विराटनगर । खेतबारीमा झुल्ने अन्नपातको फसलमा पनि उनी उत्साह देख्छन् । घर नजिकैको बङ्गुर फार्ममा हुर्किरहेका बङ्गुरका पाठाहरु उफ्रिँदै गर्दा उनको खुसीको ब्यारोमिटर पनि उकालिंदै गरेको हुन्छ ।
मोरङ जहदा गाउँपालिका–७ सिर्सियाका धनलाल मड्डीको खेतबारी र पशुपालनको खोरले उनको खुसी किन पनि बढाइरहेको छ भने यही कृषिकर्मकै आडमा उनी आफ्ना सन्तानलाई विदेशमा पढाइरहेका छन् ।
कुनैबेला जीवन धान्न पनि मुश्किल पर्ने कृषिकर्मको आयस्ताले अहिले सन्तानलाई विदेश राखेर पढाउने अवस्थामा पुर्याएपछि उनको कृषिप्रतिको अगाव र श्रद्धा दुवै चुलिएको छ । उनका दुई छोरा विदेशमा बसेर पढिरहेका छन् ।
‘घरको खर्च र छोराछोरीको पढाइ खर्च फार्मको आम्दानीले मज्जाले धानेको छ’ उनले भने, ‘जेठो छोरा मलेसियामा होटल व्यवस्थापन र कान्छा छोरा भारतमा आईटी पढ्दैछन् । छोरी स्कुल पढ्दैछिन् ।’
पछिल्लो चार वर्षयता उनले कृषिसँगै बङ्गुरपालन पनि गरिरहेका छन् । अहिले उनको दैनिकी फेरिएको छ । व्यस्तता बढेको छ ।
‘खेती गर्दा सिजनमा मात्रै काम हुन्थ्यो, अरु बेला फुर्सद’ उनी भन्छन्,‘ बङगुरपालन थालेपछि काम टुटेको छैन ।’
कृषिकर्मबाट तरक्की गर्नमा उनलाई व्यवसायिक सीपले सघाएको बताउँछन् । २०७७ सालबाट बङ्गुरपालन सुरु गरेका उनको फार्ममा उन्नत जातका बङ्गुर छन् । अहिले ८ वटा उन्नत जातका बङ्गुरका माउ छन् ।
बिक्री गर्ने तयारी अवस्था र हुर्कंदै गरेका बिरभुनि (पाठापाठी) देखाउँदै उनले फार्म संरचना विस्तार गर्ने योजना पनि सुनाए ।
विस्तार गरेको संरचनामा ५० वटा बङ्गुर अटाउने बताउने उनलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरिरहेको छ ।
बङ्गुर बिक्रीका लागि उनलाई बजारको समस्या छैन । विराटनगर, इटहरी र कटहरीको नयाँ बजारका व्यापारी गाडी लिएर उनको घरसम्म पुग्छन् ।
‘व्यवसायमा बजारको समस्या छैन, व्यापारी घरमै गाडी लिएर आउँछन्’ उनी भन्छन् ‘फारामबाटै लैजान्छन् भाउः पनि राम्रै छ ।’
उनले अहिले दुई वटा पोखरीमा माछापालन पनि गरिरहेका छन् । खेतीसँगै बङ्गुर र माछाबाट राम्रो आम्दानी भइरहेको उनले बताए ।
चार वर्षअघि सुरु भएको फार्मलाई विस्तार गर्दै १०० वटा माउ बङ्गुर पाल्ने धनलालको योजना छ । बजारमा बङ्गुरको मासुको माग धेरै भएकाले विस्तार गर्ने योजना रहेको उनले बताए ।
View : 98
Copyright © 2023 -2025. Udghosh Daily. All Rights Reserved