Biratnagar, Morang, Nepal
१० मंसिर २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
विचार

३५ औं महिला हिंसाविरुद्धको अभियान

महिला अधिकार, न्याय, समानता र सम्मानको निरन्तर यात्रा

करूणादेवी जोशी
१० मंसिर २०८३, बिहिवार

महिलाहिंसा कुनै एक व्यक्ति, परिवार वा समुदायको मात्र समस्या होइन ।

यो समग्र विश्व समाजको गम्भीर सामाजिक चुनौती हो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि १६ दिने अभियान सञ्चालन गरिन्छ । यो १६ दिनलाई सन् १९९१ मा महिला विश्वव्यापी नेतृत्व केन्द्र (सेन्टर फर ओमन ग्लोबल लिडरसिप)को सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समूहले गरेको थियो ।

यो दिवस महिलावादी आन्दोलनको उपलब्धीलाई उत्सवको रूपमा स्मरण गर्ने, महिलाको बदलिँदो सवाललाई विश्लेषण गर्दै आन्दोलनको आगामी कार्यदिशामा बहस गर्न महत्वपूर्ण छ ।

यस दिवसले महिलाको सम्मान, समानता, स्वतन्त्रता, सुरक्षा र न्याय सुनिश्चित गर्ने हाम्रो साझा संकल्प हो । यसको सन्दर्भ डोमिनिकन गणतन्त्रका मिरावेल परिवारका तीन साहसी दिदी–बहिनीहरू पेट्रिया, मिनर्भा र मारियाको तत्कालीन त्रुजिलो तानाशाही सरकारले सन् १९६० मा नोभेम्बर २५ मा गरेको निर्मम हत्यासँग जोडिएको छ । 

यस घटनालाई लिंगको आधारमा हुने राजनीतिक हिंसाको प्रतिरूप मानिन्छ ।

यसरी तीन दिदीबहिनीहरूको हत्यालाई महिलाविरुद्धको हिंसाको रूपमा लिई महिलावादीहरूद्वारा उनीहरूको सम्झनामा विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउने परम्पराको सुरुवात गरिएको छ ।

पछि सन् १९९९ मा संयुक्त राष्ट्रसंघद्वारा यसलाई आत्मसात् गरी संसारभरिनै नोभेम्बर २५ दिनलाई) महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रूपमा स्थापित गरेको छ । नेपालले २०५४ सालदेखि सुरु गरेको पाइन्छ ।

लिखित इतिहासलाई हेर्दा नेपालमा महिलाविरुद्ध हुने हिंसाको सम्बन्धमा संगठित आवाज उठाउने प्रथम महिला योगमाया न्यौपाने हुन् । महिला अधिकार समानता र सामाजिक न्यायको पक्षमा र महिलामाथि हुने अन्याय, विभेद, शोषण, कु–संस्कार हिंसाविरुद्ध आवाज उठाउने साहसी महिलाहरूमध्ये योगमाया न्यौपाने ऐतिहासिक व्यक्तित्व हुनुहुन्छ ।

वि.सं. १९२४ सालमा भोजपुरमा जन्मिएकी योगमाया न्यौपानेले समाजमा विद्यमान जातिय विभेद, छुवाछूत, महिला उत्पीडन अन्याय र सामाजिक कुरितिविरुद्ध आवाज उठाउनु भयो ।

उहाँले समानता, न्याय, धर्म र मानव मर्यादाको पक्षमा संघर्ष गर्नुभयो ।

उहाँको विद्रोही चेतना, सामाजिक परिवर्तनको अभियान नेपाली महिला आन्दोलनको इतिहासमा मिरावेल दिदी बहिनीको जस्तै छ, कम छैन त्यसैले योगमाया हामी नेपालीको लागि महत्त्वपूर्ण प्रेरणाको स्रोत बनेको छ ।


महिला अधिकारको लागि निरन्तर संघर्ष प्रत्येक वर्ष झैं यस वर्ष पनि सबै स्थानीय पालिका, प्रदेश तथा संघमा समुदाय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म महिलाहिंसा अन्त्यका लागि भइरहेको प्रयासप्रति ऐक्यबद्धता जनाउँदै मोरङले सामाजिक विकास मन्त्रालयको सहयोगमा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता पीडितको संरक्षण, दण्डहिनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ यो कार्यक्रमको आयोजना गरिएको छ । 


समय परिवर्तन सँगैसँगै महिलाहरू शिक्षा, स्वास्थ्य, रोजगारी सम्पत्ति, राजनीतिक सहभागिता, निर्णय पक्रियामा आफ्नो अधिकारको लागि निरन्तर रुपमा अगाडि बढ्दै आएका छन् तर आज पनि घरेलु हिंसा, लैङ्गिक विभेद, बाल विवाह, दाइजो प्रथा, यौन दुव्र्यवहार, मानव वेचविखन र अनलाइन हिंसा  जस्ता समस्या विद्यमान छ ।


यसरी हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म १६ दिने अभियान सञ्चालन गरिन्छ ।

यो अभियानको उद्देश्य महिला माथि हुने हिंसा अन्त्य गर्ने जनचेतना फैल्याउने, पीडितलाई न्याय दिलाउने, महिला तथा बालिकाको मानव अधिकार सुनिश्चित गर्ने हो । डिसेम्बर १० मानव अधिकार दिवस हो । यसले पनि महिला अधिकार पनि मानव अधिकारकै अभिन्न अंग हो भन्ने सन्देश दिन्छ ।


महिलाविरुद्धको हिंसाको अन्त्य गर्ने जिम्मावारी महिलाको मात्र होइन ।

सम्पूर्ण परिवार, समाज, राज्य र हरेक नागरिकको हो ।

हामीले घरबाटै समानताको सम्मानको संस्कार सुरु गर्नुपर्छ । छोरी र छोरालाई समान अवसर दिनुपर्छ ।

हिंसा देख्न चुप लागेर बस्नु हुँदैन, पीडितलाई साथ र न्यायका लागि सहयोग गर्नुपर्छ ।

हाम्रो प्रतिवद्धतामा योगमायाले उठाउनु भएको न्याय र समानताको आवाजलाई आजको पुस्ताले अगाडि बढ्न आवश्यक छ । १६ दिने अभियान केवल १६ दिने कार्यक्रममा मात्र सीमित हुनुहुँदैन ।

महिला हिंसाविरुद्धको आवाज वर्षभरी, जीवनभरी निरन्तर अघि बढिरहनुपर्छ ।

आउनोस् योगमायाको साहस र चेतना बाट प्रेरणा लिदै महिला हिंसा मुक्त न्यायपूर्ण, समानतामूलक समाजको निर्माणमा हातेमालो गरौँ ।


महिलालाई दया होइन हिंसा होइन, सम्मान चाहिएको छ, विभेद होइन समानता चाहिएको छ, मौनता होइन न्याय चाहिएको छ ।

महिला अधिकार मानव अधिकार हो ।

महिला सम्मानित भए मात्र समाज सुखी हुन्छ, सुरक्षित हुन्छ ।

यो सचेतना जगाउने अभियानमा सबै प्रकारको हिंसाको अन्त्य होस् भन्दै विश्वका सम्पूर्ण आदरणीय महिलाहरूलाई मेरो हार्दिक शुभकामना छ । 

यस वर्षको महिला हिंसाविरुद्धको अभियानको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसाको अन्त्यको लागि ऐक्यबद्धता, पीडितको संरक्षण, दण्डहिनताको अन्त्य र न्यायको सुनिश्चिता’ रहेको छ ।

यसैगरी अन्तर्राष्ट्रिय नारा ‘महिला तथा बालिकामाथि हुने हिंसाको अन्त्यका लागि ऐक्यबद्धता, न्यायको सुनिश्चितता, पीडितहरूको संरक्षण र दण्डहीनताको अन्त्य’ रहेको छ । 
 

View : 84

१० मंसिर २०८३, बिहिवार

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved