डा. रोजी प्रधान श्रेष्ठ
विराटनगरं । नेपाली अनुसन्धानकर्ता डा. रोजी प्रधान श्रेष्ठले ५ करोड २५ लाख रुपैयाँ राशिको प्रतिष्ठित ब्रिटिश एकेडेमी अन्तर्राष्ट्रिय अनुसन्धान फेलोसिप २०२६ प्राप्त गरेकी छन् । उनी विराटनगरकी चेली हुन् ।
उनको सो अध्येतावृत्ति (फेलोसिप) अन्तर्गत दुई वर्षे अनुसन्धान परियोजना सञ्चालनका लागि सो रकम अनुदान स्वीकृत भएको छ ।
बेलायतको लफबरो विश्वविद्यालयमा सञ्चालन हुने अनुसन्धान परियोजनाका लागि २ लाख ५५ हजार ८८४.७३ बेलायती पाउन्ड स्टलिङ अनुदान स्वीकृत भएसँगै डा. प्रधान सा् प्रतिष्ठित अध्येतावृत्ति प्राप्त गर्ने पहिलो नेपाली अनुसन्धानकर्ता बनेकी छन् ।
विराटनगर–२ माइती भएकी प्रधानको परिवार पनि विराटनगर ५ मा केही वर्षअघिसम्म थियो । पछि उनको परिवारको बसोबास काठमाडांैमा सरेको छ ।
उनका श्रीमान् सशस्त्र प्रहरीका पूर्व नायव महानिरीक्षक (डीआईजी) डा.मन्दिप श्रेष्ठ हुन् । एक छोरा र एक छोरीकी आमा प्रधान केही वर्षयता नियमित अनुसन्धानमा सक्रिय छिन् ।
यो उपलब्धि आफ्नो मात्रै नभएर देशकै लागि भएको प्रधानले उद्घोषलाई बताइन् । उनले सन् २०२६ डिसेम्बरदेखि २०२८ नोभेम्बरसम्म प्रमुख अनुसन्धानकर्ता तथा ब्रिटिश एकेडेमी अन्तर्राष्ट्रिय अध्येताका रूपमा बेलायतमै रहेर परियोजनाको नेतृत्व गर्नेछिन् ।
उनको अनुसन्धान सफल भएपछि नेपालले पनि प्रधानबाट उर्जा र गरिवी न्यूनीकरणमा सहयोग लिन सक्छ ।
सीमान्तकृत वर्गमा ऊर्जा संकट ः बेलायतको शून्य कार्बन उत्सर्जन अभियानमा उमेर, लैङ्गिकता र आप्रवासनको बहुआयामिक दृष्टिकोण शीर्षकमा उनको अनुसन्धान रहेको छ ।
सो अनुसन्धानले बेलायतको शून्य कार्बन उत्सर्जनतर्फको ऊर्जा रूपान्तरणले सीमान्तकृत समुदायमा पार्ने प्रभावको अध्ययन गर्नेछ ।
अनुसन्धानका लागि बेलायत उड्ने तयारीमा रहेको उनी बताउंछिन् । विशेषगरी उमेर, लैङ्गिकता र आप्रवासनका कारण ऊर्जा पहुँच तथा उपयोगमा देखिने असमानता र त्यसले पार्ने सामाजिक प्रभावलाई अनुसन्धानले समेट्ने छ ।
‘जलवायु परिवर्तनको उच्च जोखिममा नेपाल रहेको छ, मेरो अनुसन्धानसँगै नेपालको जोखिमको अन्तर्राष्ट्रिय फोरममा वकालत गर्ने अवसर मिल्छ’ उनले भनिन् ।
मुख्यधारका ऊर्जा तथा जलवायु नीतिमा पर्याप्त प्रतिनिधित्व नपाएका समुदायको अनुभव र आवश्यकतालाई नीतिमा कसरी समेट्न सकिन्छ भन्ने विषयमा समेत अध्ययन केन्द्रित हुनेछ ।
अनुसन्धानबाट प्राप्त निष्कर्षले समावेशी र न्यायपूर्ण ऊर्जा रूपान्तरणसम्बन्धी नीतिगत बहसमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
परियोजनाका निष्कर्ष शैक्षिक प्रकाशन, नीतिगत बहस तथा अनुसन्धान प्रतिवेदनमार्फत सार्वजनिक गरिने जनाइएको छ ।
ब्रिटिश एकेडेमी बेलायतको मानविकी तथा सामाजिक विज्ञान क्षेत्रको राष्ट्रिय प्रतिष्ठित शैक्षिक संस्था हो ।
सन् १९०२ मा स्थापना भएको यस संस्थाले एक सय २० वर्षभन्दा लामो समयदेखि अनुसन्धान, प्राज्ञिक उत्कृष्टता र अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यमा काम गर्दै आएको छ ।
यसले रोयल सोसाइटीसंगको सहकार्यमा अन्तर्राष्ट्रिय अध्येतावृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
फेलोसिपसँगै डा. प्रधान श्रेष्ठले बेलायतको ‘ग्लोबल ट्यालेन्ट भिसा’ समेत प्राप्त गरेकी छन् । यो अन्तर्राष्ट्रियस्तरमा पहिचान बनाएका अनुसन्धानकर्ता तथा प्राज्ञिक व्यक्तित्वका लागि उपलब्ध विशेष आप्रवासन मार्ग हो ।
स्नातकोत्तरमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्वर्णपदक प्राप्त डा. प्रधानले सन् २०२३ मा थाइल्यान्डस्थित प्रिन्स अफ सोङ्खला विश्वविद्यालयबाट दिगो ऊर्जा व्यवस्थापन विषयमा विद्यावारिधि गरेकी हुन् ।
उनले यसअघि युरोपेली आयोगको अनुसन्धान तथा नवप्रवर्तन कार्यक्रम होराइजन युरोपअन्तर्गत सन् २०२५ मा ‘मेरी स्क्लोडोस्का क्युरी पोस्टडक्टोरल फेलोसिप सिल अफ एक्सिलेन्स’समेत प्राप्त गरेकी थिइन् ।
ऊर्जा गरिबी, लैङ्गिक समानता, समावेशी ऊर्जा रूपान्तरण र दिगो विकास उनका अनुसन्धानका प्रमुख क्षेत्र हुन् । उनका अनुसन्धानमूलक लेखहरू इनर्जी रिसर्च एन्ड सोसल साइन्स, इनर्जी पोलिसी तथा इन्टरनेसनल जर्नल अफ डिजास्टर रिस्क रिडक्सनलगायत अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् ।
उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), एसियाली विकास बैंक (एडीबी), एनर्जिया, एसएनभी नेपाल तथा फिन चर्च एडसँग सम्बन्धित अनुसन्धान तथा परामर्श कार्यमा समेत योगदान पुर्याएकी छन् ।
बेलायतमा आधारित अनुसन्धानबाट प्राप्त ज्ञान, विधि र निष्कर्षले नेपाललगायत विकासोन्मुख देशमा ऊर्जा गरिबी, सामाजिक समावेशिता र न्यायपूर्ण ऊर्जा रूपान्तरणसम्बन्धी अनुसन्धान तथा नीतिगत बहसलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
View : 574
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved