Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
समाज

उदयपुरको छोरुङछविसेका आमाछोराको हत्यारा सार्वजनिक

जसले हत्या गरे उही व्यक्ति हत्याराको खोजीदेखि मलामीमा पनि सँगै !

बाबुराम भण्डारी
४ असोज २०८१, शुक्रवार

हत्या आरोपी मगरलाई शुक्रबार सार्वजनिक गर्दै उदयपुर प्रहरी । तस्वीर : उद्घोष

Advertisement

विराटनगर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेस्थित वडा कार्यालय नजिकै चटपटे र चिया नास्ता पसल संचालन गर्दै आएकी ३८ वर्षीया निर्मला थापा र उनको ६ वर्षीय छोरा आरुषको हत्यामा संलग्न रहेको आरोपमा उदयपुर प्रहरीले सोही ठाउँका ३२ वर्षीय तारा बहादुर मगरलाई पक्राउ गरेको छ ।

भदौ २० गते निर्मलाको पसलमा सामान किन्न जाने व्यक्तिहरुले पसलभित्रै आमा छोराको शव भेटेपछि उदयपुर प्रहरीले हत्याको गहिरो अनुसन्धान १५ लगाएर पुरा गरेको गरेको जनाएको छ ।

आमा छोराको प्रहरीले हत्या आरोपी मगर मृतक निर्मला र आरुषको हत्यारा खोजीका लागि गरिएका विभिन्न प्रकारका छलफल र कुराकानीमा संलग्न रहनुका साथै मृतकहरूको पोष्टमार्टमका लागि अस्पताल लैजाने र मलामी जानेसम्मको कार्यमा संलग्न रहेको खुलेको छ ।

हत्याको घटनाको स्थलगत अनुसन्धानमा समेत संलग्न रहेका जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन चापागाँईले छिमेकीको भूमिकामा रहेका मगरलाई हत्या आरोपमा पक्राउ गरिएको जानकारी दिए । मगरले हत्यापछि गाउँबाट कोही व्यक्ति पनि नभागेको र आरोपी व्यक्ति मलामी पनि गएर फर्किएकोले तत्कालै कसैलाई पनि आशंका गर्न नसकिएका कारण हत्यारा पत्ता लगाउन गहिरो अनुसन्धान गर्नुपरेको बताए ।

‘घटनापछि उनी (तारा बहादुर) छिमेकीको भूमिकामा देखिए, तत्कालै कुनैपनि ‘क्लु’ थिएन, उ कतै पनि भागेको पनि देखिएन’ प्रनाउ चापागाँईले भने, ‘पछि केही प्रमाणहरू भेटियो, आरोपी नै मृतकहरूको पोष्टमार्टमदेखि दाहसंस्कारका सबै प्रक्रियामा सँगै देखियो ।’

उनले कोहीपनि फरार नभएको र लगातारको वर्षाका कारण घटनाको अनुसन्धानमा समय लागेको बताए । प्रहरीले निर्मला र आरोपी मगरबीच अनैतिक सम्बन्ध रहेका कारण सार्वजनिक हुने भयले हत्या गरेको हुनसक्ने अनुमान गरेको छ ।

कटारी नगरपालिकाकी कार्यपालिका सदस्य एवं सोही वडाकी बासिन्दा गीता कुमारी गिरीले हत्या आरोपी मगर उक्त गाउँमा विगतदेखि नै कुनैपनि विवाद वा झैझगडामा संलग्न नभएको र हत्याराको खोजीमा संलग्न सहयोग गरिरहेका कारण आशंका गर्नै नसकिएको बताइन् । पक्राउ परेपछि आफूहरू समेत अचम्भित बनेको उनले बताइन् ।

‘उनले त दोषी पत्ता लगाउनै पर्छ भनेर गाउँमा कुराकानी हुँदा लगाउनै पर्छ भन्दै भन्ने गरेका थिए, अपराधी को हो भनेर छानबिन गरौँ भन्दा पनि छानबिन गरौँ भन्ने गर्दथे’ वडा सदस्य गिरीले भनिन् ‘ मलामी पनि सँगै गएको हो, मलामीबाट सँगै आएको हो, अलिकति पनि नडराइकन बोल्ने गरेका कारण हामीले उनलाई शंका गर्नै सकेनौं ।’

गिरीका अनुसार मगर विवाहित हुन् । उनका दुई छोरा छोरी र श्रीमति सोही गाउँमा रहेका छन् ।

निर्मलाको हत्या गरेपछि उनले बोक्दै आएको मोबाइल सेट सोरुङ खोलामा लगेर फालेको जनाइएको छ । प्रहरीले उनकै भनाई अनुसार खोलामा मोबाइल खोजतलास गर्दा फुटेको अवस्थामा फेला पारेको उल्लेख गरेको छ । हत्यामा प्रयोग भएको धारिलो हतियार खुकुरी समेत बरामद गरेको प्रनाउ चापागाँईले बताए ।

निर्मलाले वडा नम्बर १० को वडा कार्यालय नजिकै अर्जुन थापाको जग्गा भाडामा लिएर सानो घर बनाएर किराना तथा खाजा पसल सञ्चालन गर्दै आएकी थिइन् । सोही घरको पूर्वतर्फ जोडेर बनाइएको पालीमा रहेको कोठामा सुत्ने बस्ने गरेका निर्मला र उनका छोरा आरुषमाथि धारिलो हतियारले प्रहार गरेर मगरले हत्या गरेको जनाइएको छ ।

‘अभियुक्त तारा बहादुर मगरले धारिलो हतियार प्रयोग गरी निर्मला र आरुषको घाँटी तथा शरीरको अन्य भाग समेतमा प्रहार गरी विभत्स तरिकाले हत्या गरेको खुलेको छ’ प्रहरीले शुक्रबार आरोपीलाई सार्वजनिक गर्दै भनेको छ ‘प्रतिवादीको नाममा किटानी जाहेरी दरखास्त समेत परेको छ, प्रहरीले उदयपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान सम्बन्धी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको छ ।’

View : 156

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved