महिला जागरण हरिकीर्तन समूहको छातामुनि आवद्ध गृहनगर पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ का आमाहरूको एउटा जाँगरिलो समूहले केही समययता परम्परागत सँगिनीलाई स्वर र साधनामा रुचिपूर्वक मञ्चन गर्दै आएका छन् ।
पछिल्ला दशकमा नेपाली समाजमा भित्रिएको पश्चिमा संस्कृति, आयातित बाजागाजा र लय आदिको प्रभावले लोपोन्मुख बन्न लागेको हाम्रो कलात्मक संस्कृतिलाई बचाउने र पुस्ता हस्तान्तरण गर्ने आमाहरूको योजना भएको बुझिन्छ ।
यसमा सहजकर्ताको रूपमा उभिएर सहयोग गर्दै आएका स्थानीय भाइ अर्जुन काफ्लेका अनुसार आमाहरू केही दिनमा सँगिनी विकासक्रमको सिकाइ र उपलब्धि अध्ययनका लागि म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा, गुल्मी, पाल्पा, तनहुँ लगायतका जिल्ला जाने, यसबारे घनिभूत अध्ययन गर्ने र स्थानीय आमा दिदीबहिनीमाझ बसेर प्राप्त ज्ञान र मिश्रित अनुभव आदानप्रदान गर्ने सोचमा रहेका छन् ।
सँगिनी नाच मूलतः आमा वा दिदीबहिनीहरूले स्थानीय भाका र लयमा गीत गाएर फन्को मार्दै छमछमी नाच्ने एक परम्परागत नृत्य हो । परस्पर मानवीय प्रेम र समर्पण रहेको सँगिनी नाचमा प्रयोग गरिने शब्द चयन, भाका र स्वरसहितको साधनाभित्र धार्मिक ग्रन्थहरूको सार पाइन्छ । जस्तै कि रामायण, महाभारत, गीता आदि जस्ता काव्य ग्रन्थहरूको सन्देशात्मक तथ्यलाई गीत र रैथाने लयमा परिणत गरी ताली बजाई बजाई नाच्ने गरिन्छ । सामाजिक मुद्दालाई पनि यसले कथावस्तुको रूपमा बोक्ने गर्दछ ।
पैराणिक कालका कथावस्तुहरू समेटिइएकोले सँगिनी गीत सुन्नमा कतिपयलाई आनन्द लाग्छ । मिठो मान्नुहुन्छ यहाँकी अग्रज आमा रमा काफ्ले । यसमा संस्कार, संस्कृति र नैतिक मूल्यमा आधारित आचरण पनि भएकोले पुस्ता हस्तान्तरण जरुरी भएको उनको तर्क छ । युवा उमेर समूहका नानीहरू लिएर सिकाइको उत्तराधिकारी निर्माण गर्न लागेको दृश्य अघि बहुविधाले आकर्षित उनी आफैँमा संगिनी ले पुस्तान्तरण हुन लागेकोमा ढुक्क हुनुहुन्छ ।
सँगिनी अन्य विधामा प्रयोग हुने गीत संगीत जस्तो केवल मनोरञ्जनको माध्यममात्रै होइन, सांस्कृतिक धरोहरको प्रतीक हो । जसले सामुदायिक एकता र सामाजिक सद्भावको पक्षपोषण गर्दछ ।
महिला जागरण हरिकीर्तन समूहले आफ्नो अभिनय र मञ्चनका क्रममा प्रयोगमा ल्याएका कतिपय सँगिनी गीत र संगीतमा संस्कार र संस्कृति आदि पक्षलाई नियाल्दा यसमा परम्पराको निरन्तरता मात्र छैन । आजको पुस्ताले मन पराउने कतिपय गीतभन्दा सामाजिक सद्भावयुक्त सहिष्णुता, देशभक्ति र राष्ट्रभक्ति पनि निर्देशित छ । यो आज निकै खड्कँदो पक्ष हो । आफैँमा सर्वाधिक राम्रो विषय पनि हो ।
पूर्वजनप्रतिनिधि देवीप्रसाद घिमिरे, भूवनेश्वर पोखरेल, उमकान्त खतिवडा, टंकप्रसाद पोखरेल, प्रेमप्रसाद नेपाल, चन्द्रप्रकाश अधिकारी, बलभद्र आचार्य, लोकनाथ गौतमसहितको प्रयासमा उठेको बालन समूहको सक्रियता सँगसँगै सँगिनी निर्माण र सञ्चालनमा सहकार्य गर्नु हुने देवीमाया लुइँटेल, टंक पोखरेल, यशोदा पोखरेल, निरा अधिकारी, मुना अधिकारी, सिता अधिकारी, पिंगला पोखरेल लगायतको भूमिका उल्लेख्य रहेको छ ।
सम्बद्ध सबैलाई हार्दिक सम्मान ।
View : 159
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved