विराटनगर । कोशी नदीमा पानीको बहाव घट्दै गएपछि ठूलो दुर्घटना टरेको भन्दै नेपालले सन्तोष मानिरहदा छिमेकी भारतमा भने यहीबेला कोशीले विपत्ति निम्त्याएको छ । बिहारको दुःख भनेर चिनिने कोशीले बिहारको दरभंगामा मंगलबार बिहान बाँध फुटेपछि त्यहाँ विपत्ति सिर्जना गरेको हो ।
नेपालको दक्षिणमा रहेको भारतीय राज्य विहारको दरभङ्गा जिल्लाको किरतपुर ब्लकको भुभौग गाउँ नजिकै कोशीको पश्चिमी बाँध भत्किएको हो ।
मंगलबार बिहान १ बजे बाँध फुटेको बिहार सरकारको जल संशाधन विभागले उल्लेख गरेको छ । ‘कोशी नदीले बाँध फुटाएपछि मानव बस्तीहरु जलमग्न बनेका छन्, दर्जनौं गाउँहरु डुबानमा परेका छन्’, विभागले भनेको छ ‘बाढीले तबाही मच्चाएको छ ।’
बाढीले उत्तर बिहारमा हाहाकार मच्चाएको बिहारको अगुवा जागरण मिडियाले उल्लेख गरेको छ । जागरणका अनुसार कोशी, गण्डक र बागमती नदीको बाढीले उत्तरी विहारमा ठूलो समस्या सिर्जना गरेको छ । यी तीन वटै नदी नेपालबाट बगेर भारत पुग्छन् ।
त्यसैगरी सीतामढी जिल्लाको बेलसन्द, रुनिसैदपुर, बैरागनियामा वागमतीको बाढी पस्दा जनजीवन पूरै प्रभावित भएको छ । आँखाले भ्याएसम्मको क्षेत्रमा जताततै बाढी देखिन्छ । जागरणका अनुसार विहारका जनताले २० वर्षपछि यस्तो विपत्तिको सामना गर्नु परेको छ ।
बिहारका सञ्चारमाध्यमहरुका अनुसार सन् २००४ को भन्दा पनि अहिले त्यहाँ भयावह अवस्था सिर्जना भएको छ । बाढीले बेलसन्द र रुनीसैदपुरमा सबैभन्दा ठूलो क्षति गरेको छ । कम्तीमा दुई ठाउँमा बाँध भत्केपछि बाढी मानव बस्तीतिर सोझिएको हो ।
गएको शनिबार कोशी नदीमा जल सतह उच्च भएपछि नेपालको कोशी ब्यारेज पुलमाथिबाटै पानी बगेको थियो । पानीको बहाब ५ लाख ५७ हजार क्युसेक पुग्दा पानी पुल माथिबाट बगेको थियो । जलस्रोत विज्ञहरुले बालुवा र गेग्रान थुप्रिएर पानी पुलमाथिबाट बगेको बताएका थिए ।
आइतबार बिहान त पानीको बहाब ६ लाख ६१ हजार क्युसेक नै पुगेको थियो । त्यसबेला नेपालतिर जुनसुकै बेला विपत्ति आउने सम्भावना थियो । यद्यपि त्यही दिन रातिदेखि भारी वर्षा कम हुदै जाँदा आइतबार दिउँसोदेखि कोशीको बहाव घट्न थालेको थियो ।
मंगलबार कोशीमा पानीको बहाब डेढ लाख क्युसेक मात्रै थियो । तर, यस्तै अवस्थामा पनि बिहारमा भने कोशीले दुःख दिएको छ । गाउँहरूलाई डुबानबाट बचाउनका लागि युद्धस्तरमा काम गर्न सम्बन्धित निकायहरूलाई बिहारका मुख्यमन्त्री नीतिश कुमारले निर्देशन दिएका छन् ।
प्रभावित क्षेत्रमा तत्कालै सुरक्षा सहयोग पुर्याउन सरकारी अधिकारीहरूलाई निर्देशन गरिएको विभागले जनाएको छ ।
भत्किएको बाँध क्षेत्रमा मंगलबार नै करिव दुई लाख थान तटबन्ध प्रतिरोधक झोलाहरू र पाँच लाख ७ हजार नाइलन क्रेटहरू तयारी अवस्थामा राखिएको छ । त्यहाँ बाढी नियन्त्रणबाहिर पुगेका कारण अहिले प्रभावित क्षेत्र कोशीको बाढीले जलमग्न बनेका छन् । प्रभावितहरुको संख्या यकिन हुन नसकेको विभागको भनाइ छ ।
हिमालय पर्वत श्रृंखलावाट शुरु हुने अरुण, सुनकोशी, दूधकोशी, तमोर, तामाकोशी, इन्द्रावती र लिखुसहितका सातवटा नदीहरुको संगमलाई नेपालमा सप्तकोशी भनिन्छ । यो नेपालको सबैभन्दा ठूलो नदी हो ।
भीमनगर ब्यारेजबाट कोशी भारतीय भूमिमा प्रवेश गर्छ । यो नदी बिहारको कर्सेला घाटमा पुगेर गंगा नदीमा मिसिन्छ । हरेक वर्ष जनधनको ठूलो क्षति गर्ने हुनाले नै कोशीलाई ‘बिहारको दुःख’ भनिन्छ ।
२०६५ भदौ २ मा नेपालमा कोशी बाँध फुट्दा पनि बिहार नराम्ररी प्रभावित भएको थियो । त्यसबेला बिहारमा करीब ४०० मानिसले ज्यान गुमाए, लाखौं प्रभावित भएका थिए ।
बिहारलाई कोशीको बाढीबाट जोगाउनकै लागि भारत सरकारले सन् १९५० को दशकमा आफ्नो र नेपालको भूभागमा करीब १५० किलोमिटर (दुवै किनारामा गरी) २८६.५ किमि लामो र पाँच मिटर अग्लो तटबन्ध निर्माण गरेको थियो । सुनसरीको कुशाहालाई कोशीबाट छुट्याउने त्यो तटबन्ध ५० मिटर चौडा माटोको जगमा उभ्याइएको थियो ।
सन् १९५३ को भयानक बाढीपछि भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले कोशी नदीमा तटबन्ध निर्माण गर्ने कोशी परियोजनाको घोषणा गरेका थिए । सन् १९५४ मा परियोजनाको सम्पूर्ण लागत भारतले व्यहोर्ने गरी १९९ वर्षका लागि यो परियोजना भारतलाई दिने सम्झैता नेपालसँग भएको थियो ।
त्यसको पाँच वर्षपछि राजा महेन्द्र र नेहरूले कोशी ब्यारेजको शिलान्यास गरेका थिए । त्यसरी बिहारको सदाबहार दशा हटाउन नेपालको इतिहासमा पहिलोपटक ठूलो नदीमा तटबन्ध निर्माण भएको थियो ।
पत्रकारहरु पिटर गिल र भोला पासवानले २०७५ मा लेखेको आलेख अनुसार बिहारको दुई हजार वर्ग किलोमिटर जमीनलाई बाढीबाट जोगाउन तटबन्धको शुरू डिजाइन गरिए पनि सन् १९९० सम्म आइपुग्दा बिहारको तीन हजार वर्ग किलोमिटर जमीन जलमग्न भइसकेको थियो ।
यसबीचमा राम्रोसँग मर्मतसम्भार नहुँदा १९६३, १९६८, १९७१, १९८०, १९८४, १९८७ र १९९१ मा तटबन्ध भत्किएर ठूलो विनाश भएको थियो । सन् १९५४ को सम्झौता अनुसार भारतले मर्मतसम्भार नगर्दा २०६५ भदौमा तटबन्ध भत्किएको थियो ।
पुनर्निर्माणमा ६ महिना लाग्यो, त्यतिञ्जेल तटीय क्षेत्रका लाखौं भारतीय र नेपाली नागरिक टहरामा बस्न बाध्य भएका थिए । भारतीय सञ्चारमाध्यहरुका अनुसार यसपटक पनि विहारको दरभंगा क्षेत्रमा मंगलबार बिहानदेखि मानव बस्तीतिर छिरेको कोशीको बाढीले धेरैको ज्यान लिने र हजारौंलाई बेघरबार बनाउने जोखिम उच्च भएको छ ।
View : 150
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved