइ अनुसार तापक्रम मिलाउन ‘एयर हेण्डलिङ युनिट’ जडान गरिएको छ ।
“एउटा टनेल निर्माण गर्न १९ लाखको हाराहारी खर्च भएको छ भने प्रतिकिलो ३२ को कम्पोष्ट मल प्रयोग गरिँदै आइएको छ”, उनले भने ।
फार्मले विसं २०७९ पुसदेखि च्याउ उत्पादन थालेको हो ।
सुरुमा पाते च्याउ उत्पादन गरिकामा अहिले डल्ले च्याउको उत्पादन थालिएको सञ्चालक सुवेदीले बताए ।
यसअघि एक सय पाँच टनेलमार्फत पातेच्याउ उत्पादन हुँदै आएको थियो ।
यो च्याउ चितवन, काठमाडौँ हुँदै मुस्ताङसम्म पुग्दछ ।
मुलुकमा पहिले डल्ले च्याउ बाहिरबाट आउने गरेकामा अहिले यहाँको उत्पादनले धानेको सुवेदीले जानकारी दिए ।
नेपालमा यो बाहेक १० वटा फार्मबाट डल्ले च्याउ उत्पादन हुँदै आएको छ । रासस
View : 88
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved