कोशी सरकारको न्यूनतम् साझा कार्यक्रम
विराटनगर । कोशी प्रदेशको गठबन्धन सरकारले प्रदेशको स्थायी भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राख्ने घोषणासहित आफ्नो न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेका छन् । एमाले–कांग्रेसको ६ सदस्यीय संयुत्त कार्यदलले आफ्नो तर्फबाट तयार पारेको न्यूनतम साझा कार्यक्रम सरकारलाई हस्तान्तरण गरेको हो ।
न्यूनतम साझा कार्यक्रम तयार पार्न एमालेबाट आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगर, प्रमुख सचेतक रेवतिरमण भण्डारी र सांसद तिलचन पाठक तथा कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङ रहेको कार्यदल बनेको थियो ।
असोज ६ मा बनेको कार्यदलले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई १५ बुँदे नीति निर्देशसहितको न्यूनतम साझा कार्यक्रमको मस्यौदा संयुत्त रुपमा हस्तान्तरण गरेको हो ।
उक्त साझा कार्यक्रममा कोशी प्रदेशको स्थायी भौतिक संरचना निर्माणलाई प्राथमिकतामा राखी प्रदेश सरकारका सबै मन्त्रालय, निकाय र विभाग एवम् प्रदेश सभा समेतका कामकारवाहीलाई एउटै क्षेत्रबाट सुचारू गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाउने उल्लेख छ ।
कोशी प्रदेश सरकार गठनको सात वर्ष पूरा हुनै लाग्दा पनि अहिलेसम्म आफ्नो स्थायी संरचना निर्माण गर्न सकेको छैन । जसका कारण सत्ता गठबन्धनका दुई प्रमुख दलहरूले स्थायी संरचना निर्माणको विषयलाई वर्तमान सरकारको प्राथमिकताभित्र राखेका हुन् ।
त्यसैगरी प्रादेशिक संरचनालाई जनतासँगको सोझो सम्पर्क सम्बन्धको माध्यमको रूपमा विकास गरी यसको प्रभावकारितामा वृद्धि गर्न कानूनी एवम् संरचनागत क्षेत्रमा आवश्यक कार्यलाई सुदृढ गरिने दुई दल प्रतिवद्ध बनेका छन् ।
उनीहरूले जनउत्तरदायी, पारदर्शी, मितव्ययी, सुशासनमैत्री, भ्रष्टाचारमुक्त प्रदेश सरकार सञ्चालनका लागि निर्माण भएका ऐन कानूनमा समयानुकूल आवश्यक संशोधन गर्ने प्रकृयालाई थप व्यवस्थित ढंगले अघि बढाइने साझा कार्यक्रममा उल्लेख गरेका छन् ।
साथै प्रदेशले यसअघि नै घोषणा गरेको ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माणको उद्देश्यलाई सार्थक बनाई थप कानूनी तथा संरचनागत प्रणालीको विकास गरिने लगायतका नीतिगत व्यवस्था उल्लेख गरेका छन् ।
मुख्यमन्त्री कार्कीले कार्यदलले बुझाएको न्यूनतम साझा कार्यक्रम ग्रहण गर्दै चाँडै कार्यन्वयनमा लगिने बताए । उनले दुई राजनीतिक दलबीच भएको सत्ता समीकरणले मुलुकको राजनीति अस्थिरता, अन्योलता हटाउने धारणा राखे ।
उनले चुनावी घोषणापत्र, दुई पार्टीका घोषित कार्यक्रम र प्रदेश सरकारलाई थप प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रतिवद्धता समेत जनाए ।
कांग्रेस ससंदीय दलका नेता उद्वव थापाले प्रदेश सरकार पारदर्शीता, सुशासन, रोजगारी र जनताका आकांक्षा पूरा गर्न साझा कार्यक्रमले सहयोग पुर्याउने बताए ।
View : 94
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved