Biratnagar, Morang, Nepal
२६ पुष २०८१, शुक्रवार
+977 21 450305, 515728, 578305
कोशी

कांग्रेस कोशी सम्मेलन

झनै छताछुल्ल भयो गुटगत तिक्तता

उद्‌घोष सम्वाददाता
२३ मंसिर २०८१, आइतवार

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशले पहिलो प्रदेश सम्मेलन आयोजना गर्नुको एउटा मुख्य उद्देश्यमा भनेको थियो, सम्मेलनले पार्टीलाई झनै बलियो बनाउनेछ । तर, सम्मेलनको उद्घाटनसम्म आइपुग्दा भने प्रदेश समितिको लक्ष्य विपरीतको अवस्था विकसित भएको छ ।

पार्टीभित्रको गुटगत लडाइँ र तीक्ततो कोशी प्रदेश सम्मेलनमा झनै छताछुल्ल भएको छ । संस्थापन पक्ष र शेखर कोइराला पक्षबीचको गुटगत तीक्तता प्रदेश सम्मेलनको मञ्चमा प्रष्ट पोखियो । 

दिनभरी नेताहरूको भाषण सुनिरहेका कांग्रेस कार्यकर्ताहरूले सहजै लख काटे, पार्टीभित्र यतिबेला गुटगत लडाइँ उत्कर्षमा रहेछ ।

शनिबार विराटनगरको बरगाछीस्थित एउटा होटलको सभाहलमा भएको कार्यक्रमको उद्घाटन सत्रमै ४० जना वक्ताहरू थिए । ती सबै वक्ताको जोड एकताबद्ध कांग्रेस बनाउनु पर्नेमा थियो । यद्यपि त्यस्तो जोड दिँदै बोल्ने नेताहरू नै बीचमा गुटगत तीक्तता देखाएइहाल्थे । संस्थापन पक्ष होस् या इतर दुवै पक्षका नेताहरूले आफ्नो पक्षको बचाउ र अर्को पक्षको आलोचना गर्न कुनै कसर बा“की राखेनन् ।

कार्यक्रमको उद्घाटन सत्र सुरू हुनुअघि नै नेता शेखर कोइराला सम्मेलनमा नआउने सूचना फैलिइसकेको थियो । शुक्रबार दिउँसोसम्म विराटनगरमै रहेका नेता कोइराला सोही दिन काठमाडौं गएर शनिबार बिहान चितवनतिर लागेका थिए । आफ्नै गृहनगर विराटनगरमा पार्टी प्रदेशको सम्मेलन चल्दै गर्दा कोइराला भने चितवनको एउटा शोकसभामा सहभागी हुन भन्दै त्यता गएका थिए । 

उद्घाटन सत्र जसै सुरू भयो, सम्मेलनको उद्घाटन सत्रको एउटा मुख्य विषय कोइराला नै बने ।

कोइराला पक्षका नेताहरू केन्द्रीय सदस्य सरिता प्रसाइँ, मोरङ सभापति डिगबहादुर लिम्बू, डा. सुनिल शर्मालगायतले बोल्ने क्रममा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संस्थापन पक्षले एकोहोरो पेलेको गुनासो गरे । मोरङ सभापति लिम्बूले त सभापति शेरबहादुर देउवा सामुमै कारबाही गरेर देखाउन चुनौतीसमेत दिए ।

केन्द्रीय सदस्य प्रसाइँले सम्मेलनमा शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा र कोइराला पक्षका नेता बलबहादुर केसीलाई खोजेकी थिइन् । उनीहरूको नामै लिँदै प्रसाइँले सोधिन् ‘खै आफ्नै प्रदेशको सम्मेलनमा उहाँहरू ? पार्टीले आउने वातावरण बनाउनुपर्छ ।’ 

उनले भनेकामध्ये महामन्त्री शर्मा भने पूर्वनिर्धारित कार्यक्रममा खुम्बु यात्रामा गएका थिए । उनले पठाएको शुभकामना सन्देश प्रदेश महामन्त्री भूपेन्द्र राईले पढेर सुनाएका थिए । तर, कोइराला र केसी भने आफ्नै प्रदेश सम्मेलनमा उपस्थित रहेनन् । 

उनीहरूभन्दा पछाडि बोल्ने संस्थापन पक्षका नेताहरूले डा शेखर कार्यक्रममा अनुपस्थित रहेको विषयलाई निको मानेनन् । 

संस्थापन पक्षका मात्रै होइन, कोइराला पक्षकै महामन्त्री गगन थापाले समेत शेखर समूहको शैलीप्रति असन्तुष्टि प्रकट गरे । महामन्त्री थापाले विराटनगरमा समानान्तर रूपमा भेला आयोजना गर्ने कोइराला पक्षको कदमप्रति असन्तोष प्रकट गरेका थिए । 

‘केही समयअघि रूपन्देहीको क्षेत्रीय समितिले देशभरका १६५ वटै क्षेत्रका सभापतिहरूको भेला बोलाउँछु भन्यो, हामीले नगर्नुस् भन्यौं । बरू केन्द्रले त्यसको आयोजना गरिदिन्छ, तपाईंहरू बरू संयोजन गर्नुस् भन्यौं । कास्कीले पनि ७७ वटै जिल्ला सभापति बोलाउँछु भन्यो हामीले त्यसै भन्यौं’, महामन्त्री थापाले भने ‘भेला गर्न पाइन्छ । देशैभरी घुम्न पनि पाइन्छ । तर, संयोजन (पाटीसँग) नगरी त्यस्ता कार्यक्रम नगरौं ।

विराटनगरको कुनै वडा समितिले सबै वडालाई बोलाएर सम्मेलन गर्दिन्छु भन्यो भने, महानगर समितिले के गर्छ ? मोरङको कुनै पालिकाको सभापतिले सबै पालिका सभापति बोलाएर जिल्ला सभापति नबोलाई वा सुनसरीको सभापति बोलाएर भेला ग¥यो भने के हुन्छ ? केन्द्रले भनेको यति मात्रै हो ।’ 

कोइराला पक्षले प्रदेश सम्मेलनको मुखैमा मंसिर १८ मा विराटनगरमा कोशीका पालिका सभापतिहरूको भेला आयोजना गरेको थियो । त्यसलाई पार्टी केन्द्रले वैधानिकता दिन अस्वीकार गरेको थियो । त्यसको संयोजन कांग्रेस विराटनगर महानगर समितिले गरेको थियो । 

‘हामी पनि बागी विद्रोही भएरै आएको हो । मेरो कुरा सबै मिलेर पार्टी सम्हालौं भन्ने हो’, थापाले थपे ‘यो मञ्चमा भर्खरै सकिएको निर्वाचनको पनि एकांकी समीक्षा भयो ।

मञ्चमा बोल्ने जति सबैले पालैपालो कांग्रेस हारेको छ भनेको छ, मुलुकैभरी सिनित्तै भए जस्तो कुरा गरेको छ । कति ठाउँ हार्यौं हामी ? कोसँग हिसाब छ ?’ उनले आफूअघि बोलेका नेताहरूको निराशाजनक अभिव्यक्तितिर लक्ष्य गर्दै भने ‘अहिले जहाँ हारियो भन्दै हुनुहुन्छ, त्यहाँ पहिलेभन्दा मत बढेको छ । फरक ठाउँमा फरक फ्याक्टरहरू छन् । ग्रामथान बारे यहीँ छलफल गर्नुस् । यहा“ आएर बसेर पालैपालो हा¥यो हा¥यो भनेको छ । यसो नगर्नुस्, मेरो आग्रह छ ।’

कांग्रेसको इतिहासमा पहिलोपटक हरेक वर्ष पार्टी सदस्यता नविकरण गर्ने क्रम सुरू भएको जानकारी दिँदै सबैले काम गर्नुपर्ने थापाको भनाइ थियो ।

‘पार्टी सदस्यता नविकरण गरेर फारम बुझाउने अहिले नेपालभरीमा जम्मा एउटा क्षेत्र मात्रै छ, संयोगले त्यो क्षेत्र मेरै निर्वाचन क्षेत्र हो’, उनले भने ‘१६५ क्षेत्रकै नेताहरू यहाँ कोही मञ्चमा हुनुहुन्छ । कोही तल हुनुहुन्छ । कोही यहाँ हुनुहुन्न । क्षेत्रहरूमा पार्टी काम कति भएको छ भन्ने विषय मैले यहाँ खुलाएँ भने मञ्चमा बसेको, तल बसेको, यहाँ नआएको साथी पनि आफै ढल्नुहुन्छ । त्यस्तो अवस्था छ पार्टीमा । त्यसैले काम सबैले गरौं ।’ 

महाविधेशनमा फरक समूह बनाएर चुनाव लडेपछि जितहार जे भए पनि स्वीकार्ने र पार्टी काममा लाग्नुपर्ने थापाको भनाइ थियो । 

‘पार्टीमा लडौं, बहस गरौंं, छलफल गरौं तर पार्टीमा एकता अनिवार्य छ । यो पनि बुझौं । सभापतिले पनि सबैलाई मिलाएर लैजानुपर्छ जित्ने हार्ने सबैलाई । तर, अस्ति किन मत नदिएको भनेर अहिले सभापतिसँग मञ्चमा सँगै नबस्ने भन्ने हुँदैन’, थापाले भने ‘सभापतिसँग अहिले पनि कति कुरा मिल्दैन । समेट्नुपर्छ भनिरहेका हुन्छौं । कराइरहेका हुन्छौं । तर, यसो भन्दै गर्दा आफ्नो भागमा परेको कामको जिम्मा पनि त लिनुप¥यो ।’ 

कार्यक्रममा बोल्ने क्रममा सहमहामन्त्री भीष्मराज आङदेम्बेले कोइराला निवासको विरासत थाम्छु भन्नेहरूले सो अनुसार व्यवहार नगरेको आरोप लगाए । 

बोल्ने क्रममा भक्कानिएका उनको गला पटकपटक अवरूद्ध भएको थियो । 

‘आज कोइराला निवासलाई इतिहासले जुन विरासत दिएको छ, बूढानीलकण्ठलाई त्यो जिम्मेवारी दिएन । इतिहासले चाबेललाई आफ्नो विरासत सम्झेन । यद्यपि गिरिजाबाबुले त्यहीँबाट लोकतान्त्रिक गणतन्त्रको दिशा कोर्नु भएको थियो’ उनले भने ‘हाम्रा सभापति पाँच पटक प्रधानमन्त्री बन्नुभयो, छैटौपटक बन्नुहुन्छ । तर, कोइराला निवास र चाक्सीबारीलाई इतिहासले जुन विरासत सम्झिएको छ त्यस्तो बूढानीकलण्ठलाई सम्झिन्न । प्रत्येक कांग्रेस कार्यकर्ताले कोइराला निवास र चाक्सीबारीको विरासत सम्झिन्छ । खाली विरोध बोलेर हुँदैन । जसरी इतिहासले त्यस्तो विरासत अरूलाई दिएको छैन, कोइराला निवास र चाक्सीबारीलाई दिएको छ, त्यहाँको अनरसिप लिन्छु भन्ने साथीहरूले नेताहरूले आफूलाई पनि त्यही ढंगबाट प्रस्तुत गर्नुपर्दछ ।’ 

यसरी कार्यक्रमका ४० जना वक्ताहरूमध्ये संस्थापन पक्षका मीन विश्वकर्मादेखि प्रकाशशरण महतसम्मले पनि कोइराला पक्षको गतिविधिप्रति असन्तोष जनाएका थिए भने कोइराला पक्षका थोरै वक्ता रहेकाहरूले संस्थापन पक्षप्रति रोष प्रकट गरे । यसलाई कार्यकर्ताहरूले भने रूचिकर ठानेनन् । 

‘भए जति नेताहरू पार्टी एकताबद्ध गरौं भन्ने अनि मञ्चबाट चाहिँ आरोप्रत्यारोप गर्ने शैली फेरि दोहोरियो’, सम्मेलनमा आएका झापाका कांग्रेस कार्यकर्ता रूपसागर अधिकारीले भने ‘यस्तो पाराले पार्टी बलियो हुन्छ ?’
सभापति देउवाले आफ्नो बोल्ने पालोमा महामन्त्री गगन थापाले सभापति कम बोल्नुहुन्छ भनेको विषयलाई ठट्यौलो पारामा जवाफ फर्काए । 

देउवाको प्रत्युत्तर थियो, ‘महामन्त्रीले मलाई कम बोल्ने भन्नुभयो । ठीकै हो । बढी बोल्ने मानिस आफू सकिन्छ । तर, कम बोल्नेले अरूलाई सक्छ ।’ 

सभापति देउवाले यसो भन्दा पनि सहभागीहरू हाँसे । 

संस्थापन पक्षका धेरैजसो नेताले प्रदेश सम्मेलनमा शेखर कोइराला अनुपस्थित रहेकोबारे टिप्पणी गरे पनि देउवाले भने शेखर कोइरालाबारे कुरै उठाएनन् । बरू देउवाले प्रधानमन्त्री केपी ओली र सरकारले राम्रो काम गरेको भनेर प्रशंसा गरे ।

‘अहिले बीआरआईको कुरा उठिरहेको छ । सुझबुझपूर्ण रूपमा सम्झौता भएको छ’, उनले भने ‘ऋणभन्दा पनि अनुदानको रूपमा सुविधा लिने विषय हो । ओलीजीले त्यही ढंगले सम्झौता गर्नुभयो । हामीले अब धेरै ऋण लिएर परियोजना चलाउने अवस्था नभएको भनेको हो ।’ 

अहिलेको अवस्थामा कोहीसँग पनि नेपालले ऋण लिने अवस्था नभएको देउवाको भनाइ थियो । 

‘नेपालले विकासका निम्ति एडीबी, आईएमएफलगायत अन्तर्राष्ट्रिय दातृनिकायसँग ऋण लिएको छ, लिने गरेको छ तर अब धेरै लिन सक्ने अवस्था छैन’, उनले भने ‘ओलीजीले राम्रो काम गर्नुभएको छ । राम्रोलाई राम्रो भन्नुपर्छ । बीआरआईमा पनि राम्रो सहमति भएको छ । अब यो गठबन्धन पूरा समयसम्म रहन्छ । केही समस्या भए छलफल हुन्छ ।’ 

शनिबार साँझ भएको बन्द सत्रमा प्रदेश महामन्त्री उमेश थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, अर्का महामन्त्री भूपेन्द्र राईको सांगठनिक प्रस्ताव र कोषाध्यक्ष राजेश गुप्ताले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ ।

View : 146

Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved