Biratnagar, Morang, Nepal
१८ भदौ २०८३, बिहिवार
+977 21 450305, 515728, 578305
राजनीति

श्रम संस्कृति पार्टीलाई सामूहिक नेतृत्वमा लैजान वरिष्ठ नेता सुदन किरातीको प्रस्ताव

उद्‌घोष संवाददाता
१८ भदौ २०८३, बिहिवार

Advertisement

विराटनगर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले पार्टीलाई सामूहिक नेतृत्वमा लैजानुपर्ने प्रस्ताव राखेका छन् । 

धरानमा जारी पार्टीको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता किरातीले संस्थागत निर्णय र व्यक्तिगत जवाफदेहिताको स्पष्ट प्रणाली लागू गर्नुपर्ने उल्लेख गरेका छन् । 

श्रम संस्कृति पार्टीलाई सुव्यवस्थित र संस्थागत गर्न तत्काल गर्नुपर्ने कामअन्तर्गत उनले संस्थागत निर्णय प्रक्रियामा समेत जोड दिएका छन् ।

‘महत्त्वपूर्ण निर्णयहरू पदाधिकारी तथा सम्बन्धित कमिटीको छलफल र निर्णयबाट गर्ने र निर्णयको अभिलेख राख्ने,’ किरातीले प्रस्तावमा भनेका छन्, ‘प्रभावकारी अनुशासन आयोग गठन गरी आचारसंहिता लागू गर्ने तथा कारबाही र आन्तरिक विवादलाई विधिसम्मत प्रक्रियाबाट समाधान गर्ने ।’

नेता तथा कार्यकर्ताको क्षमता, अनुभव, रुचि, योगदान र आवश्यकताका आधारमा जिम्मेवारी निर्धारण गर्नुपर्ने भन्दै वरिष्ठ नेता किरातीले आवश्यक विज्ञसहित अध्यक्षको सचिवालय गठन गर्ने तथा नेतृत्वको कार्यसम्पादनको नियमित समीक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

आन्तरिक लोकतन्त्र र संवादमा जोड दिएका किरातीले नेतृत्व र कार्यकर्ताबीच नियमित संवाद, सुझाव तथा मतभेद समाधानका लागि प्रभावकारी संयन्त्र विकास गर्नसमेत प्रस्ताव गरेका छन् ।

पार्टीमा आर्थिक पारदर्शिता हुनुपर्ने र त्यसका लागि आर्थिक नियमावली, बजेट, लेखा तथा नियमित लेखापरीक्षणको स्पष्ट प्रणाली लागू गर्नुपर्ने किरातीले प्रस्ताव गरेका छन् । प्रशिक्षण र नेतृत्व विकासमा समेत पार्टीको ध्यान पुग्नुपर्ने उनको भनाइ छ ।

‘नेता तथा कार्यकर्ताका लागि नियमित राजनीतिक, वैचारिक, संगठनात्मक तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने,’ किरातीले आफ्नो प्रस्तावमा भनेका छन्, ‘पार्टीका महत्त्वपूर्ण कार्यक्रम सम्बन्धित कमिटी वा विभागसँग पूर्वसमन्वय र छलफल गरेर मात्र सञ्चालन गर्ने ।’

View : 13

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved