विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको केराबारी गाउँपालिका–१० मा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले स्थानीय २५ वर्षीय सुमन तामाङलाई ब्राउनसुगर १ ग्राम ४ सय मिलिग्राम र नगद १४ हजार ४ सय ७० रुपैयाँ सहित पक्राउ गरेको हो ।
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर–१५ मा चेकजाँचका क्रममा धरान–१८ का २२ वर्षीय जेम्स राईलाई ५९ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ ।
यस्तै झापाको बिर्तामोड–४ का २७ वर्षीय पूर्णबहादुर बस्नेतलाई ब्राउनसुगर ५ सय ८० मिलिग्राम र नगद ८ हजार ४ सय ७५ रुपैयाँ सहित इलाका प्रहरी कार्यालय सुरुङ्गाको प्रहरी टोलीले पक्राउ गरेको छ ।
सुनसरीको प्रहरी चौकी घुस्किहाटबाट खटिएको प्रहरी टोलीले हरिनगरा गाउँपालिका–७ मा चेकजाँचको क्रममा प्रदेश ०१–०२–०४१ प १४६५ नम्बरको मोटरसाइकलमा सवार हरिनगरा–६ का २८ वर्षीय रब्बाम मिया र आदिल आलमलाई प्रतिबन्धित औषधि ट्रामाडोल १५ हजार २० ट्याब्लेट सहित पक्राउ गरेको छ ।
View : 182
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved