विराटनगर
महंगो मूल्यमा खरिद गरिएका मेसिनहरु प्रयोगविहीन भएर खिया लाग्दा कृषिमा यान्त्रिकीकरणका लागि खर्च गरिएको अर्बौ रकम विना सुझबुझ खर्च भएको देखिएको छ । लागतमा कमी र उत्पादकत्वमा वृद्धिका लागि कृषिमा यान्त्रिकरण हुनुपर्ने धारणालाई अङ्गीकार गरी सरकार तथा कृषिमा कार्य गर्दै आएका संघसंस्थाहरुले खरिद गरेका आधुनिक मेशिनहरु प्रयोगविहीन भएर खिया लाग्दा अर्बौ रकम अनावश्यक खर्च भएको हो ।
नेपालमा सबैभन्दा बढी एघार करोड रकम बराबरको आधुनिक कृषि यन्त्र खरिद गरेको जीवन विकास समाज मोरङको जमिन सम्याउने मेशिन प्रयोगविहीन भएर खिया लागेको छ । जग्गा सम्याउन सकिने मेसिन भारतबाट खरिद गरेपनि यहाँ प्रयोग नभएर खिया लागेको जीवन विकास समाजका पूर्व अध्यक्ष एवम् मोरङ ५ का प्रतिनिधिसभाका सांसद योगेन्द्रप्रसाद मण्डलले बताए ।
बुधबार जीवन विकास समाज मोरङले आयोजना गरेको कष्टम हायरिङ सम्वन्धि एकदिने राष्ट्रिय कार्यशालमा बोल्दै संघीय कृषि समितिका सदस्यसमेत रहेका सांसद मण्डलले सबै क्षेत्रमा विज्ञको कमीले गर्दा त्यस्ता मेशिन खरिद हुने गर्दा देश अगाडि नबढेको बताउँदै अब सबैले आ–आफ्नो क्षेत्रलाई राम्रो बनाउन लागिपर्नु पर्ने सुझाव दिए ।
कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनीकरण परियोजनाका वरिष्ठ कृषि इञ्जिनियर डा जीतबहादुर चन्दले नेपालमा भएका कृषि यन्त्रहरुको प्रयोग कार्यक्षमताको पचास प्रतिशत भन्दा कम हुने गरेको बताउँदै विकसित देशमा ९० प्रतिशत हुने गरेको बताए । उनले उर्जा खपतको आधारमा आधुनिक सामग्रीको प्रयोगको मापन गरिने र बढी उर्जा खपत गर्ने बढी आधुनिक र विकसित देश हुने उनले स्पष्ट पारे । जापान जस्ता विकसित देशमा कृषिमा उर्जाको प्रयोग ८–१० किलो वाट प्रतिहेक्टर हुने गरेकोमा भारतमा २.५ देखि ५ र नेपालमा ०.८ किलो वाट प्रतिहेक्टर मात्र हुने गरेको बताए ।
डा चन्दले परियोजनाले ८ वर्षको अवधिमा देशका ७७ वटै जिल्लामा ५५ हजार मेशिनरी सामग्री वितरण गरेको भए पनि पूर्ण कार्यक्षमतामा कार्य नहुँदा कृषिमा आधुनिकीकरण हुन नसकेको बताए ।
कृषिमा यान्त्रिकीकरणका लागि किसानले सहज, सस्तो र कम समयमा नै कृषि यन्त्र प्राप्तीका लागि जीवन विकास समाजले कष्टम हायरिङ सेवा प्रदान गर्दै आएको समाजकी अध्यक्ष रिबोलदेवी मण्डलले बताइन् । कस्टम हायरिङ सेन्टरले ‘आधुनिक खेती’ नामको एप्स समेतको सेवा दिई घरमा बसीबसी नै कृषियन्त्र बुकिङ, प्रयोग बारेमा सेवा लिन सकिने व्यवस्था रहेको छ । सो एप्स निर्माणकर्ता फिनटचका गोपालकुमार साहले अहिले सो एप्सको सेवा जीवन विकास समाजका अतिरिक्त इटहरीको सगुन र बर्जुको सवल कृषि सहकारीले लिइरहेको बताए ।
सो अवसरमा विज्ञ डा मधुसुधन भट्टराईले कष्टम हायर केन्द्रले प्रयोग गर्ने मेशिनको प्रयोग सम्वन्धी मधेशका १५ जिल्लाको स्थलगत भ्रमण गरी सोको आधारमा तयार पारिएको प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कृषिमा यान्त्रीकरण र डिजिटल गर्न सकिएमा युवालाई देशमा राख्न सकिने र महिलामैत्री सेवाका लागि उपयोगी हुने देखिएको बताए ।
उद्योग तथा कृषि मन्त्रालय कोशीका योजना तथा अनुगमन विभाग प्रमुख पशुपति पोखरेलले प्रदेश सरकारले प्रदेशले ठूलो मात्र सहयोग गर्ने अवस्थामा नरहेकाले हाल जीवन विकाससहित पाँच वटा संस्थालाई मात्र सहयोग गरेको बताए ।
सहज परियोजनाकी रिमा श्रेष्ठले कृषि यन्त्रहरु मर्मत र संभारका लागि विदेशी प्राविधिक मगाउनु पर्ने समस्यालाई दुर गर्न स्वदेशीलाई तालिम दिन कार्यशालाका लागि काम गरिरहेको बताइन् ।
कार्यक्रममा जीवन विकास समाज (मुनाफा वितरण नगर्ने कम्पनी) का अध्यक्ष अजयकुमार मण्डल, कार्यकारी निर्देशक कुलमणि तिम्सिनाले जीवन विकासले कृषिमा यान्त्रिकीकरणकोमार्फत देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन एवम् कृषकको आम्दानी वृद्धि गर्न कष्टम हायरिङ सेवा दिंदै आएको बताए ।
कस्टम हायरिङ सम्वन्धि सो कार्यशालामा सरकारी प्रतिनिधि, देशका विभिन्न क्षेत्रबाट कृषि सम्वन्धि विज्ञ, प्राध्यापक, किसान, इञ्जिनियर, अनुसन्धानविद, डिजिटल सेवा प्रदायको समेत सहभागिता थियो । कृषिमा प्रयोग हुने मेशिन किसानलाई व्यवस्था गराउने, परामर्श दिने, मर्मत सम्भार गर्ने कार्य गर्दै आएको कष्टम हायर केन्द्रले गरेको यो नै कष्टम हायरिङ सम्वन्धि पहिलो राष्ट्रिय कार्यशाला भएको तिम्सिनाले बताए ।
View : 60
Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved