विराटनगर । आफ्नै निर्वाचन क्षेत्रमा आफ्नै गुटको विवाद मिलाउन नसकेर हैरानी खेपिरहेका नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बुधबार एउटा ‘रहस्यमय’ सन्देश सार्वजनिक गरेका छन् ।
‘राष्ट्रिय मेलमिलाप दिवस’ को अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै कोइरालाले ‘कांग्रेसभित्र एकताको खाँचो’ जरुरी रहेको बताएका छन् ।
विघटित प्रतिनिधिसभामा मोरङ–६ बाट सांसद रहेका विराटनगरका बासिन्दा कोइराला तिनै नेता हुन्, जो पार्टीको १४ औं महाधिवेशनमा सभापतिमा चुनाव उठेर शेरबहादुर देउवाबाट पराजित भएका थिए ।
१४ औं महाधिवेशनलगत्तै १५ औं महाधिवेशनमा पनि सभापतिमा उठ्ने सार्वजनिक घोषणा गरेर देश दौडाहामा होमिएका कोइरालाले यसबीचमा सभापति देउवाको कडा आलोचना गर्दै आएका थिए ।
तर, उनकै टिमबाट महामन्त्री जितेका गगन थापाहरुसहितको ठूलो समूहले जेनजी आन्दोलनपछि पार्टीमा रुपान्तरणको अभियान चलाउँदा भने कोइराला रहस्यमय ढंगले मौन जस्तै देखिएका छन् ।
अहिले थापाहरु नियमित महाधिवेशन रोक्ने ‘सात भाइ’ को प्रयासका विरुद्ध उभिंदै पुसभित्रै विशेष महाधिवेशन गर्ने तयारीमा जुटेका छन् ।
पार्टीभित्र रुपान्तरणको मुद्दा उत्कर्षमा पुगेका बेला विगतझैं रहस्यपूर्ण मौनताकै बीचमा बुधबार कोइरालाले ‘सम्पूर्ण रुपमा पार्टी एकताको विकल्प नभएको’ बताउँदै सन्देश जारी गरेका छन् ।
जहाँ उनले पार्टीभित्रको जारी महाधिवेशन विवादबारे चुइँक्क बोलेका छैनन् । बरु आउँदो निर्वाचनलाई मुख्य प्राथमिकता दिएर अघि बढ्नुपर्ने बताएका छन् ।
त्यसो त केन्द्रमा आफ्नै गुट मिलाएर राख्न नसकेकै कारण कोइरालाले महामन्त्री थापासहितका धेरै नेताहरुको साथ गुमाइसकेका छन् ।
केन्द्रमै आफ्नो समूह एक ढिक्का राख्न नसकेका कोइरालाले आफ्नै निर्वाचन क्षेत्रमा लगातार बढिरहेको गुटभित्रकै विवाद पनि मिलाउन सकेका छैनन् ।
मोरङ–६ मा कांग्रेसभित्र शेखर पक्ष बलियो मानिन्छ । यद्यपि सो समूहभित्रका अगुवा नेताहरुबीचमै पनि आपसमा मेलमिलाप छैन ।
शेखर निकट दुई नेताहरु कोशीका पूर्वमुख्यमन्त्री केदार कार्की र विराटनगर महानगरका मेयर नागेश कोइरालाबीचको तिक्तता लगातार बढ्दो क्रममा छ ।
कतिसम्म भने, २०७९ को स्थानीय निर्वाचनमा कार्की आफूलाई हराउन लागेको भन्दै नागेश कोइरालाले पार्टी बैठकमै भनेका थिए भने कार्कीले पनि प्रदेशसभा चुनावमा आफूलाई हराउन मेयर कोइराला लागेको बताउँदै आएका छन् ।
यी दुई नेताहरुबीचको बेमेलले मोरङ–६ मा शेखर समूह नै दुई चिरामा विभक्त बनेको छ । यसको एउटा प्रमाण गएको शनिबार भएका दुईवटा अलग वनभोजले पनि दिएका छन् ।
पुस १२ गते शनिबार कांग्रेसको मोरङ–६ नं क्षेत्रीय समितिले सुन्दरहरैंचाको हसिना सिमसारमा वनभोज आयोजना गरेको थियो ।
त्यो कार्यक्रममा जिल्ला, क्षेत्रीय समितिदेखि वडा समितिका अधिकांश नेताहरु तथा क्रियाशील सदस्यहरु सहभागी थिए । तर, मोरङ–६ बाटै प्रदेशसभा जितेका पूर्वमुख्यमन्त्री केदार कार्की र विराटनगर महानगर सभापति दीपक चागागाईं भने अनुपस्थित थिए ।
पार्टीको क्षेत्रीय समितिले आयोजना गरेको वनभोज बहिष्कार गर्नकै लागि उनीहरुले त्यही दिन विराटनगर–५ स्थित केसलिया रिङरोडमा ‘युवा साथीहरुसँग’ अलग्गै वनभोज आयोजना गरेका थिए ।
‘उहाँहरु क्षेत्रीय समितिको वनभोज बिथोल्ने नियतसहित विराटनगरमा अलग्गै वनभोज गर्नतिर लाग्नुभयो,’ क्षेत्रीय समितिका एक नेताले भने ‘अबेरसम्म हामीले पर्खेको हो, उहाँहरु क्षेत्रीय समितिको कार्यक्रममा आउनु भएन ।’
त्यसदिन सुन्दरहरैंचाको वनभोजमा पार्टीका बहुसंख्यक नेता–कार्यकर्ता सहभागी बन्दा कार्की र चापागाईं भने पुगेनन् ।
सुन्दरहरैंचाको कार्यक्रममा जिल्ला उपसभापति तथा मेयर नागेश कोइराला, जिल्ला सहसचिव भुवनेश्वर मण्डल, जिल्ला कोषाध्यक्ष रञ्जु अधिकारी, प्रदेश ‘क’ का सभापति दीपक भगत, ‘ख’ का सभापति मधुबाबु तिवारी, बुढीगंगाका अध्यक्ष जीतनारायण थापासहितका दर्जनौं नेता सहभागी थिए । केसलिया वनभोजमा भने कार्की र चापागाईं मात्रै थिए ।
‘गुटभित्रकै लडाइँले त्यसदिन दुईतिर कार्यक्रम आयोजना भयो,’ एक नेताले भने ‘मोरङ ६ मा यस्तो सधैंजसो हुँदै आइरहेको छ ।’
आफ्नै क्षेत्रमा गुटभित्रै मारामार चलिरहेका बेला ‘पार्टीभित्र एकताको खाँचो’ औंल्याउने शेखरको सन्देशप्रति उनकै क्षेत्रका नेताहरुले व्यंग्य गरिरहेका छन् ।
‘उहाँले अहम् अहम् समयमा केही निर्णय नगर्ने, गल्ती गर्दै आउनुभएको छ,’ मोरङ–६ का उनी निकट मानिने एक नेताले भने ‘अहिले पार्टीमा महाधिवेशनको विवादमा पनि उहाँले दोहोरो चरित्र देखाउनुभएको छ । मेलमिलाप दिवसको सन्देश त झनै उदेकलाग्दो देखिएको छ ।’
कोइरालाले कांग्रेसभित्र एकताको आवश्यकता औंल्याउदै सन्देश जारी गर्न मेलमिलाप दिवसकै अवसर रोजेका छन् । कांग्रेसले हरेक वर्ष पुस १६ लाई ‘राष्ट्रिय मेलमिलाप दिवस’ का रुपमा स्मरण गर्दै आइरहेको छ ।
पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंहलगायतका नेताहरु लामो निर्वासन अन्त्य गरी भारतबाट स्वदेश फर्किएको दिन पुस १६ गतेलाई कांग्रेसले हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ का रुपमा मनाउने गरेको छ ।
२०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रले ‘कू’ गर्दै शासन आफ्नो हातमा लिएका थिए । कांग्रेस संस्थापक एवम् तत्कालीन प्रधानमन्त्री वीपी कोइरालालगायतलाई जेल हालियो ।
महेन्द्रले बहुदलीय प्रजातान्त्रिक व्यवस्था विघटन गरी राजनीतिक दलमाथि प्रतिबन्ध मात्र लगाएनन्, नेताहरुमाथि देशद्रोहको मुद्दासमेत लगाए । तर, २०२५ कात्तिक १४ गते वीपी कोइरालालगायतका नेताहरु जेलमुक्त भए ।
त्यसपछि उनीहरु भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको आठ वर्षपछि अर्थात २०३३ साल पुस १६ गते वीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका नेताहरु आफूहरुमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरु मिलेर अघि बढ्नुपर्ने नीति अँगाल्दै स्वदेश फर्किका थिए ।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्किएका कांग्रेस नेताहरुले मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए ।
४९ वर्षअघि वीपीले अगुवाई गरेको मेलमिलाप नीतिको स्मरण गर्ने क्रममा उनै वीपीका भतिजा शेखरले पनि पार्टी महाधिवेशनको कुरै नगरी सन्देश जारी गरेका हुन् ।
‘त्यस समयमा विश्वमा देखिएको महाशक्ति राष्ट्रहरुको द्वन्द्व र खिचातानीवाट नेपाल जस्तो सानो र अत्यन्त संवेदनशील भूःराजनीतिक स्थितिमा रहेको देशको राष्ट्रियता र स्वतन्त्रता अक्षुण्य राख्न राष्ट्रिय एकता र मेलमिलापको विकल्प नभएको वीपीको सन्देश थियो,’ शेखरले भनेका छन् ‘आज पाँच दशक पछि फेरि विश्वमा महाशक्ति राष्ट्रहरुको दवाव र स्वार्थहरु अगाडि आएको हामी अनुभव गर्दैछाैं । यस परिस्थितिमा हामीले हाम्रा श्रद्धेय नेता वीपीको विचारलाई फेरि एक पटक मन, वचन र कर्मले मनन गर्नु परेको छ ।’
राष्ट्रिय एकता र मेलमिलापको लागि सत्ता राजनीति भन्दामाथि सार्वभौम सम्पूर्ण नेपालीहरुको जागरुक सतर्कतासहित ऐक्यवद्धताको खाँचो रहेको भन्दै उनले थपेका छन् ‘जसरी वीपीले सम्भावित व्यक्तिगत खतरा र राष्ट्रको अस्तित्वको खतरासामु नगण्य भन्ठानेर ऐतिहाँसिक निर्णय लिएर प्रवासवाट स्वदेश फर्कनु भएको थियो, आज लोकतन्त्रको रक्षार्थ र भावी युवा पुस्तालाई शान्ति र समृद्धिको गोरेटो कोरेको नेपाल हस्तान्तरण गर्न हामीले हाम्रा अप्रिय विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प छैन ।’
कांग्रेसभित्रको एकता र मेलमिलाप राष्ट्रिय एकता र मेलमिलापको प्रथम खुडकिलो मात्र होइन राष्ट्रको आवश्यक तत्व हो भनी हामी सवैले मनन गर्न जरुरी छ भन्दै उनले भनेका छन् ‘वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास र भरोसा गरे मात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भीर तथ्यमा चुक्यौं भने हामी भूमिकाबिहीन हुने खतरा रहन्छ । राजनीतिक परिदृश्यमा उदाएका नयाँ चुनौतिहरुको सामना गर्न हामीसँग सम्पूर्ण एकताको विकल्प छैन ।’
पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेस अघि बढ्नै नसक्ने भनेर पछिल्लो चार वर्ष लगातार वकालत गर्दै आएका शेखरले अहिले सबैले देउवाको विकल्प खोज्नुपर्ने बताइरहेका बेला भने महाधिवेशनबारे मौनता साँधेका छन् ।
त्यसो त विशेष महाधिवेशन माग्दै देशभरिका बहुमत (५४ प्रतिशत भन्दाबढी) ले हस्ताक्षर गर्दा मोरङका शेखर पक्षका कसैले पनि हस्ताक्षर गरेका छैनन् ।
शेखर कोइराला, सुजाता कोइरालासहितका नेताहरुले भोट नहाल्दा दुई मतले प्रदेश सभापतिमा पराजित युवा नेता गुरुराज घिमिरे भने हस्ताक्षर अभियानको मुख्य अगुवा थिए । घिमिरे कोइराला समूहकै नेता हुन् ।
View : 187
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved