Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

एमाले महासचिव पोखरेलले सुनाए संकल्प यात्रा अनुभव : 'विरोधले विरोधीकै माग खण्डित गरिदियो'

बाबुराम भण्डारी
४ पुष २०८०, बुधवार

Advertisement

विराटनगर । बैतडीको झुलाघाटदेखि पार्टी नेता तथा कार्यकर्ताहरूको नेतृत्व गर्दै पाँचथरको चिवाभञ्ज्याँङसम्मको पुष्पलाल मध्यपहाडी लोकमार्गको संकल्प यात्रा पूरा गरेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा भने एमालेविरूद्ध विरोधका स्वरहरू सुनिएको बताएका छन् । तर एमालेलाई स्वागत गर्नुपर्ने ठाउँमा विरोध भएकोले त्यो विरोधले विरोधीहरूको मागलाई नै खण्डित गरिदिएको टिप्पणी गरे । 

एमाले सुरूदेखि नै साझा पहिचानको पक्षमा रहेको कुरा जगजाहेर रहेको महासचिव पोखरेलको भनाइ थियो । साझा पहिचानकै कुरोमा अडिग रहँदा अशोक राईहरूले पार्टी फुटाएर गएको कुराले त्यसको पुष्टि गरिसकेको उनले बताए । एमाले एकल जातीय पहिचानको पक्षमा नरहेको स्पष्ट हुँदाहुँदै एमालेकै विरोध हुनुलाई पोखरेलले विरोधीहरू नै राजनीतिक हानीनोक्सानी भएको निश्कर्षमा देखिन्थे ।

मंगलबार एमाले मोरङको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले साझा पहिचानको विपक्षमा उभिएकाहरूले समेत कोशीको पक्षमा भोट हालेका कारण प्रदेशको नामकरण सम्भव भएको दाबी गरे । उनले भोट हालिसकेर विरोधमा उत्रिने दलहरूलाई ‘बितण्डा’ मात्रै मच्याउन खोजेको टिप्पणी गरे ।

‘साझा पहिचानको विपक्षमा उभिएकाहरूले भोट नहालेको भए हुन्थ्यो नि, किन हालेको ? अहिले वितण्डा किन गरेको ?’ पोखरेलले भनेका छन्, ‘एमाले भर्सेस नामकरणको विवाद र बहस छ, म के ठान्छु भने सबैभन्दा इमान्दार कोशीमा एमाले मात्रै हो, एमालेले त साझा पहिचानका पक्षमा उभिएर अडान लिंदा पार्टी विभाजनको पीडा भोगेको हो, अशोक राईहरूले पार्टी छाडेको हो, पहिचानको कुरा गर्नेहरूले एमाले जत्तिको इमान्दार भएर देखाउनुस्, बरू तिनीहरू बेइमान भएका हुन्, जसले भोट माग्दा जातीय नामकरणको कुरा गरे, भोट चाहिं साझा पहिचानको पक्षमा हाले ।’

पहिचानको मुद्दाका कारण संकल्प यात्राको टोली कोशी प्रदेश प्रवेशगर्दा अलिकति विरोधको स्वर सुनिएको बताए । उनले कसैप्रति लक्षित नभएको यात्रालाई विरोध गरेर विरोधीहरूले आफ्ना माग कमजोर बनाएको दाबी गरे ।

‘यात्रा कसैका विरूद्ध लक्षित थिएन, नेपालको भविष्यमा कसरी बनाउने भन्ने उद्देश्य आधारित थियो, त्यसैले यो यात्रालाई सबैले स्वागत गर्नुपर्थ्यो, तर कोशीमा आउँदा पहिचानका नाममा विरोधको प्रयास भयो, त्यहाँ भाषाहरू कस्ता रहे भन्ने सबैलाई थाहै छ’ पोखरेलले भने, ‘विज्ञप्तिमा बढी कुराहरू आए तर जनताका बीचमा केही प्रभाव भएन, असहमतिहरूको महसुस गर्ने मौका टोलीले पाएन ।’

पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा भएको घटना चर्चा गरेजस्तो नभएको दाबी गरे । उनले यात्रा टोलीका सदस्यले समेत जानकारी नपाएको घटनालाई अतिरञ्जिनापूर्ण रूपमा संचार माध्यमहरूले प्रचार गरेको आरोप लगाए । 

‘एकप्रकारको अवाञ्छित प्रयास त हो तर चर्चा भए जस्तो घटना थिएन, अतिरन्जना धेरै भयो’ उनले भने, ‘यात्राको जे सन्देश छ, त्यसलाई ओझेल पार्ने हिसाबले घटना प्रेषित भयो, सञ्चारमाध्यमले पनि के विषयलाई प्राथमिकता दिएको भन्ने देखिएन ।’

पोखरेलले एमालेकै नेतृत्वमा सीके राउतदेखि विप्लवसम्मलाई राजनीतिक रूपमा मुलधार ल्याएको दाबी गरे । अहिले कोशी नामाकरणको सन्दर्भमा आन्दोलनमा रहेका समुहहरूलाई पनि एमालेले नै समाधान दिने बताए ।

‘हिजो सीके राउतदेखि विप्लवसम्मलाई मूलधारमा ल्याएका हौं, अहिले नामकरणको सवालमा जो आन्दोलनमा छन्, उनीहरूलाई पनि समाधान दिने पार्टी फेरि पनि एमाले नै हो’ उनले भने, ‘त्यसैले एमालेसँग दूरी राख्न जरूरी छैन ।’

याक्राका त्रममा भेटिएका हरेकले आफ्ना समस्याहरू प्रकट गरेको जानकारी दिए । मध्यपहाडी लोकमार्गको ‘एलाइनमेन्ट’ र मुआब्जाका बिषयमा समाधान नभएका केही बिषय पनि याक्राका त्रममा गुनासाका रूपमा व्यक्त भएको सुनाए । महासचिव पोखरेलले एमालेलाई भरोसा गरेर गाउँलेहरूले योजनाका साथ यात्रामा सहभागी भएको र आफ्ना समस्या प्रस्तुत गरेको दावी गरे ।

उनले फूलको सिजनका कारण एमालेलाई एउटा पहाड बराबरको फूलमालाले स्वागत गरिएको र त्यसले पार्टीलाई जनतासँग जोड्ने काम गरेको बताए । साथै पार्टी अध्यक्ष ओलीलाई ठाउँठाउँमा उपहारका रूपमा प्राप्त भएका बस्तुहरू एक ठाउँमा राख्दा संग्रहालय नै तयार हुने दावी गरे ।

पोखरेलले मध्य पहाडमा पूर्वाधारको विकास हुँदै गए पनि मानिसहरू तराई वा शहरमा बसाईं सर्दै जाने क्रम नरोकिएको बिषय पार्टीले जानकारी प्राप्त गरेको बताए । 

उनले मध्य पहाडको विकासको बिषयमा अध्ययन अनुसन्धान काम गरिएकोले यसअघि एमालेले अघि सारेका पहाड नयाँ शहरहरूको विकासका लागि पहल गर्ने बताए ।
‘मध्य पहाडी सडकका शहरहरूको विकासको कुरा एमालेले नै अघि सारेको हो, अहिले त्यो अघि बढ्न सकेको छैन’ उनले भने, ‘सरकारले नबुझेर हो वा पूर्वाग्रह राखेर, काम नगरेको हुनसक्छ ।’

अब हुलाकी राजमार्गतिर

झुलाघाट–चिवाभञ्ज्याँङ मध्यपहाडी यात्रा रूटका २६ जिल्लाबाहेक एमालेले थप चार जिल्लासहित ३० जिल्लाको भ्रमण गर्यो । 

एमालेलाई आफ्नो आधार क्षेत्र केन्द्रित यात्रा गरेको पनि आरोप लाग्यो । तर महासचिव पोखरेलले यात्राको रूटमा परेका ३० जिल्लामा लगभग ९ वटा निर्वाचन क्षेत्रमा एमालेले जितेकोले त्यसको आरोप पुष्टि नहुने प्रष्टीकरण दिए । उनले पार्टीलाई मध्यपहाडको विकास र त्यहाँका जनतासँग जोड्ने अभियानकै लागि संकल्प यात्रा गरिएको बताए । 

महासचिव पोखरेलले मध्यपहाडी यात्रा सफल भएकोले अबको यात्रा हुलाकी राजमार्ग केन्द्रित हुने घोषणा गरे । पोखरेलले भने, ‘अबको यात्रा हुलाकी राजमार्ग केन्द्रित हुनेछ, मुलुकको जिम्मेवारी लिन एमाले तयार छ, एमाले विरूद्ध आन्दोलनहरू होलान् तर त्यसले मुलुकको समृद्धि हुन सक्दैन ।’

View : 94

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved