वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड आईबीपी वर्ल्ड च्याम्पियनसिप
विराटनगर । थाइल्याण्डको पटायामा सम्पन्न भएको वल्र्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेञ्च प्रेस (आईबीपी) वल्र्ड च्याम्पियनसिमा मोरङकी दीपा बिष्टले चौथौं पटक पनि गोल्ड मेडल जितेकी छन् । उनी सवैभन्दा बढी तौल उचाल्ने खेलाडीसमेत बनेकी छन् ।
गत असार ३२ देखि साउन ३ गतेसम्म आयोजित स्ट्रेन्थलिफ्टिङ एण्ड आईबीपी वल्र्ड च्याम्पियनसिमा बिष्टले ९० केजी तौल उचालेर लगातार चौथो पटक गोल्ड मेडल हासिल गरेकी हुन् ।
मोरङको सुन्दरहरैंचा–११ की बिष्टले यो खेलमार्फत नेपाललाई विश्वभर चिनाउँदै आएकी छन् । १८ वटा देशका खेलाडीहरू सम्मिलित विश्वस्तरीय प्रतियोगितामा विष्टले लगातार चार पटक गोल्ड मेडल हासिल गरेकी छैनन्, दुई पटक ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ को टाइटल समेत जितेकी छन् ।
बिष्टले पहिलो पटक २०७९ भदौ २० मा किर्गिस्थानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेञ्च प्रेस च्याम्पियनमा ७२ केजी तौल उचालेर नेपालका लागि स्वर्ण पदक प्राप्त गरेकी थिइन् । त्यसपछि २०८० पुस २ देखि ५ गतेसम्म भारतको हैदराबादमा सम्पन्न भएको च्याम्पियनसिपमा ९० केजी तौल उचालेर गोल्ड मेडलसहित ‘वल्र्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसमेत जित्न सफल भएकी थिइन् ।
बिष्टले २०८१ मा काजकिस्तानमा सम्पन्न च्याम्पियनसिपमा ९५ केजी तौल उचालेको गोल्ड मेडलसहित ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल दोस्रो पटक प्राप्त गरेकी थिइन् ।
उनले यसपालि पहिलो पटक नेपाली खेलाडीहरूको टिम मेनेजर भएर थाइल्याण्ड पुगेकी थिइन् । साथै, उनले प्रतियोगितामा पहिलो पटक नै स्ट्रेन्थलिफ्टिङ एण्ड आईबीपीको अन्तर्राष्ट्रिय रेफ्रीको भूमिका समेत निर्वाह गरेको बताइन् ।
प्रतियोगितामा नेपालबाट बिष्टकै नेतृत्वमा सहभागी भएका नौ खेलाडीहरूले सातवटा गोल्ड मेडल हासिल गरेका छन् । त्यस्तै पाँचवटा सिल्भर र दुईवटा ब्राउन्च मेडलसहित १४ वटा मेडल प्राप्त गर्दै प्रतियोगितामा नेपालले दोस्रो स्थान कायम गरेको जनाइएको छ ।
विजयी खेलाडीहरूलाई थाई नेपाली संघका अध्यक्ष लक्ष्मण केसीसहितले थाइल्याण्डमै नगद एक लाख रुपैयाँसहित दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।
यो खेलमा हरेक बर्ष उत्कृष्ट प्रदर्शन गर्दै आएका नेपाली खेलाडीहरूलाई तीनै तहका सरकारले भने बेवास्ता गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत नेपालको झण्डा फहराएका उनीहरूले आफ्नो प्रयास र खर्च जुटाएर प्रतियोगिता खेल्दै आएका छन् ।
यसपटक पनि आर्थिक स्रोत साधन आफैंले जुटाएर प्रतियोगितामा सहभागी भएका हुन् । बिष्टलाई यसअघि उनको घर भएको सुन्दरहरैंचा नगरपालिकाले केही खेल सामग्री प्रदान गर्दै प्रोत्साहन गरेपनि प्रदेश सरकार र खेलकुद क्षेत्रका कुनैपनि नेतृत्वको नजरमा परेकी छैनन् ।
आफ्नो खेल कौशलबारे बिष्टले कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्रकुमार राई र केदार कार्कीलाई भेटेर जानकारी गराएपछि सहयोगको आश्वासन पाएकी थिइन् ।
तर, उनीहरूकै नेतृत्वमा आयोजना गरिएको खेलाडी सम्मान कार्यक्रममा भने बिष्टलाई कसैले पनि स्मरण गरेनन् । उनी अहिलेसम्म प्रदेश खेलकुद विकास बोर्डको समेत नोटिसमा परेकी छैनन् । हरेक बर्ष प्रदेश सरकारले खेलाडी सम्मान गर्दा उनलाई बोर्डले खोजीसमेत गरेको छैन ।
स्ट्रेन्थलिफ्टिङ भन्नाले उचाल्नु पर्ने तौललाई खुट्टाको पछाडिबाट बोक्ने र उचाल्ने क्षमता हो । त्यस्तै इन्क्लाइन बेन्च प्रेस (आईबीपी) भनेको जिममा छातीको ‘एक्सरसाइज’ गर्दा प्रयोग गरिने इन्क्लाइन बेञ्च प्रेसमै करिब ३५ डिग्रीमा उत्तानो सुतेर आफूले उचाल्न चाहेको तौललाई माथि उचाल्ने क्षमता र कला हो ।
View : 774
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved