विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय (पूवि) र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यूएनएफपीए–नेपाल) बीच शिक्षा, अनुसन्धान तथा मातृशिशु स्वास्थ्यका क्षेत्रमा रणनीतिक साझेदारी स्थापना गर्न समझदारीपत्रमा हस्ताक्षर गर्ने सहमति भएको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा सुजनबाबु मरहट्टाको अध्यक्षतामा उपकुलपतिको कार्यालयमा सम्पन्न दोस्रो चरणको छलफलपछि सो समझदारी कायम भएको हो ।
बैठकले समझदारीपत्रको आधार तयार गर्न छवटा प्राथमिकताका क्षेत्रहरू पहिचान गरेको छ ।
जसमा अन्तर्राष्ट्रिय मिडवाइफरी कन्फेडेरेसन (आईसीएम) को मापदण्डमा आधारित मिडवाइफरी पाठ्यक्रम विकास, जनसंख्या तथा विकास केन्द्र (सीपीएडी) को सुदृढीकरण, दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रम सञ्चालन र जनसांख्यीक सूचना तथा विश्लेषण केन्द्र स्थापना गर्ने विषय समावेश छन् ।
त्यसैगरी, प्राध्यापकहरूको क्षमता अभिवृद्धि, नर्सिङ तथा मिडवाइफरी सिमुलेसन प्रयोगशाला सुदृढीकरण, प्रस्तावित मातृ तथा शिशु अस्पताल विस्तार र स्नातक तहका विद्यार्थीलाई इन्टर्नसिपको अवसर उपलब्ध गराउने सहमति भएको छ ।
छलफलमा उपकुलपति प्राडा मरहट्टाले प्रस्तावित साझेदारीले विश्वविद्यालयको ज्ञान र अनुसन्धानलाई यूएनएफपीएको प्राविधिक विशेषज्ञतासँग जोड्दै समाजका लागि सार्थक उपलब्धि हासिल गर्ने बताए ।
यूएनएफपीएका यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सल्लाहकार डा श्रीजित ईएम र लैङ्गिकता महाशाखाका समीर घिमिरेले पहिचान गरिएका क्षेत्रमा दीर्घकालीन सहयोगका सम्भावना अन्वेषण गर्न तत्परता व्यक्त गरे ।
विश्वविद्यालयका विभिन्न सङ्कायका डिन तथा महाशाखा प्रमुखहरूको समेत उपस्थिति रहेको बैठकमा दुवै संस्थाले सहमतिका विषयलाई व्यावहारिक कार्यक्रममा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
View : 71
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved