उदयपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेकै अवस्थामा चुनाव हुने वातावरण नभएको स्पष्ट पारेका छन् ।
नेकपा एमाले जिल्ला कमिटी उदयपुरले सदरमुकाम गाईघाटमा सोमबार आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ज्ञवालीले निर्वाचनका लागि शान्तिपूर्ण, निस्पक्ष र भयरहित वातावरण बन्नुपर्ने बताए ।
‘पाँच हजार बढी भागेका कैदीबन्दी बाहिर छन्, लुटिएका हतियार बाहिर छन्, तिनै व्यक्तिबाट हत्या, लुटपाट, बलात्कार जस्ता घटनाहरु घटेका छन्, यस्तो अवस्थामा कसरी निर्वाचन सम्भव छ ?’ उनले भने, ‘निर्वाचन गर्न त शान्तिपूर्ण, निस्पक्ष र भयरहित वातावरण बन्नुपर्छ ।’
सुरक्षाको प्रबन्ध नभई उम्मेदवार जनताको घरदैलोमा जान नसक्ने, कर्मचारी खटाइएका ठाउँमा जान नसक्ने र जनताले निर्धक्कका साथ मतदान गर्न पनि नसक्ने ज्ञवालीले बताए ।
सरकारले अहिलेसम्म सुरक्षा निकायको मनोबल माथि उठाउने पहल नगरेको उपमहासचिव ज्ञवालीले आरोप लगाए ।
‘डिउटीका प्रहरीलाई ढुंगामुढा गरिएको छ, हत्या गरिएको छ, मनोवल पूरै घटाइएको छ, यस्तो अवस्थामा निर्वाचनमा प्रहरी परिचालन हुन सक्दैन’ उनले भने, ‘यी सवै कुरा देखेरै एमालेले निर्वाचन नभई संसद पुनस्र्थापना गरौं भनेको हो ।’
संसद पुनस्र्थापना गरौं भन्दा निर्वाचनबाट भाग्यो भनेर एमालेविरुद्ध स्याल हुइँया मच्चाइएको उनले गुनासो गरे । साथै, जेनजी आन्दोलनपछि बनेको छानविन आयोगमाथि नै प्रश्न खडा भएको भन्दै अब संसद पुनस्र्थापना गरी सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानविन अयोग गठन गर्नुपर्ने बताए ।
प्रशिक्षण कार्यक्रममा उदयपुरका आठवटै स्थानीय तहका पाँच सय बढी अगुवा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । भागवत राउतको अध्यक्षतामा आयोजित कार्यक्रमलाई एमाले कोशी प्रदेश इञ्चार्ज शेरधन राई लगायतले सम्बोधन गरेका थिए ।
View : 281
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved