Biratnagar, Morang, Nepal
५ असोज २०८१, शनिवार
+977 21 450305, 515728, 578305
राजनीति

कोशीमा हिक्मत कार्की नेतृत्वको अर्को सरकार गठन गर्न यस्तो छ एमालेले दाबी गरेको बाटो (पत्रसहित)

बाबुराम भण्डारी
२६ चैत २०८०, सोमवार

Advertisement

विराटनगर । कोशी प्रदेशमा नयाँ वैकल्पिक सरकार गठनका लागि लागि नेकपा एमालेले प्रदेश प्रमुख समक्ष कानुनी आधारसहित दाबी प्रस्तुत गरेका छन् । 

केदार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमालेका ३९ सांसद र सरकारमै सहभागी भएको नेकपा माओवादीका तीन मन्त्रीको राजिनामा तथा समर्थन फिर्तासँगै अर्को वैकल्पिक सरकार गठन गर्न पर्याप्त संवैधानिक र कानुनी आधार रहेको भन्दै उनीहरूले प्रदेश प्रमुखसँग जिकिर पेश गरेका हुन् ।

नेकपा एमाले सम्वद्ध ३९ जना सांसदहरूको हस्ताक्षरसहित प्रदेश प्रमुख परशुराम खापुङ्‍ग समक्ष बुझाइएको पत्रमा सर्वोच्च अदालतको २०७८ असार २८ को फैसलालाई नजिरका रुपमा उल्लेख गरिएको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतिरमण भण्डारीले सर्वोच्चको संवैधानिक इजलासको उक्त फैसलाले नेपालको संविधानको धारा ७६ को उपधारा (१) देखी (७) सम्मको प्रावधानहरूको उल्लेख गर्दै संघीय सरकारको गठन विघटनको बारेमा व्याख्या गरेको भन्दै ध्यानाकर्षण गराए । 

उनले संविधानको धारा ७६ र सो धाराका उपधाराहरू र प्रदेश सरकारको गठन तथा विघटन सम्बन्धी व्यवस्था हुबहु जस्ताको तस्तै मिल्दोजुल्दो भएको अर्थात धारा ७६ को व्याख्या गर्दा जे जस्ता सिद्धान्त प्रतिपादन भए सोही सिद्धान्त धारा १६८ मा पनि जस्ताको तस्तै लागू हुने दाबी गरेका हुन् ।

उक्त फैसलाको बुँदा बुँदा नम्बर ८६ मा संविधानको धारा ७६ को उपधारा (५) मा रहेको प्रावधानले दलीय समर्थनको आधारमा मात्र प्रधानमन्त्री पदमा नियुक्ति हुने कुरालाई शर्तको रुपमा उल्लेख गरेको नदेखिने व्याख्या छ ।

सोही बुँदामा भनिएको छ– ‘यस उपधारा अनुसार प्रदान गरिने समर्थन वा व्यक्त गरिने विश्वास दलीय निर्णयको आधारमा पनि गर्न सकिन्छ, साथै प्रतिनिधि सभाका सदस्यहरूले आफ्नो स्वतन्त्र विवेक र बुद्धिमत्ता प्रयोग गरेर पनि समर्थन वा विश्वास व्यक्त गर्न सक्ने देखिन्छ । यसरी दिइएको समर्थन वा विश्वास चिरस्थायी नै हुनु पर्दछ भन्ने पनि हुँदैन, अवस्था र परिस्थिति अनुसार दिइएको दलीय वा व्यक्तिगत समर्थन फिर्ता लिन पनि सकिन्छ ।’

साथै सरकार गठनको विकल्प रहेसम्म संसद् विघटन गरेर राजनीतिक अस्थिरता आउन नदिने अभिप्रायबाट धारा ७६ (५) को व्यवस्था संविधानमा समावेश गरिएको पनि स्पष्ट उल्लेख छ ।

एमालेले सर्वोच्चको सोही व्याख्यालाई टेकेर मुख्यमन्त्री केदार कार्कीले बहुमत सदस्यको विश्वास गुमाई सकेकोले कोशी प्रदेश सभाका बहुमत सदस्यहरू एमालेका प्रदेश सभा संसदीय दलका नेता हिक्मत कुमार कार्कीलाई अर्को वैकल्पिक सरकारको नेतृत्व गर्न कोशी प्रदेश सरकार मुख्यमन्त्री पदमा नियुक्तिका लागि आवश्यक प्रकृया अगाडि बढाउन प्रदेश प्रमुख समक्ष दावी प्रस्तुतिका लागि अनुरोध गरेका हुन् ।

एमालेले मुख्यमन्त्री कार्कीलाई २०८० कात्तिक १ गते दलका सरकारमा सहभागी भएका माओवादी केन्द्रका मन्त्रीहरूले समेत आजै पदबाट राजिनामा दिइसकेको र समर्थन फिर्ता लिएका कारण सरकार पूर्ण रुपमा अल्पमतमा परेको जनाएको छ ।

View : 377

Get In Touch

Biratnagar, Morang, Nepal

+977 21 450305, 515728, 578305

udghosh@gmail.com

Copyright © 2023 -2024. Udghosh Daily. All Rights Reserved