Biratnagar, Morang, Nepal
६ मंसिर २०८१, बिहिवार
+977 21 450305, 515728, 578305
खेलकुद

दीपाले तोडिन् आइबीपीका सबै रेकर्ड, जितिन् ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल

बाबुराम भण्डारी
९ पुष २०८०, सोमवार

विराटनगर । भारतको हैदरावादमा सम्पन्न भएको १०औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा मोरङको सुन्दरहरैंचा–११ की दीपा बिष्टले ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकी छन् । हैदरावादस्थित लालबहादुर शास्त्री रंगशालामा आयोजित च्याम्पियनसिपमा उनले युरोप, अमेरिका र एसियाका १६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै उक्त टाइटल जितेकी हुन् ।

उनले महिलातर्फ अहिलेसम्म कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई यो उपाधि दिलाएकी हुन् । उनी च्याम्पियनसिपका ठुला तीन वटा तौल समूहका सबै प्रतिष्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरू समेत तोड्न सफल भइन् ।

नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) भर्खरै अघि बढेको खेलका रुपमा चिनिन्छ । राष्ट्रिय खेलकुद परिषद्ले खेलका रूपमा समेत मान्यता नदिएको भन्दै स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस खेलसम्वद्ध सरोकारवालाहरूले असन्तुष्टि व्यक्त गर्दै आएका छन् । खेलाडीहरूले भने नेपालको झण्डा फहराएर अन्तर्राष्ट्रिय प्रतिस्पर्धामार्फत पदक भित्र्याइरहेका छन् ।

दीपाले २०७९ भदौ २० मा किर्गिस्तानमा सम्पन्न भएको अन्तर्राष्ट्रिय स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस(आईबीपी) च्याम्पियनमा पनि आईबीपीतर्फ सिनियर समूह अन्तरगत ७२ केजी उचालेर स्वर्ण पदक दिलाएकी थिइन् । सोही प्रतियोगितामा उनले स्ट्रेन्थलिफ्टिङमा रजत पदक जितेकी थिइन् ।

उनले प्राप्त गरेको स्वर्ण पदकले नेपालमा स्ट्रेन्थलिफ्टिङ एण्ड आईबीपी खेललाई अन्तर्राष्ट्रियकरण गर्न त्यतिबेला महत्वपूर्ण योगदान गरेको थियो । दीपाले यस पटक पनि आइबीपीतर्फ सबैभन्दा ठुलो उपाधि हात पारिन् ।

‘मैले सबैभन्दा बढी ८५ केजी र प्लस ५ केजी गरेर जम्मा ९० केजी उचालेको हो’ उनले भनिन्, ‘८५ केजी उचालेपछि आफ्नै रेकर्डमा थप रेकर्ड कायम गर्ने साहस निकालेँ, पहिलो प्रतिष्पर्धामा ७७ दशमलव ५, दोस्रोमा ८० र तेस्रोमा ८५ केजी उचाल्दै गोल्ड मेडल प्राप्त गरेँ, अनि ९० केजी उचालेर वर्ल्ड स्ट्रोङगेस्ट वुमन टाइटल जित्न सफल भएँ ।’

आइबीपीमा अहिलेसम्म ७२ दशमलव ५ केजी माथिको तौलमा अन्तर्राष्ट्रिय रेकर्ड नरहेको जानकारी दिंदै उनले ९० केजी उचालेर किर्तिमान कायम गरेकी हुन् । दीपाले आफ्नो सफलताका लागि सवैभन्दा बढि मेहनत र सहयोग आफ्नो गुरु रुजेश शाहीबाट भएको बताइन् । शाहीले संचालन गरेको काठमाडाैंस्थित डिभाइन फिटनेश कालिमाटीबाट नै उनले यस खेलका लागि आफुलाई तयार पारेकी थिइन् ।

इन्क्लाइन बेन्च प्रेस (आइबीपी) खेल जिमखानामा छातीको एक्सरसाइज गर्दा प्रयोग गरिने इन्क्लाइन बेन्च प्रेसमै करिब ३५ डिग्रीमा उत्तानो सुतेर दुबै हातले तौललाई माथि उचाल्ने क्षमता प्रदर्शन गरिने खेल हो ।

विश्वमा यो खेल भारतको कलकत्ताबाट सुरु भएको मान्यता रहेको छ । सन् २००४ मा सुरु भएको यो खेल भारतमा लोकप्रिय खेलका रुपमा विकास हुँदै गएको जनाइएको छ । 

विश्वमा अहिलेसम्म २० वटाभन्दा बढी देशहरूमा स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी)  खेल औपचारिक रुपमा खेलिन थालेको यो खेल क्षेक्रका व्यत्तिहरूले बताउँदै आएका छन् । नेपालमा भने सन् २०२१ देखिमात्रै यो खेल सुरु भएको जनाइएको छ ।

हैदरावादमा पुस २ देखि ६ गतेसम्म आयोजना भएको च्याम्पियनसिपमा नेपालले कुल १६ स्वर्ण, १४ रजत र ४ वटा कास्य पदक जितेको थियो । 

दीपाले यस पटक पनि नेपाललाई विश्वभर चिनाउने गरी आफूले च्याम्पियनसिपमा प्रतिष्पर्धामा उत्रिएर सफलता समेत हात पारेको बताइन् । उनलाई अघिल्लो वर्ष सुन्दरहरैंचा नगरपालिकाले केही खेल सामग्रीहरू उपलब्ध गराएको थियो । 

नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लगातार गोल्ड मेडल प्राप्त गरे पनि दीपाले संघ र प्रदेश सरकारबाट भने प्रोत्साहन पाएकी छैनन् । प्रदेश सरकारले बर्सेनि खेलाडी सम्मान गर्दै आए पनि उनी अहिलेसम्म सरकारको नजरमा परेकी छैनन् ।

View : 255

Udghosh Daily प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१० सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१
सम्पादक : बन्धु पोखरेल

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved