विराटनगर । सशस्त्र प्रहरी बल नेपालले उदयपुरमा ७ हजार ८२६ किलो ८०० ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले ट्रकमा लोड गरेर लैजाँदै गरेको अवस्थामा गाँजा बरामद गरेको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल एपिएफ इन्टेलिजेन्स ब्यूरोका अनुसार आइतबार साँझ करिब ६ बजेतिर उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर मैनामैनी–कोशोपुल भित्री सडकखण्डमा ट्रक जाँच गर्ने क्रममा गाँजा फेला परेको हो ।
ब्यूरोका सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईँको नेतृत्वमा खटिएको टोलीले प्रदेश १–०२–००२ ख ०२०६ नम्बरको ट्रक जाँच गर्दा २४६ वटा प्लास्टिकका बोरामा प्याक गरिएको ७ हजार ८२६ किलो ८०० ग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
ब्यूरो र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण मुख्यालय सुनसरी तथा नम्बर ५ गण मुख्यालय उदयपुरबाट खटिएको संयुक्त टोलीले गाँजा बरामद गरेको जनाइएको छ ।
बरामद गाँजा र ट्रक थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । ठूलो परिमाणमा गाँजा बरामद भए पनि ठुलो परिणामको गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ पुर्याउने योजना थियो भन्ने विषयमा थप अनुसन्धान हुन बाँकी नै रहेको जनाइएको छ ।
सशस्त्र प्रहरी बल नेपालले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गर्दै आएको जनाएको छ । अभियानअन्तर्गत विभिन्न प्रकारका लागुऔषध नियन्त्रणमा लिनुका साथै लागुऔषधको प्रयोग तथा ओसारपसारविरुद्ध जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिँदै आएको छ ।
View : 68
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved