सन्दर्भ पाँचाै अन्तर्राष्ट्रिय प्रोस्थेटिक्स तथा अर्थोटिक्स दिवस
हरेक वर्ष नोभेम्बर ५ मा मनाइने अन्तर्राष्ट्रिय प्रोस्थेटिक्स तथा अर्थोटिक्स (पीएण्डओ) दिवसले अपाङ्गता भएका व्यक्तिहरूको स्वावलम्बन, आत्मविश्वास र जीवनगुणस्तर सुधारमा महत्वपूर्ण योगदान पु-याउने प्रोस्थेटिस्ट तथा अर्थोटिस्टहरूको योगदानलाई सम्मान गर्दछ ।
यो दिवस केवल एक पेशाको सम्मान गर्ने अवसर मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरूले गुणस्तरीय सहायक प्रविधि र पुनर्स्थापना सेवामार्फत सम्मानजनक, उत्पादक र स्वतन्त्र जीवनयापन गर्न पाउने अधिकारको स्मरण गराउने दिन पनि हो ।
यस वर्षको दिवसको मुख्य विषय ‘मानिसहरू प्रोस्थेटिक्स तथा अर्थोटिक्स क्षेत्रमा परिवर्तन, नवप्रवर्तन र सकारात्मक प्रभाव ल्याउन योगदान पु-याउने सेवाग्राही, हेरचाहकर्ता, चिकित्सक, प्राविधिक, शिक्षक तथा पेशागत जनशक्तिको सम्मान र पहिचान रहेको छ ।
प्रोस्थेटिक्स तथा अर्थोटिक्स भनेको के हो ?
प्रोस्थेटिक्स भन्नाले कृत्रिम हात तथा खुट्टाहरु भन्ने बुझिन्छ भने अर्थोटिक्स भन्नाले शरीरको बाह्य भागमा प्रयोग गरिने विभिन्न प्रकारको सहायक उपकरण भन्ने बुझिन्छ ।
यी उपकरणहरूको मूल्य केवल शारीरिक सहयोगमा सीमित छैन ।
यसले व्यक्तिको गतिशीलता, रोजगारीमा पहुँच, सामाजिक सहभागिता, शिक्षा तथा मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ ।
प्रोस्थेटिस्ट तथा अर्थोटिस्टको भूमिका
प्रोस्थेटिस्ट तथा अर्थोटिस्टहरू कृत्रिम अङ्ग र सहायक उपकरणसम्बन्धी विशेष शिक्षा, तालिम र प्राविधिक दक्षता हासिल गरेका स्वास्थ्य तथा पुनर्स्थापना पेशाकर्मी हुन् ।
उनीहरूले सेवा ग्राहीको आवश्यकता मूल्याङ्कन गर्ने, उपयुक्त उपकरण डिजाइन र निर्माण गर्ने, फिटिङ तथा मर्मत सेवा प्रदान गर्ने र दीर्घकालीन फलोअपमार्फत कार्यक्षमता सुधार गर्ने कार्य गर्छन् ।
उनीहरूको कार्यको अन्तिम उद्देश्य अपाङ्गता भएका व्यक्तिहरूको गतिशीलता, कार्यक्षमता, सहभागिता र जीवनगुणस्तर अभिवृद्धि गर्नु हो ।
कोशी प्रदेशमा सेवाको वर्तमान अवस्था
कोशी प्रदेशमा विभिन्न प्रकारका सहायक सामग्री वितरण भइरहेका भए पनि कृत्रिम अङ्ग तथा अर्थोटिक्स सेवाको पहुँच अझै सीमित छ । विशेषज्ञ सेवा मुख्यतः केही संस्थाहरूमा मात्र केन्द्रित रहेकाले पहाडी तथा दुर्गम जिल्लाका अपाङ्गता भएका व्यक्तिहरूले समयमै गुणस्तरीय सेवा प्राप्त गर्न कठिनाइ भोगिरहेका छन् ।
यसको प्रत्यक्ष प्रभाव उनीहरूको गतिशीलता, कार्यक्षमता र सामाजिक सहभागितामा परेको देखिन्छ ।
प्रदेशस्तरमा यथार्थ अवस्था मूल्याङ्कन गर्न स्थानीय तहहरूले सेवा प्राप्त व्यक्तिहरूको विवरण स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा नियमित रूपमा अभिलेखीकरण गर्नुपर्ने व्यवस्था छ ।
स्वास्थ्य निर्देशनालय धनकुटाका क्षयकुष्ठ सुपरभाइजर अधिकृत तुलसी गुरागाँईका अनुसार सीबीआर विराटनगर सहित जम्मा चारवटा संस्थाले मात्र नियमित रूपमा तथ्याङ्क प्रविष्ट गर्ने भएकाले कोशी प्रदेशमा कृत्रिम अङ्ग तथा सहायक उपकरण सेवाको वास्तविक अवस्था विश्लेषण गर्न कठिनाई भइरहेको छ ।
नेपालमा जनशक्तिको अवस्था
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको २०७९ सालको प्रतिवेदन अनुसार नेपालमा ३७ जना प्रोस्थेटिस्ट तथा अर्थोटिस्ट कार्यरत रहेको उल्लेख छ । तर, प्रोस्थेटिस्ट तथा अर्थोटिस्ट एसोसिएसन (पोस नेपाल)का अनुसार सक्रिय रूपमा कार्यरत प्रमाणित जनशक्तिको संख्या ३१ जना रहेको देखिन्छ ।
विशेष चिन्ताको विषय के हो भने पछिल्ला केही वर्षयता यस क्षेत्रमा जनशक्ति उत्पादन उल्लेखनीय रूपमा बढ्न सकेको छैन ।
विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको जनशक्ति मापदण्डसँग तुलना गर्दा कोशी प्रदेशमा मात्र ६२ जना प्रोस्थेटिस्ट तथा अर्थोटिस्ट आवश्यक पर्ने देखिएकोमा हाल पाँच जना प्रमाणित प्राविधिकहरु मोरङ र सुनसरी जिल्लामा कार्यरत रहेका छन् ।
यसले उपलब्ध सेवा र वास्तविक आवश्यकताबीचको ठूलो खाडललाई संकेत गर्छ ।
सेवा ग्राहीको भोगाइ
भोजपुरको हतुवागढी गाउँपालिका–१ का कमल भुजेल आफ्नो अनुभव सुनाउँछन्, ‘मेरो छोरो अहिले १६ वर्षको छ ।
ऊ बढ्दो उमेरमा भएकाले कृत्रिम खुट्टाको समय समयमा मर्मत गर्नुका साथै प्रायः हरेक वर्ष नयाँ खुट्टा बनाउनु पर्ने हुन्छ ।
सामान्य मर्मतका लागि पनि हामीलाई विराटनगर पुग्नु पर्छ । एक पटक आउजाउ गर्दा करिब पाँच हजार रुपैयाँ खर्च हुन्छ ।
हाम्रो जिल्लामा मुस्किलले तीन चार वर्षमा एक पटक मात्र घुम्ती शिविर सञ्चालन हुन्छ । गुणस्तरीय र दीगो कृत्रिम अङ्ग प्राप्त गर्न पनि कठिनाइ भइरहेको छ ।’
कमल भुजेलको अनुभव प्रतिनिधि मूलक मात्र हो ।
इलाम, पाँचथर, ताप्लेजुङ, झापा, संखुवासभा, उदयपुर लगायतका जिल्लाका धेरै सेवा ग्राहीहरूले सेवा केन्द्रसम्मको दूरी, यात्रा खर्च, नियमित मर्मत सेवाको अभाव तथा उपकरण प्रतिस्थापनमा हुने ढिलाइ जस्ता समस्या भोगिरहेका छन् ।
सेवा प्राप्त गर्न लाग्ने औसत समय
पीएण्डओ सेवाको माग पछि प्राप्त गर्ने औसत समयको अद्यावधिक तथ्याङ्क उपलब्ध भएको पाइदैन ।
करुणा फाउन्डेसनका सीबीआर अधिकृत जितेन्द्रकुमार सिंहका अनुसार ‘धेरै सेवा ग्राहीहरूले उपकरणको फिटिङ मिलाउन पटक पटक सेवा केन्द्र धाउनुपर्ने अवस्था भोगिरहेका छन् ।
कोशी प्रदेशका धेरै सेवा ग्राहीहरूले कृत्रिम अङ्ग तथा सहायक उपकरण प्राप्त गर्न औसतमा करिब तीन महिनासम्म प्रतीक्षा गर्नुपर्ने अवस्था रहेको छ ।
साथै, स्थानीय तहमा नियमित मर्मत तथा फलोअप सेवाको व्यवस्था नहुँदा उपकरणको दिगोपन र प्रभावकारितामा समेत चुनौती देखिएको छ ।
यी समस्याहरूले विशेषगरी दुर्गम जिल्लाका अपाङ्गता भएका व्यक्तिहरूको पुनस्र्थापना सेवामा पहुँचलाई थप कठिन बनाएको छ ।’
प्रोस्थेटिक्स तथा अर्थोटिक्स सेवा केवल उपकरण वितरणको विषय होइन । यो अपाङ्गता भएका व्यक्तिहरूको स्वतन्त्रता, सम्मान, शिक्षा, रोजगारी र सामाजिक सहभागितासँग प्रत्यक्ष सम्बन्धित मानव अधिकारको विषय हो ।
त्यसैले अन्तर्राष्ट्रिय पीएण्डओ दिवसको अवसरमा हामीले गुणस्तरीय, पहुँचयोग्य र दिगो पुनस्र्थापना सेवा प्रणाली निर्माण गर्ने प्रतिबद्धताई अझ मजबुत बनाउन आवश्यक छ ।
यस क्षेत्रमा कार्यरत सम्पूर्ण प्रोस्थेटिस्ट, अर्थोटिस्ट तथा पुनर्स्थापना पेशाकर्मीप्रति हार्दिक सम्मान व्यक्त गर्दै उनीहरूको योगदानलाई राष्ट्र निर्माणको महत्वपूर्ण आधारका रूपमा स्वीकार गर्नु आजको आवश्यकता हो ।
(अम्बिका शर्मा शर्मा प्रोस्थेटिस्ट तथा अर्थोटिस्ट समाज, नेपालकी अध्यक्ष हुन् ।)
View : 31
Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved