Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
कोशी

ग्रामथान उपनिर्वाचन : एक्लाएक्लै चुनाव लड्ने तयारीमा दलहरू

बाबुराम भण्डारी
८ कार्तिक २०८१, बिहिवार

विराटनगर । निर्वाचित पालिका अध्यक्षको निधनपछि मोरङको ग्रामथान गाउँपालिकामा हुन लागेको उपनिर्वाचनमा दलहरू एक्लाएक्लै चुनाव लड्ने तयारीमा जुटेका छन् । उपनिर्वाचनका लागि साना ठूला सवै दलहरू आ–आफ्नो उम्मेदवार छान्न र घोषणा गर्नका लागि केन्द्रित बनेका हुन् ।

गाउँपालिका अध्यक्षको निधनपछि निर्वाचन आयोगले आगामी मंसिर १६ मा अध्यक्ष पदको उपनिर्वाचनको कार्यक्रम घोषणा गरिसकेको छ । उक्त निर्वाचन कार्यतालिका अनुसार मंसिर २ मा दलहरूले आफ्नो उम्मेदवारको मनोनयन दर्ता गराउँदैछन् ।

नेकपा एमालेले पनि उम्मेदवार छनोटका लागि बैठक, छलफल र चुनावी कार्यक्रमलाई तिब्रता दिएको छ । उपनिर्वाचनलाई लक्षित गरेर पालिकास्तरमा दैनिकजसो कार्यक्रम गर्दै आएको जनाइएको छ ।

बुधबार जिल्ला र प्रदेशस्तरका नेताहरूलाई राखेर आयोजना गरिएको बैठकमा अध्यक्षका आकांक्षीहरूको पहिलो चरणमा ११ जनाको नाम प्रस्तुत गरिएको नेकपा एमाले ग्रामथान गाउँ कमिटीका अध्यक्ष सत्यनारायण माझीले जानकारी दिए । 

माझीकै अध्यक्षतामा बसेको बैठकमा एमाले मोरङ जिल्ला इञ्चार्ज एवं केन्द्रीय सदस्य जीवन घिमिरे, क्षेत्र नम्बर ४ इञ्चार्ज एवं केन्द्रीय सदस्य नैनकला ओझा, जिल्ला कमिटी अध्यक्ष बाबुराम कार्की, सल्लाहकार कमिटीका सदस्य विनोद ढकाललगायत नेताहरू समेत उपस्थित थिए ।

उक्त बैठकमा एमाले गाउँ कमिटीको तर्फबाट तुलसीराम विश्वास, कृष्णकुमार माझी, एकराज घिमिरे, आशनारायण माझी, तुलशी विश्वास, शिवनारायण माझी, नमनारायण चौधरी, युवराज खनाल, निर्मला अधिकारी, नविनकुमार मण्डल र ध्रुवकुमार श्रेष्ठको नाम आकांक्षीका रूपमा प्रस्तुत गरिएको जनाइएको छ ।

आकांक्षीका रूपमा प्रस्तुत गरिएका ११ जनामध्ये शिवनारायण भने २०७४ को स्थानीय तह निर्वाचनमा निर्वाचित अध्यक्ष हुन् । उनी २०७९ मा पनि अध्यक्षको उम्मेदवार बनेपनि कांग्रेसका जयप्रकाश गच्छदार थारूसँग पराजित भएका थिए । 

गाउँ कमिटी अध्यक्ष माझीले उपनिर्वाचनका लागि उपाध्यक्ष तुलसीराम विश्वासको संयोजकत्वमा निर्वाचन परिचालन आर्थिक समिति समेत गठन गरिएको बताए ।

उपनिर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवार छान्न सात सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलले एक दुई दिनभित्रै जिल्ला समितिमा प्रतिवेदन बुझाएपछि सोही आधारमा अध्यक्षको उम्मेदवार टुंगो लगाउने नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति विनोद बस्नेतले जानकारी दिए ।

‘हामी एक महिना अगावै निर्णय गर्छौं, उम्मेदवार छान्न पार्टी लागिपरेको छ’ बस्नेतले भने, ‘जिल्ला कार्यसमितिले जिल्ला समितिबाट तीनजना र महासमिति सदस्यबाट चारजना गरी जम्मा सात जनालाई  खटाएको छ, उहाँहरूबाट दुई दिनभित्रै सर्वे रिपोर्ट आएपछि नाम टुङ्ग्याइन्छ ।’

बलियो उम्मेदवार छान्नका लागि जिल्ला कार्यसमिति सदस्यहरू भीम रिजाल, चेतराज बस्नेत र गोविन्द कार्की खटिएको जनाइएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चार दिनभित्रै अध्यक्षका उम्मेदवारको नाम टुंगो लगाउने तयारी गरेको जनाइएको छ ।

राप्रपा जिल्ला अध्यक्ष गोपाल कटुवालले बढीमा चार दिनभित्र अध्यक्षको उम्मेदवार टुङ्ग्याउने बताए । उनले अहिलेसम्म तीन जनाको नाम मुख्य आकांक्षीका रूपमा रहेको बताउँदै जिल्लाले टुंगो लगाएपछि नाम सार्वजनिक गरिने बताए ।

ग्रामथानमा माओवादी केन्द्रले भने कांग्रेसबाट पार्टी फेर्दै माओवादीमा प्रवेश गरेका नमोनारायण माझीलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरिसकेको छ । गत निर्वाचनमा ग्रामथानमा सात जना उम्मेदवार अध्यक्ष पदका लागि प्रतिष्पर्धामा उत्रिएका थिए ।

उनीहरूमध्ये कांग्रेसबाट अध्यक्षमा निर्वाचित भएका जयप्रकाश गच्छदार थारू २०८० माघमा ब्रेन हेम्रेज भएर अस्पताल भर्ना भएका थिए । उनको गत असार ३ मा उपचारका क्रममा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

View : 144

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved