Biratnagar, Morang, Nepal
१८ साउन २०८३, सोमवार
+977 21 450305, 515728, 578305
विचार

मोबाइलको स्क्रिन अँध्यारो –१

हिमालसँग साटिएका अविस्मरणीय पलहरू

त्यति बिघ्न गाडीहरूको धुवाँले घान्द्रुक धुँवासे भएको थियो, गाडीको तिखो आवाजले घान्द्रुक चिटचिटे भएको थियो। त्यसैले होला घान्द्रुक सेतो च्यादर ओढ्न छोडेर कालो धुस्साले मुख लुकाएको थियो।
१७ साउन २०८३, आइतवार

Advertisement

लुम्लेको स्वादिलो भोजनसँगै मध्याह्नमा शरीरले पाएको ऊर्जाले मात लागेर चिसो बतासले नुहाउन यताउता टहलिन थालेँ।

जता हेर्यो उतै हरियाली र कोण फरक भएका त्रिभुज झैं लाग्ने पहाड देखेर तनमन फेरि चङ्गा भयो।

 

पहाडहरू मलाई आदिमकालका तपस्वी जस्तो लाग्छन्; ज्ञान प्राप्त गर्न ध्यानमग्न भएर आसन जमाई दिव्यलोसँग नाता गासेर बसेका ऋषिमुनि नै हुन् भन्ने लाग्छ।

पहाड लाटो हुँदैन, पहाड टाठो हुन्छ। द्वापरयुगदेखि कलियुगसम्म पहाड पथप्रदर्शक भएर उभिएको छ। युधिष्ठिर स्वर्ग जाँदा पहाडले नै बाटो देखाएको होइन र?

यसैले होला हामी पहाडको छातीमा टाँसिएपछि जीवनयापन गर्न सिक्छौं, आफूमा नवजीवन अङ्कुरित भएको महसुस गर्छौं। पहाडमा दस नङ्ग्रा खियाउने जोकोहीले जस्तोसुकै मरुभूमिको पनि मरुद्यान बनाइदिन्छ।

 

त्यो त लुम्ले थियो, पानीको अथाह स्रोत आकाश र धर्ती दुवैतर्फ भएको ठाउँ। त्यो कृषि र पर्यटनको प्रचुर सम्भावना बोकेको पहाडी गाउँ थियो।

त्यति सुन्दर ठाउँ छोडेर हामीलाई अगाडि बढ्नु थियो।

 

जति नै सुन्दर भए पनि एकै ठाउँमा उभिएर कसलाई पो पुग्छ र?

महान् सम्राट सिकन्दरले पनि त संसार जित्न दौडको दौडै गर्नुपर्यो।

अब हाम्रो गन्तव्य थियो— नयाँपुल पार गरेर वीरेठाँटी, स्याउली बजार हुँदै रोदीको राजधानी, घान्द्रुक।

 

साँघुरो घुमाउरो बाटो पार गरेर दायाँबायाँ दुवैतर्फ घना बस्ती भएको सानो घुम्तीसँगै नयाँपुल प्रवेश गर्यौं।

 

त्यो पुलसँगै सुरु हुन्छ उत्तरी कास्कीको सुन्दर स्थान अन्नपूर्ण क्षेत्रलगायत हिमाली भागहरूको पदयात्रा। नयाँपुल पार गरेर अगाडि बढेपछि मोदी खोलाको किनारैकिनार हामी वीरेठाँटीलाई हात हल्लाउँदै घान्द्रुकतर्फ लम्कियौं।

मोदी खोलाको किनारमा गाडी रोकेर खोलाको बगरभरि छरियौं।

 

ढुङ्गामा बसेर खोलाको सेतो पानी र पछाडिको हरियो पहाडलाई मोबाइलको क्यामरामा अटाउँदै पालैपालो तस्बिर खिचियो।

घान्द्रुक जाने बाटोको बारेमा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका सूचना प्रविधिको शिक्षक प्रतीक चौलागाईंको अनुभव अत्यासलाग्दो थियो।

उहाँ भन्नुहुन्थ्यो, ‘हामी त ज्यानलाई हत्केलामा राखेर गाडीको बाटो पार गरेका थियौं।’

 

गाडीको अगाडिको सिटमा म बसेको थिएँ। मेरो छेउमा सीताराम सर  र गाडीचालक हुनुहुन्थ्यो। मेरो यो घान्द्रुकको यात्रा पहिलो थियो, त्यसैले आँखा कम झिम्कन्थ्यो।

ध्यान बाटो र अगाडिको दृश्यमा केन्द्रित थियो। यो घुम्तीपछि के आउला, यो डाँडापछि कस्तो ठाउँ आउला भनेर गुन्दागुन्दै समय बितिरहेको थियो।

 

म बसेको सिटभन्दा अगाडि देखिने बाटोभन्दा आफू चढेको गाडी ठूलो लाग्थ्यो।

गाडीचालकतर्फ गाडीको चक्का बाटैमा रहेकोमा पनि शङ्का हुन्थ्यो। कतै कतै भित्तामा झुन्डिएका लहरा र रुखका हाँगा झ्याम्मै गालामा लाग्छन् भनेर टाउको बङ्ग्याउँथें।

कालोपत्रे बाटो सकिएपछि सुरु भएको कच्ची बाटोले साटाे उडायो। हिलाम्मे बाटो अगाडि घुम्ती आयो, जहाँ खोल्सो थियो। अर्को तर्फबाट आएको सानो चारपाङ्ग्रे गाडीलाई बाटो छोड्नुपर्ने भयो।

 

हाम्रो गाडीचालकले गाडी अलिकति पछाडि सारेर सिधै खोल्सातिर ढुङ्गामाथि गाडी  चढाएर घुमाउन पुगे। सानो गाडी पानीको फोहोरा उडाउँदै अगाडि बढ्यो।

 

हिलाम्मे सडकमा गाडीले उकालो चढ्नुपर्ने, ठूलो स्वरमा रोएको आवाज निकाल्दै शान्त पहाडी कास्कीको घान्द्रुक गाउँलाई गाडीले आफ्नो आगमनको सङ्केत दियो।

चालकको कुशलतामा विश्वास भएर होला मलाई डर त लागेन, तर बाटोको दायाँतर्फ सयौं मिटर तल बगिरहेको मोदी खोला र हाम्रो गाडीबीचको रिक्ततालाई भने घरीघरी नियालिरहेको थिएँ।

 

गाडी घान्द्रुक बसबिसौनीमा गएर रोकियो, हामी समय खेर नफाली ओर्लियौं। बाटोभरि म सोच्दै थिएँ, हामीमा रोदीको रङ चढ्ने भयो।

मेलापातमा दिनभर पसिना बगाएर गुरुङ युवायुवतीहरूले साँझदेखि रातभर गीतसङ्गीत र  नाचगानमा मस्त हुने मेलो हो रोदी र त्यो jम्मा हुने घर रोदीघर।

घान्द्रुक आउनुमा मलाई घाटु र  कौरा नाच हेर्ने पनि लोभ थियो।

 

मन्त्रसहितका पुराना कथाहरूमा आधारित गीत गाउँदै अङ्गविन्यासका साथ गुरुङ युवा  युवतीहरूले छमछमी नाच्ने लोकनृत्य हेर्ने र रमाउने रहर उम्लिएको थियो।

झन् गुरुङ युवाहरू एकतिर र गुरुङ युवतीहरू अर्कोतिर लहरै उभिएर डम्फू र खैजडीको तालमा नाचिने प्राचीन नृत्य कौरा हेर्ने रहर कसको मनमा नहोला र?

त्यो दिनको साँझ साँचै रमझमपूर्ण हुने कल्पना गर्दै आआफ्ना भारी बोकेर उकालो चढ्यौं।

 

हामी जति उकालो चढ्दै गयौं, त्यति बसबिसौनीको कोलाहल कम हुँदै थियो।

बसबिसौनीभित्र मात्र नअटेर बाहिर बाटोभरि असंख्य गाडीहरू उभ्याइएका थिए।

 

त्यति बिघ्न गाडीहरूको धुवाँले घान्द्रुक धुँवासे भएको थियो, गाडीको तिखो आवाजले घान्द्रुक चिटचिटे भएको थियो।

त्यसैले होला घान्द्रुक सेतो च्यादर ओढ्न छोडेर कालो धुस्साले मुख लुकाएको थियो।

 

बाटोभरि देखिने स्थानीय गुरुङ समुदायका युवायुवती, वयस्कर  वृद्धवृद्धाहरूको पहिरन गुन्युचोली, कछाड, भाङ्ग्रा होइन कुर्तासुरुवाल, टीसर्ट, पाइन्ट, साडी आदि पो थियो।

घर बनाउन इँटा पोखराबाट लगेको देखेपछि लाग्न थाल्यो अब घान्द्रुक आधुनिक बन्ने होडमा छ,

 

नजिकका हिमालहरूलाई पनि चुनौती दिने सोचमा छ।

म चिन्तित थिएँ, साँझमा मेरो रोदी, कौरा र घाटुमा रमाउने योजना के होला?

 

सिँढीहरू आए, हामी उक्लन सुरु गर्यौं। हामीलाई पुग्नुथ्यो ‘होटल फोर सिजन्स’।

होटल घान्द्रुकको सिरानमा पुरानो ढुङ्गे घर नजिकै थियो, तर त्यो प्राचीन र कलात्मक नभएर सिमेन्ट, कङ्क्रिट र आधुनिक थियो।

 

पुरानो दिन सम्झाउने भनेको हिँड्ने सिँढीहरू र होचा पर्खाल अनि पुराना घरहरूका छाना थिए।

पातला मिलेका चतुर्भुज आकारका ढुङ्गाहरू ओछ्याएर बनाएका सिँढीहरू र घरका छानाहरू निकै आकर्षक देखिन्थे।

त्यस्तै पुराना घर र  बारीमा घेराबारा गर्न बनाएका पर्खाल ढुङ्गाकै थिए। पुराना घरहरूमा झ्याल सानासाना थिए र  ढोका होचा देखिन्थे।

मैले लख काटें, त्यो पक्कै पनि चिसोबाट बच्नका लागि हुनुपर्छ।

 

हिँड्दाहिँड्दै बाटो हराएर हामी घरको आँगनमा पुग्थ्यौं, घरमुलीहरूले त्यहीँबाट अगाडि बढेर जाने इसारा गर्नुहुन्थ्यो।

यसबाट गुरुङ समाज खुला रहेको र एकआपसमा निकै नजिक रहेको भान हुन्थ्यो।

हामी उकालो चढेर अलिकति तेर्सो हिँडेपछि आफ्नो साँझको गन्तव्य पुग्यौं।

 

खाजा खायौं— रैथाने कोदोको ढिंडो, फापरको रोटी, पोलेको मकै अनि उसिनेको आलु नभएर आयातित परिकार।

साँझको खाना पनि सबै तराईबाट ढुवानी गरिएका ब्रोइलर कुखुरा, सागसब्जी र  चामलको परिकार। खाना खाएपछि यसो आराम गर्न लागेको सुरु भयो तिखो डिजे, ‘अभी तो पार्टी सुरु हुई है।’

कहाँ रोदी सुन्न पाउनु, कहाँ कौरा र घाटु हेर्न पाउनु।

होटलको भाइबाट थाहा भयो, रोदी होइन विशेष अनुरोधमा दोहोरीसम्मको व्यवस्था हुन्छ रे।

रोदीघर त पोखराभरि व्यावसायिक दोहोरीमा परिणत भएछन्।

घाटु  र कौरा घान्द्रुकले बिर्सेछ।

 

सरोजराज पन्त, अनुसन्धानकर्ताको खोज थियो, घान्द्रुकमा रोदी लोप हुनुमा भूमण्डलीकरणको भूमण्डलीकरणको प्रभाव थियो।

विदेशी अनुसन्धानकर्ताहरूले भनेझैं रोदीमा हुने खुला यौनजन्य क्रियाकलापहरू र  त्यसलाई समाजले हेर्ने दृष्टिकोणमा आएको परिवर्तन मात्र यसका जिम्मेवार थिएनन्।

सामाजिक–सांस्कृतिक घुलमिल र बसाइसराइले रोदीलाई पूरै बिर्साइदियो।

यस्तै भएर कौरा र  सोरठी नाच पनि हराए। खानाका परिकारमा पनि बाहिरी प्रभाव पर्न गयो। अब घान्द्रुक आधुनिक भयो, आउने पुस्ताले त्यहाँको शीतलता पनि पाउन मुस्किल बन्ने भयो।

 

पल्लो होटलमा सुरु भयो झुमा लिम्बूको काफ्ले गीत।

हाम्रा टोलीका सदस्यहरूले पनि घन्काए आफ्नै पप गीतहरू र एकतिर छात्राहरू अर्कोतिर छात्रहरू थाकुञ्जेल कम्मर मर्काए। सीताराम सर, विनोद जी र  म बन्यौं रमिते।

त्यतिकैमा अङ्कित भाइको फोन आयो, ‘सरहरू एकछिन छात्रहरूको होटलमा हुनुपर्छ।

 

त्यहाँ पुगेपछि थाहा भयो बसचालकले होटलको बूढा मान्छेसँग रिसाएर खाँदै गरेको खानाको थाल हुत्याएछन्।

धन्न सहयोगी ट्राभल्सका छरिता  र चलाख भाइ सिङ्गमले घटना सामसुम पारिसकेका रहेछन्।

हामी फर्कियौं, रातको १० बज्यो।

घान्द्रुकको नियमअनुसार अब डिजे बन्द गरेर सुत्ने समय भयो, ओछ्यानमा पल्टियौं बिहान हिमाल दर्शन गर्ने अभिलाषा जीवित राखेर।

 

अघिल्लो साँझ बादलभित्र हराएका हिमाललाई हेर्ने उत्कण्ठाले भोलिपल्ट उषाकालमै आँखा खुले।

होटलको छतमा गएर लहरै दाँतको पङ्क्ति झैं मिलेका हिमालहरू क्रमशः माछापुच्छ्रे, हिमचुली र  अन्नपूर्णको आराधना गरियो। प्रचुर सम्झना आउने गरी परेलीका डिलमा सबै हिमालहरूलाई सजाएर गुरुङ सङ्ग्रहालयतिर लाग्यौं।

 

त्यहाँ देश–विदेशका पाहुनाहरू गुरुङ पहिरनका कपडा र गरगहनाहरू भाडामा लिएर गुरुङ भेषभूषामा सजिंदै हिमाललाई शिरमा सजाएर सम्झनास्वरूप तस्बिर लिन व्यस्त थिए।

हामी भने घान्द्रुकलाई एक फन्को मारेर होटल पुग्यौं।

 

त्यसपछिको तयारी थियो बागलुङको कालिकादेवी र त्यसपछि हिमालपारिको जिल्ला मुस्ताङ भ्रमणको।

( लेखक डा अच्युतराज कट्टेल महेन्द्र मोरङ क्याम्पस, विराटनगरका बीसीए कार्यक्रमका निर्देशक एवम् क्याम्पस कार्यसमितिका सदस्य हुन् ।)

View : 282

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved