Biratnagar, Morang, Nepal
१ मंसिर २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
कोशी

पुस पहिलो साता कांग्रेस जिल्ला अधिवेशन, लगत्तै प्रदेश अधिवेशन गर्ने तयारी

उद्‌घोष संवाददाता
३० कार्तिक २०८३, सोमवार

Advertisement

विराटनगर । नेपाली कांग्रेसले आगामी पुस पहिलो साता जिल्ला अधिवेशन गर्ने भएको छ । जिल्ला अधिवेशन सम्पन्न भएको तीन–चार दिनपछि प्रदेश अधिवेशन गर्ने तयारी कांग्रेसले गरेको छ । 

छठ मनाउन सर्लाही पुगेका कांग्रेस सभापति गगन थापाले जिल्ला र प्रदेश अधिवेशनको तयारीबारे जानकारी दिँदै पुस पहिलो साताभित्र जिल्ला अधिवेशन र त्यसलगत्तै प्रदेश अधिवेशन गर्ने बताएका हुन् । 

यससँगै कांग्रेसको कोशी प्रदेश नेतृत्व चयनको प्रक्रिया पनि अघि बढ्ने भएको छ । जिल्ला अधिवेशनपछि हुने प्रदेश अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । 

कोशी प्रदेशका १४ जिल्लामा जिल्ला अधिवेशनको तयारीसँगै प्रदेश सभापतिका आकांक्षीहरू पनि सक्रिय हुन थालेका छन् । 

प्रदेश सभापतिका लागि वर्तमान सभापति उद्धव थापा, प्रदेश उपसभापति रमेशजंग रायमाझी, महामन्त्री उमेश थापा, सहमहामन्त्री खड्ग फागो, मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बू, प्रदेश सांसद मानबहादुर लिम्बू र धनकुटा सभापति दिनेश राईको नाम चर्चामा छ । 

वर्तमान सभापति उद्धव थापा पुनः नेतृत्वमा दोहोरिने वा नयाँ व्यक्तिलाई अवसर दिने भन्ने विषयमा स्पष्ट भइसकेका छैनन् । 

उनी निकट नेताहरूले भने थापा पुनः सभापति बन्न इच्छुक रहेको बताउँदै आएका छन् । 

प्रदेश उपसभापति रमेशजंग रायमाझी पनि सभापतिका आकांक्षी हुन् । राष्ट्रियसभा संसदीय दलका नेता भइसकेका रायमाझी प्रदेश संगठनमा लामो समयदेखि सक्रिय छन् । 

रायमाझीले सोमबार पत्रकार सम्मेलन गरी औपचारिक रुपमा  आफनो  उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

मोरङ कांग्रेस सभापति डिकबहादुर लिम्बूको नाम पनि सभापतिका सम्भावित उम्मेदवारका रूपमा चर्चामा छ । उनी यसअघि संघीय सरकारमा मन्त्रीसमेत भइसकेका नेता हुन् ।

प्रदेश महामन्त्री उमेश थापा र सहमहामन्त्री खड्ग फागोले पनि नेतृत्वका लागि तयारी गरिरहेको कांग्रेस वृत्तमा चर्चा छ । फागो यसअघि उर्लाबारी नगरपालिकाका प्रमुखसमेत भएका थिए ।

यी नेताहरूबीच सहमति जुट्ने वा निर्वाचनमार्फत नेतृत्व चयन हुने भन्ने विषय अहिले नै टुंगिएको छैन ।

जिल्ला अधिवेशनबाट निर्वाचित हुने नेतृत्व र प्रतिनिधिहरूको समर्थन प्रदेश सभापति चयनमा निर्णायक हुने भएकाले जिल्ला तहको निर्वाचनलाई पनि महत्वका साथ हेरिएको छ ।

कोशी प्रदेशमा १४ जिल्ला र प्रतिनिधिसभाका २८ निर्वाचन क्षेत्र छन् । प्रदेश अधिवेशनमा जिल्ला तथा निर्वाचन क्षेत्रबाट आउने प्रतिनिधिहरूले नयाँ नेतृत्व चयन गर्नेछन् ।

प्रदेश सभापतिका आकांक्षीहरूका लागि मोरङ, झापा, सुनसरी, इलामलगायतका जिल्लाको संगठनात्मक शक्ति महत्वपूर्ण हुनेछ ।

विशेषगरी ठूला जिल्लाबाट आउने प्रतिनिधिको समर्थनले नेतृत्व चयनको परिणाम प्रभावित पार्न सक्छ ।

जिल्ला अधिवेशनको परिणामले प्रदेश नेतृत्वका आकांक्षीहरूको शक्ति परीक्षणसमेत गर्नेछ ।

जिल्ला नेतृत्वमा आफ्नो पक्षका नेता निर्वाचित गराउन सके प्रदेश अधिवेशनमा प्रतिनिधिहरूको समर्थन जुटाउन सहज हुने नेताहरूको बुझाइ छ ।

View : 44

१ मंसिर २०८३, मङ्गलवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved