Biratnagar, Morang, Nepal
१८ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राष्ट्रिय

कोशीका ‘टाइम बम’ जस्ता हिमताल, जो विस्फोटको जोखिममा छन्

उद्‌घोष संवाददाता
१८ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षती भएको छ । यो क्षतिले कोशी प्रदेशका हिमतालले निम्त्याएको जोखिम झनै बढाइरेको छ ।

विश्वव्यापी तापमान वृद्धि र तीव्र जलवायु परिवर्तनको सोझो असर नेपालका उच्च हिमाली क्षेत्रहरूमा स्पष्ट र डराउने गरी देखिन थालेको छ । 

हिमाली भूगोलमा हिउँ पग्लेर हिमनदीहरू पछाडि हट्ने र तिनका छेउछाउमा ठूला नीलो पानीका तालहरू थुप्रिने क्रम तीव्र बनेको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले गरेको विस्तृत अध्ययनअनुसार नेपाल, चीनको तिब्बत स्वायत्त क्षेत्र र भारतका प्रमुख नदी जलधार क्षेत्र (बेसिन) हरूमा ३,६२४ हिमताल पहिचान गरिएका थिए । 

तीमध्ये ४७ वटा हिमताल जुनसुकै बेला फुट्न सक्ने उच्च जोखिमको श्रेणीमा परेका छन् । चिन्ताजनक तथ्य के छ भने, नेपालभर पहिचान गरिएका २,०६९ हिमतालमध्ये जोखिमयुक्त ठहरिएका ४७ वटा तालहरूमध्ये ४२ वटा हिमताल कोशी जलधार क्षेत्रमा पर्छन् । विज्ञहरूका अनुसार कोशीका हिमालमा रहेका यी हिमतालहरू कुन बेला फुट्छन् भन्ने समय सेट नगरिएका ‘टाइम बम’ जस्तै हुन्, जसको सम्भावित विस्फोटले हिमाल, पहाड हुँदै तराईसम्म विशाल विनाश निम्त्याउन सक्छ ।

कोशी प्रदेशभित्रका हिमतालहरूको अवस्था विश्लेषण गर्दा संखुवासभाको भोटखोला र मकालु क्षेत्रमा रहेका चारवटा हिमताल अति संवेदनशील मानिएका छन् । तीमध्ये पनि तल्लो बरुण क्षेत्रमा रहेको ‘थुलोपोखरी’ लाई सबैभन्दा बढी चिन्ताको विषयका रूपमा हेरिएको छ । 

विज्ञहरूका अनुसार यो ताल करिब तीन किलोमिटर लामो र २०६ मिटर गहिरो छ, जसको वरपरको औसत गहिराइ १५ देखि २५ मिटरसम्म रहेको छ ।

यो विशाल ताल फुट्यो भने अरुण उपत्यकाका बस्ती, सडक, पुल र त्यहाँ निर्माण भइरहेका तथा सञ्चालनमा रहेका राष्ट्रिय गौरवका जलविद्युत् आयोजनाहरू क्षणभरमै सखाप हुने उच्च जोखिम छ ।

अर्कातिर, कोशी प्रदेशको यो संकट नेपालको आफ्नै भौगोलिक सिमानाभित्र मात्र सीमित छैन । तिब्बततर्फ रहेका कम्तीमा १३ वटा उच्च जोखिमयुक्त हिमतालहरूमा कुनै अस्वाभाविक परिवर्तन आएमा वा ती फुटेमा नेपालको उत्तरी क्षेत्रमा सोझै विनाश भित्रिनेछ । सीमापारिको भौगोलिक जटिलताका कारण नेपालले चीनसँग वास्तविक समयको ( रियल टाइम) तथ्यांक आदानप्रदान र सुदृढ पूर्वसूचना प्रणाली निर्माण नगरेसम्म यो जोखिम कायम नै रहनेछ ।

हिमताल विस्फोटजन्य बाढी (जीएलओ) सामान्य नदीमा आउने बाढीभन्दा सर्वथा फरक, अप्रत्यासित र भयानक हुन्छ । 

तापमान वृद्धिले हिमनदी तीव्र गतिमा पछाडि हट्दै जाँदा तालको पानीको मात्रा बढ्छ र त्यसलाई थामेर राख्ने मोरेन अर्थात् ढुंगा, माटो र बरफको कमजोर बाँध अस्थिर बन्दै जान्छ । 

यस्तो अवस्थामा तालमा एक्कासि ठूलो हिमपहिरो वा चट्टान खस्नु, अत्यधिक वर्षा हुनु वा भूकम्प जानुजस्ता कारणले पानीको विशाल छाल उत्पन्न भई प्राकृतिक बाँध भत्काउन सक्छ । यस्तो बाढीमा केवल पानी मात्र नभई हजारौँ टन बरफ, ठूला चट्टान, माटो र गेग्रान उच्च गतिमा तलतिर बग्छ ।

वि.सं. २०८१ साउन ३२ गते शुक्रबार सोलुखुम्बुको थ्यान्बो हिमताल फुटेर आएको बाढीले थामे क्षेत्रका घर, होटल, पुल र जलविद्युत् संरचना ध्वस्त पार्दै ८० किलोमिटर तल दूधकोशी नदी हुँदै ठूलो विनाश पु¥याएको घटना यसको ज्वलन्त उदाहरण हो । 

यसले हिमालको टुप्पोमा हुने सानो परिवर्तनले पनि केही घण्टामै दर्जनौं किलोमिटर तलको जीवन तहसनहस बनाउन सक्छ भन्ने देखाउँछ ।

कोशी प्रदेशको भौगोलिक बनावट नै यस्तो छ जहाँ हिमालको शिरमा हुने एउटा घटनाले तराईको अन्तिम भूभागसम्म असर पुर्याउँछ । संखुवासभाका हिमतालमा केही भैहालेमा त्यसको भीषण प्रभाव अरुण नदीको गहिरो उपत्यका हुँदै सप्तकोशीमा मिसिन्छ र अन्ततः तराईका सुनसरी, मोरङ र विराटनगरसम्मको क्षेत्रलाई डुबान र कटानको खतरामा पार्छ । 

त्यसैले हिमतालको सुरक्षा हिमाली गाउँको मात्र नभई सम्पूर्ण कोशी नदी प्रणाली र त्यहाँ आश्रित लाखौँ जनसंख्याको सुरक्षासँग प्रत्यक्ष जोडिएको छ । यो जोखिमसँग जुध्न अब केवल हिमतालको सूची बनाएर वा चेतावनी दिएर मात्र पुग्दैन । 

थुलागी, तल्लो बरुण, लुम्दिङ त्सो र हङ्गु–२ जस्ता अति जोखिमयुक्त तालहरूको पानी नियन्त्रित रूपमा बगाएर सतह घटाउने, भू–उपग्रह र सेन्सरमार्फत तालको निरन्तर अनुगमन गर्ने र तल्लो तटीय क्षेत्रमा स्वचालित साइरनसहितको पूर्वसूचना प्रणाली स्थापना गरी स्थानीय तहसम्म नियमित पूर्वतयारी अभ्यास गराउनु अनिवार्य भइसकेको छ ।

View : 15

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved