गएको असार महिनाको अन्तिम हप्ता, ससुरालीको आग्रहमा बिहानको खाना खानेगरी तरहरा जानुपर्ने भएकाले आफूसँग भएको राम्रो लुगा लगाई बुढ्यौली उमेरको स्कुटरमा पछाडि श्रीमतीजीलाई राखेर विराटनगरबाट रवाना भएँ।
तरहरा अहिले इटहरी उपमहानगरमा पर्छ।
मेरो घरबाट कोशी राजमार्ग निस्कन पानी र केही हिलोले पुरिएका खाल्डाहरू पार गर्दै डेढ किलोमिटर पश्चिम जानुपर्छ।
घरबाट अलिकति हिँड्नसाथ मट्टीतेलको झिनो गन्ध छोड्दै एउटा सेप्टीट्याङ्की जोडिएको ट्याक्टर अगाडि जाँदै गरेको भेटियो।
बिहानको कार्यालय समय भएकाले बाटो अलि व्यस्त नै थियो।
हामीले केही क्षण ट्याक्टरलाई पछ्याउनुपर्ने भयो।
खाल्टो आउनासाथ ट्याक्टरको गति सुस्त हुन्थ्यो र खाल्टो पार हुनासाथ अलिक तीव्र गतिमा कुद्थ्यो।
एउटा खाल्टोमा हामी उहाँको नजिकै पुगेछौं; खाल्टोबाट निस्कनासाथ ऊ हुत्तिँदा ट्याङ्कीको पछाडि रहेको प्वाल (जो एउटा बुझोले थुनेको थियो) बाट पातलो दुर्गन्धित झोलका छिटाहरू सिमसिमे पानी झैं मेरो शरीरमा बर्सिए।
खाल्टो पार भएपछि ट्याक्टर त चिच्याउँदै कुदिहाल्यो, तर मैले भने स्कुटर छेरेर रोकें।
मैले घटना विवरण श्रीमतीलाई सुनाउन्जेल हेलमेटका सिसामा मात्र धुमिल चिह्नहरू थिए।
सर्टले आफ्नै स्वभावअनुसार पानीका कणहरू सोफिसकेछ।
समयको पाबन्दी र हिँडेका बेला फर्कनुहुन्न भन्ने सामाजिक मान्यतायुक्त पत्नीहठअगाडि मेरो केही लागेन।
फेरि यो मेरो पहिलो अनुभव पनि थिएन।
भट्टीमोडदेखि पश्चिम केशल्या पुलसम्म पटक-पटक यस्ता नर्कजलबाट सिञ्चित भइसकेको हुनाले मैले यसलाई पनि सजै पचाएँ।
अगाडि बढ्दै जाँदा एउटा पातलो हिलोले छोपेको खाल्टो भेटियो।
हिलो उछिट्टिएला भनेर मैले स्कुटरको गति सुस्त बनाएँ, तर त्यतिबेला नै विपरीत दिशाबाट हुइँकिएर आएको सेतो सेन्ट्रो कारको हामीपट्टिको चक्काले खाल्डोको केही हिलो उछिट्यायो।
धन्न! त्यो पटक भने मलाई छाडेर हिलोले श्रीमतीजीलाई रोजेछ।
आफ्नो हुलिया हेरेर उनको मुखबाट म रिसाउँदाका भन्दा धारिला गालीहरू निस्किए।
कार गइसकेकाले मैले पनि सहमति जनाएँ र उनको झोलाबाट ‘वाइप्स’ निकालेर पुछ्पाछ पारिदिएँ।
अब भने हामी मुख्य सडकमा थियौं र छ लेनको यो सडकका पाँच लेन पार गरेर आफ्नो किनारामा पुग्नु हाम्रो उद्देश्य थियो।
मैले दायाँ हेरें र पहिला तीन लेन काटेर डिभाइडरसम्म पुग्न स्कुटर अगाडि बढायें।
म पुग्थें पनि, तर डिभाइडरभन्दा पल्लो बाटोबाट आएको कारले डिभाइडरनिरै बाटो थुनिदिएकाले म बीचमै रोकिनुपर्यो।
यस्तैमा काँकडभिट्टाबाट हुइँकिएर आएको मोटर ब्रेकको नमिठो आवाज निकाल्दै मेरो छेउमा रोकियो।
सहचालक यो साइडमा नभएकाले चालक आफैंले रिस पोख्दै भन्यो, “मर्नै मन छ भने टिपरको अगाडि जाऊ न।”
आफूलाई बाटो काट्नु थियो।
कार अलिकति अघि बढेकाले हामी डिभाइडरसम्म पुग्यौं।
एउटा म्याजिक देब्रेपट्टि रोकिएको र रोयल बाइकको आवाज निकै तल भएझैं सुनिएकाले स्कुटर अघि बढायें।
म्याजिकले यात्रु त्यतिबेला नै चढाइसकेको रहेछ र दाहिनेतर्फ चेप्तै अगाडि बढ्यो।
पर आवाज दिने रोयल बाइक आफ्नो तुफानी गतिको कारण म्याजिक रोकिएको स्थानबाटै देब्रे दिशातर्फ च्यापेर मेरो छेउमा आइपुग्यो।
सर्टको टाँक खोलेर आफ्ना कुमद्वयले चालकलाई भार दिइरहेकी पछाडि बस्ने युवती डराएर ठाडो भएकीले हो वा हाम्रो भाग्य दह्रो भएकाले हो, चालकले सोही बाइक हाम्रो नजिकै ल्याएर पनि रोक्न सफल भयो।
म पनि अतालिएर बीचैमा रोकिएँ।
कामको हो वा लागूऔषधको नशाले हो, राता आँखा पारेर रिसाउँदै चालक युवकले मलाई हेर्यो।
मैले केही डराएर स्कुटर अगाडि बढायें। तर म डराएर रोकिन्छु भन्ने सोचेर होला, उसले पनि बाइक अगाडि बढाएछ र झन्डै छुवाउँदै फेरि रोक्यो।
त्यसबेला भने उसले रिस नियन्त्रण गर्न सकेन।
उसको रिस मुखमा आइपुगेकाले साउने झरीझैं आमाचकारी गालीको रूपमा वर्षियो र मलाई मुसोझैं लुथ्रुक्कै भिजायो।
पछाडि युवती नभएर खुकुलो भएको भए ऊ बाइकबाट झर्थ्यो पनि होला, तर यो ढिलाइको फाइदा लिंदै म सिधै पश्चिमतिरको बाटोतिर हुइँकिएँ।
रक्सीमा लठ्ठिएको साँढेसँग नजिक पर्नु ज्यान जोखिममा पार्नु हो भन्ने ज्ञानले मलाई सहयोग गर्यो।
आफ्नो कत्ति डर नमानी युवकसँग पौठेजोरी नखेलेको र अर्को बाटोतिर भागेको देखेर श्रीमतीजी भानुभक्तीय गजाधर सोतीकी पत्नीझैं उग्ररूपमा आए पनि उनीबाट ज्यानको जोखीम भने थिएन।
त्यसैले हामी फेरि फर्किएर आयौं र आफ्नो लेन समातेर गन्तव्यतिर लाग्यौं।
तीन जना हुइँकिने, हेडलाइटबिना राति कुदाउने, कुद्दै गरेका यात्रुवाहक सवारीका झ्यालबाट ड्राइफुडका खोलहरू फ्याँक्ने, खैनीको धुलो र गुट्खाका खोलहरू फ्याँक्ने, पान वा खैनी खाएर दाहिनेतर्फ थुक्ने, पछाडि नजिकै सवारी आउँदै गरेको देखेर पनि खाल्टो जोगाउन बाटो अतिक्रमण गर्ने, सङ्केत नदिई बाटो काट्ने, धुवाँको मुस्लो फ्याँक्दै दौडाउने जस्ता अप्ठ्याराहरू त सधैं भोगेकै हौं, तर यति नीच गाली चाहिँ कमै सुन्नुपर्थ्यो।
दुहवीमा टाउकोमा घुम्टो हालेर जबर्जस्ती बाटो काट्ने महिला र इटहरीमा ठाउँको अभावमा पनि पेलेरै ओभरटेक गर्ने मोटरसाइकलबाहेक त्यो दिन अरू अप्ठ्याराको खासै सामना गर्नुपरेन।
निर्धारित समयभन्दा केही ढिलो तरहरा पुग्दा पनि मलाई खुसी नै लाग्यो। नेपाली समय यस्तै ढिलो त छ नि!
श्रीमतीलाई चित्त नबुझे पनि हार्नुपरेकोमा मलाई भने चित्त दुःखाइ थिएन, न त लाज नै लागेको थियो। किनभने यो हार मेरो मात्र थिएन। यो गाली, हिलो र यावत् समस्याहरू मेरा मात्र थिएनन्।
यो हार त गल्ती देखेर पनि सजाय गर्न नसक्ने जिम्मेवार निकायको थियो, त्यो गाली, हिलो र समस्याहरू भाषणमा मात्र गर्जना गर्न सक्ने निरीह पदाधिकारीको थियो। अनि खोजेर पनि नेता भेट्न भेट्टाउन नसकेका आमनेपालीहरूको थियो।
र अन्त्यमा, करिब २५ किलोमिटर यात्रामा त यतिविघ्न कठिनाइहरूको सामना गर्नुपर्छ भने लामो यात्राको हालत कस्तो होला? समयमै सम्बन्धित निकायले सोचिदिने कि?
( लेखक अर्जुन नेपाल पुष्पलालचोक, विराटनगरवासी हुन् । )
View : 81
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved