Biratnagar, Morang, Nepal
३ मंसिर २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमालेमा पुस्तान्तरणको समस्या स्वीकार, नेतृत्व विकासको व्यवस्थित प्रणाली बनाउन प्रस्ताव

पुरानो र नयाँ पुस्ताबीच विश्वास र सहकार्य कमजोर भएको निष्कर्ष, तर शीर्ष नेतृत्व हस्तान्तरणको समयसीमा र ठोस विधि प्रस्तावित छैन
उद्‌घोष संवाददाता
२ मंसिर २०८३, बुधवार

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा नेतृत्व विकास र पुस्तान्तरणको व्यवस्थित प्रणाली स्थापित हुन नसकेको स्वीकार गरेका छन् ।

पुरानो र नयाँ पुस्ताबीच विश्वास, समझदारी र सहकार्य कमजोर हुँदै गएको निष्कर्ष निकाल्दै उनले सम्भावना भएका कार्यकर्तालाई जिम्मेवारी दिएर नेतृत्वमा विकास गर्ने पद्धति बनाउन प्रस्ताव गरेका छन् ।

पार्टीको राष्ट्रिय भेलाका लागि तयार पारेको दस्तावेजमा पोखरेलले पार्टी जीवनको लोकतन्त्रीकरणका क्रममा बहुपदीय संरचनामा जाने निर्णय भए पनि त्यसअनुसार नेतृत्व विकास र हस्तान्तरणको सहज प्रणाली व्यवहारमा स्थापित हुन नसकेको उल्लेख गरेका छन् ।

दस्तावेजमा नेतृत्व विकास र पुस्तान्तरणलाई योजनाबद्ध बनाउनुपर्नेमा जोड दिइएको छ । त्यसका लागि सम्भावना भएका कार्यकर्ताको पहिचान, प्रशिक्षण, जिम्मेवारी प्रदान, कामको मूल्याङ्कन र पदोन्नतिको व्यवस्थित प्रणाली आवश्यक रहेको पोखरेलको प्रस्ताव छ ।

पुरानो पुस्ताको अनुभवसँग नयाँ पुस्ताको ऊर्जा, सीप र प्रविधिसम्बन्धी ज्ञान जोडेर नेतृत्व विकास गर्नुपर्ने उनको भनाइ छ ।

उनले पार्टीका सबै पदाधिकारीको काम र जिम्मेवारी स्पष्ट गर्नुपर्ने पनि औंल्याएका छन् । सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको प्रणाली स्थापित नहुँदा कतिपय जिम्मेवारी सीमित व्यक्तिमा केन्द्रित हुने र केही पदाधिकारी जिम्मेवारीविहीन रहने अवस्था देखिएको दस्तावेजमा उल्लेख छ ।

पोखरेलले पार्टीभित्र कार्यकर्ताको मूल्याङ्कन र अवसर वितरणमा समेत समस्या रहेको स्वीकार गरेका छन् । संगठनात्मक तथा वैचारिक काममा खटिनेभन्दा अवसरका लागि नेतृत्वको वरिपरि घुम्ने प्रवृत्तिले प्राथमिकता पाएको अनुभूति कार्यकर्तामा रहेको दस्तावेजमा उल्लेख छ ।

जिम्मेवारी, पदोन्नति, अवसर र उम्मेदवार छनोटमा उत्पन्न असन्तुष्टि समयमै सुन्ने र समाधान गर्ने प्रणाली कमजोर रहेको उनको निष्कर्ष छ ।

कार्यकर्ताको मूल्याङ्कन निष्ठा, जनसम्पर्क, वैचारिक क्षमता, संगठनात्मक सक्रियता, कार्यसम्पादन, अनुशासन र नैतिक आचरणका आधारमा गर्नुपर्ने प्रस्ताव गरिएको छ। अवसर वितरणमा पारदर्शी मापदण्ड लागू गर्नुपर्ने पनि दस्तावेजमा उल्लेख छ ।

पार्टीका कमिटीहरू ठूलो र औपचारिक बनेको, कतिपय निष्क्रिय रहेको तथा बैठकमा उपस्थिति जनाउनेबाहेक नियमित काम नगर्ने प्रवृत्ति रहेको पनि पोखरेलले औंल्याएका छन् ।

कमिटीका प्रत्येक सदस्यको जिम्मेवारी, कार्ययोजना, समयसीमा र कार्यसम्पादन मूल्याङ्कन स्पष्ट हुनुपर्ने उनको प्रस्ताव छ । निष्क्रिय कमिटीलाई सक्रिय बनाउने र आवश्यकताअनुसार पुनर्गठन गर्नुपर्ने पनि उनले बताएका छन् ।

युवालाई पार्टीका कार्यक्रम र अभियानमा सहभागी गराउने साधनका रूपमा मात्र सीमित नगरी नीति निर्माण, संगठन सञ्चालन र नेतृत्व विकासको साझेदार बनाउनुपर्ने दस्तावेजमा उल्लेख छ ।

युवाको रोजगारी, उद्यम, शिक्षा, वैदेशिक पलायन र डिजिटल अवसरजस्ता विषयलाई उनीहरूकै सरोकार र भाषामा सम्बोधन गर्न नसकिएको पनि स्वीकार गरिएको छ ।

पोखरेलले पार्टीको कमजोरीका रूपमा जनतासँगको नियमित सम्बन्ध कमजोर हुनु, तल्ला कमिटीको अधिकार क्षेत्रमा माथिल्लो तहबाट अनावश्यक हस्तक्षेप हुनु र जिम्मेवारीको स्पष्ट बाँडफाँट नहुनुलाई पनि औंल्याएका छन् ।

दस्तावेजमा नेतृत्व विकास र पुस्तान्तरणको आवश्यकता स्वीकार गरिए पनि पार्टीको शीर्ष नेतृत्व हस्तान्तरणका लागि उमेर सीमा, कार्यकाल, समयतालिका वा निश्चित प्रक्रिया प्रस्ताव गरिएको छैन ।

नेतृत्व विकासका लागि सामान्य प्रणाली बनाउनुपर्नेमा जोड दिइएको छ ।

View : 48

३ मंसिर २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved