विराटनगर । सुनसरी बर्जुतालमा वनभोज खानेले फोहर फाल्ने र चर्को ध्वनी बजाउने गरेकाले दुर्लभ चराको संख्या घट्न थालेको छ ।
युरोपदेखि उडेर चिसो मौसममा आउने दुर्लभ चरा बर्जुतालमा बर्सेनि घट्न थालेको पाइएको छ । कोशी पक्षी समाजले हरेक वर्ष बसाइ सरेर आउने चराको गणना गर्ने क्रममा बर्जुमा पनि संख्या घटेको पाइएको जनाएको छ ।
वनभोजमा आउनेले प्रयोग गरेर पानीमा फालेको नाइलनको जालोमा अड्किएर चरा मर्नेसमेत गरेका छन् ।
सोमबार चरा गणनाका क्रममा सुइरो ठोँडे (ओरियन्टल डाटर) चराको चुच्चोमा रातो रङको नाइनलको जाली बेरिएको फेला परेको छ ।
तालको किनारमा सो चराले करिव १० मिनेटसम्म बेरिएको जालो निकाल्ने प्रयास गरेको थियो । झारमा र माटोमा चुच्चो दलेर जालो हटाउने प्रयास बिफल भएपछि उडेर रुखमा बसेको थियो । चरा गणकहरुले आधा घण्टासम्म उनलाई नियालेका थिए ।
‘जाली निकाल्न सकेन अब यो चरा खान नसकेर केही दिनमै मर्न सक्छ’ कोशी पक्षी समाजका पुर्व अध्यक्ष अनिष तिम्सिनाले भने– ‘यसरी धरापमा परेका चराको उद्धार गर्ने ब्यवस्था नेपालमा मिलाइएको छैन ।’ रैथाने जातको बकुल्ला प्रजातिको अध्यारो रङ र घाँटीमा सर्प जस्तो देखिने यो रैथाने चरा हो ।
युरोपदेखि उडेर जाडो छल्न आउने चरा पनि यस्ता धरापमा पर्न सक्ने उनको भनाइ छ । यस वर्ष बर्जुतालमा नेपालमा हत्तपत्त नभेटिने चरा ठुलो सिलसिले हाँस (फल्बस ह्विस्लिङ डक) भेटिएको छ ।
नेपालमा अन्तिम पटक सन् २००० मा कोशीटप्पुमा फेला परेपछि २२ वर्षपछि कोशी मै सन २०२२ मा ठूलो सिलसिले भेटिएको थियो ।
सानो सिलसिले भनें रैथाने चरामा पर्छ । बर्जुतालमा ५ वटाको संख्यामा यो चरा देखिएको कोशी पक्षी समाजका अध्यक्ष चक्र तिम्सिनाले बताए ।
नेपालमै दुर्लभ मानिने रिभरटर्न र बैकलटील नामका दुई जातका चरा फेला बर्जुमा तीन वर्षअघि २०७८ को चरा गणनामा भेटिएका थिए । दुबै चरा नेपालमा दुर्लभ प्रजातिमा परे पनि सिमसार क्षेत्रहरुमा यदाकदा देखिने गरेका छन् ।
यी चरा जाडो छल्न हिमाली देशहरुबाट लामो यात्रा तय गरेर नेपाल आउंने गरेका हुन् । जाडो सकिने बेलामा उनीहरु आङ्खनो बासस्थान युरोपसम्म उडेर फर्कन्छन् ।
बर्जुतालमा आन्तरिक आम्दानीका लागि वनभोज खानदिने गरिएकाले उनीहरुले बजाउने माइकका कारण यस्ता दुर्लभ चरा आउन छाडेको अध्यक्ष तिम्सिनाको भनाइ छ ।
चरा गणनामा सहभागी कोशीटप्पुका चराप्रेमी इन्दिरा कार्कीले चराको बासस्थान कम्जोर हुँदै गएकाले बर्जुमा बर्सेनि चराको संख्या कम हुँदै गएको बताइन् ।
संख्यामा सामान्य कमी आए पनि बर्जुतालमा नजिकैबाट धेरैको संख्यामा चरा अवलोकन गर्न सकिने उनको भनाइ छ । चराको राजधानी कोशीटप्पुमा भनें बर्जुतालमा जसरी एकै ठाउँ ठुलो संख्यामा चरा कम देखिन्छ ।
चरा गणनामा सहभागी राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राबिधिक सुरेश शाही कोशीटप्पु र बर्जुतालको चराको अवस्था देखेर आफू चकित भएको बताउँछन् ।
दुर्लभ चराहरु आफूले यहाँ जस्तो नेपालका अन्य भागमा ठूलो संख्यामा देख्न नपाएको बताउँदै उनले सानो ठाउँमा धेरै चरा अवलोकन गर्न बर्जुताल उपयुक्त भएको बताए ।
View : 61
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved