विराटनगर । स्वर संगम संगीतालय, विराटनगरको आयोजनामा वरिष्ठ साहित्यकार, कवि तथा गजलकार एवं विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेलको एकल गजल वाचन तथा गायन ‘बैठकी शृङ्खला २’ भव्य रूपमा सम्पन्न भएको छ ।
शनिबार संस्थाकै सभाकक्ष, पानीटंकी (विराटनगर–१, मोरङ) मा सो कार्यक्रम भएको हो ।
साहित्यिक तथा सांगीतिक सुगन्धले परिपूर्ण उक्त कार्यक्रममा स्रष्टा मधु पोखरेलले आफ्ना एक दर्जनभन्दा बढी उत्कृष्ट गजलहरू वाचन तथा गायनमार्फत श्रोताहरूलाई मन्त्रमुग्ध पारेका थिए ।
कार्यक्रमलाई थप सांगीतिक उचाइमा पु-याउँदै स्वर संगम संगीतालयका प्राचार्य तथा वरिष्ठ संगीतकार कुशेश्वर राईले शास्त्रीय संगीतको सुमधुर लयमा मधु पोखरेलका गजलहरू प्रस्तुत गरेका थिए ।
प्राज्ञिक तथा साहित्यिक माहोलमा आयोजित सो कार्यक्रममा स्रष्टा तथा गजलकारहरूको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रममा विवश पोखरेल, सुमन पोखरेल, उमेश लुइटेल, प्रयाग न्यौपाने, कविता चापागाईं, सीमा आभास, सरला चापागाईं, भीम कोइराला, गोपाल निर्भीक, नारायण दाहाल, लक्ष्मी युग्मी, एकराज भट्टराई, हरिप्रसाद बराल, पूजा आराधना, सुरबहादुर श्रेष्ठ, दिनेश श्रेष्ठलगायत ६० भन्दा बढी कवि, साहित्यकार तथा गजलप्रेमीहरूको सक्रिय सहभागिता र श्रवणशीलता थियो ।
साहित्यकार तथा कवि शुभलक्ष्मी लम्सालले निकै कलात्मक ढङ्गले सञ्चालन गरिएको बैठकी शृङ्खलाले विराटनगरको साहित्यिक तथा सांगीतिक क्षेत्रमा नयाँ ऊर्जा र रौनकता थपेको सहभागीहरूले बताएका छन् ।
View : 134
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved