संखुवासभा । पूर्वी पहाडको संखुवासभाका एक जनाको आपराधिक गतिविधिले प्रहरी प्रशासन हैरान छन् । किशोर बुढाथोकीलाई धारिलो हतियार प्रहार गरेर ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल बसेका विकास राई छुटेपछि ११ वटा मुद्दा भोग्दैछन् ।
सदरमुकाम खाँंदबारीमा डेरामा बसेका बुढाथोकीलाई २०६८ मंसिर १८ मा ढोका खोल्न लगाएर राईले धारिलो हतियार प्रहार गरेका थिए । उनी पक्राउ परे । ज्यान मार्ने उद्योगमा उनलाई जिल्ला अदालतले ५ वर्ष कैद सजाय सुनायो । सजाय भुक्तान गरेर निस्किएका उनी सुध्रिएनन् । पहाडी जिल्लामा उनका गतिविधि अपराधलाई नै पेसा बनाएको जस्तो देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार राईले ज्यान मार्ने उद्देश्यको व्यवहार गरेको जनाउँंदै पछिल्लो पटक मंसिर १३ मा जसबहादुर राईले निवेदन दिएका छन् । बलबहादुर राईको घरमा धार्मिक कार्य भइरहेका बेला राति पसेका उनले वयोवृद्ध घरमुलीलाई कुटपिट गरेको आरोप छ । त्यसको भोलिपल्टै १४ गते डेढ किलो गाँजा फालेर भागेका राईलाई प्रहरीले पक्राउ गरेको छ ।
संखुवासभाका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार चिचिला गाउँपालिका–३ ढोलबाजे टोलमा गाँजा बिक्री भएको सूचना पाएर प्रहरी पुगेको थियो। प्रहरी पुगेपछि गाँजा बोकेको झोला फालेर विकास राई भागेका थिए । उनलाई पक्राउ गरी कारवाही गरिएको डीएसपी श्रेष्ठले बताए । त्यसअघि राईले २०७५ जेठ २६ मा खाँदबारी नगरपालिका–७ का चन्द्रबहादुर लिम्बुलाई कुटपिट गर्दा जिल्ला अदालतले २ हजार ७ सय २० रुपैयाँ जरिवाना र २ हजार २ सय ८० रुपैंयाँ क्षतिपूर्ति तिराएको थियो ।
त्यसपछि मंसिर १० मा झण्डै एक किलो गाँजासहित पक्राउ परेका राईलाई जिल्ला अदालतले एक वर्ष कैद र ५ हजार रुपैंयाँ जरिवाना तोकेको थियो । त्यस बेला उनलाई अर्कै मुद्दामा पक्राउ गर्दा शरीरबाट ८ सय ३५ ग्राम गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
त्यसअघि २०७५ साउन १७ मा लालबहादुर राईलाई कोदालोको बींडले हिर्काएपछि उनलाई ज्यान मार्ने उद्योगमा २०७५ चैत ७ मा अदालतले चार वर्ष कैद र ४० हजार रुपैंयाँ जरिवाना र पीडितलाई एक लाख २० हजार रुपैंयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।
२०७४ चैत १२ मा सुमन मगरलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका राईलाई जिल्ला प्रशासन कार्यालयले २०७५ जेठ २४ मा दुई हजार रुपैयाँ जरिवाना तोकेको फैसला गरेको थियो ।
त्यसअघि छिमेकी अप्सरा राईलाई गालीगलौच गरेको आरोपमा विकास राईलाई प्रहरीले मुद्दा चलाएको थियो । २०६७ पुस ३ मा पदमबहादुर तामाङ र मकानसिं राईलाई कुटपिट गरेका उनलाई जिल्ला प्रशासन कार्यालयले २०६८ जेठ २४ मा ३१ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो ।
२०६५ चैत २५ मा बिरामी बोकेको एम्बुलेन्स रोकेर चालकको टाउकोमा बियरको बोतल प्रहार गरेको आरोपमा राईलाई ५ सय रुपैंयाँ सजाय तोकेको थियो ।
View : 142
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved