रुविना श्रीकार
«पर्खाइ मिठो हुन्छ, जब फर्किने मान्छेले बाटो बिर्सिएको हुँदैन।
म पनि सुन्दर परिवार, मायालु श्रीमान् र दुई छोरीसँग उज्ज्वल भविष्यको सपना बोकेर उहाँको प्रतीक्षामा थिएँ। तर त्यो पर्खाइ कहिल्यै पूरा भएन।’
यी शब्दहरू भोजपुरको पौवादुङ्मा गाउँपालिकाकी २६ वर्षीया निरुता तामाङ (नाम परिवर्तन) का हुन्।
आँखाभरि आँसु, अनुहारभरि थकान र मनभरि पीडा बोकेर उनी आफ्नो जीवनको सबैभन्दा कठिन अध्याय सुनाइरहेकी थिइन्। टाढा कतै शून्यमा हेरिरहेकी उनी आफ्ना शब्दभन्दा बढी आफ्ना मौнताले बोलिरहेकी थिइन्।
आजभन्दा करिब ६ वर्षअघि निरुताको मागी विवाह भएको थियो।
विवाहपछि उनको जीवनमा खुसीका दिनहरू आएका थिए। श्रीमान्को माया, सासू–ससुराको स्नेह र पछि जन्मिएका दुई छोरीले उनको संसार पूर्ण बनेको थियो।
उनले आफूलाई संसारकै भाग्यमानी महिला ठानेकी थिइन्।
तर समय सधैँ एउटै रहँदैन। केही वर्षको अन्तरालमै उनले सासू र ससुरालाई गुमाइन्। त्यसपछि परिवार मिलेर जीवन अघि बढाइरहेको थियो।
घरको आर्थिक अवस्था सुधार्ने उद्देश्यले उनका श्रीमान् २०७९ साउन ११ गते रोजगारीका लागि मलेसिया जानुभयो।
विदेश जानु उहाँका लागि केवल रोजगारी मात्र थिएन, परिवारका सपना पूरा गर्ने यात्रा थियो। उहाँले बारम्बार भन्नुहुन्थ्यो, «अब तिमीले धेरै दुःख गर्नुपर्दैन। छोरीहरूलाई राम्रो शिक्षा दिनुपर्छ। हाम्रो घर अझ राम्रो बनाउनेछौँ।’
मलेसियामा रहँदा उहाँले नियमित रूपमा घरखर्च पठाउनुहुन्थ्यो। दैनिकजसो फोन गरेर श्रीमती र छोरीहरूको हालखबर लिनुहुन्थ्यो। ती फोनकलहरूले निरुतालाई श्रीमान् टाढा भए पनि साथमै भएको अनुभूति दिलाइरहेका थिए। उनलाई लाग्थ्यो, अब दुःखका दिन सकिए।
तर एउटा बिहान उनको जीवन सधैँका लागि बदलियो।
मलेसियाबाट आएको एउटा फोनले सबै सपना एकैछिनमा चकनाचुर बनाइदियो।
खबर थियो, उनका श्रीमान्ले आफ्नै कोठामा आत्महत्या गर्नुभएको थियो।
त्यो समाचार सुनेपछि उनलाई संसार नै रोकिएको जस्तो लाग्यो।
बिहानसम्म सामान्य रूपमा कुराकानी गरेका श्रीमान् साँझ नपुग्दै संसार छोड्नुभएको कुरा उनले विश्वास गर्न सकिनन्।
उनले पटक–पटक सोधिरहिन्, «कतै गलत खबर त होइन?’ तर जब श्रीमान्को शव नेपाल ल्याइयो, उनले स्वीकार्नै नसकेको यथार्थ उनका सामु उभियो।
उनको मनमा एउटै प्रश्न बारम्बार उठिरह्यो, «हाम्रो सम्बन्धमा कुनै ठूलो विवाद थिएन। सबै कुरा सामान्य थियो। आखिर यस्तो किन भयो?’ त्यसभन्दा पनि कठिन थियो आफ्ना साना छोरीहरूको प्रश्नको सामना गर्नु।
«आमा, बाबा आज किन फोन गर्नुभएन? हामीसँग किन बोल्नुभएन?’
हरेक पटक यी प्रश्न सुन्दा उनको मन चिरिन्थ्यो। आँसु लुकाउँदै उनी छोरीहरूलाई भन्थिन्, «बाबा काममा धेरै व्यस्त हुनुहुन्छ, पछि फोन गर्नुहुन्छ।’ आफ्ना छोरीहरूलाई उनी अझै पनि बाबाको मृत्यु भएको यथार्थ सुनाउन सकेकी थिइनन्।
यस घटनापछि उनको मानसिक अवस्था गम्भीर रूपमा प्रभावित भयो।
उनी निरन्तर तनावमा बस्न थालिन्। कुनै काम गर्न मन लाग्दैनथ्यो, खुसी महसुस हुन छाड्यो र सधैँ रुन मन लाग्थ्यो। भविष्यप्रति डर, निराशा, एक्लोपन, भोक नलाग्ने, रातभर निद्रा नपर्ने र जीवनप्रति हार खाएको अनुभूति उनका दैनिक साथी बने।
यही समयमा सुरक्षित आप्रवासन कार्यक्रममार्फत वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका परिवारलाई उपलब्ध गराउने सहयोगबारे उनले जानकारी पाइन्। उनी आप्रवासी स्रोत केन्द्र पुगिन्।
त्यही क्रममा उनले मनोसामाजिक परामर्श सेवाबारे पनि जानकारी पाइन् र सेवा लिन सहमत भइन्।
पहिलो भेटमै उनले मनमा वर्षौंदेखि थुप्रिएको पीडा पोख्न थालिन्। त्यसपछि नियमित घरभेट, विश्वासमा आधारित सम्बन्ध विस्तार, भावनात्मक अभिव्यक्तिलाई प्रोत्साहन, श्वास–प्रश्वास अभ्यास, «यहाँ र अहिले’ तथा «चमत्कारी प्रश्न’ जस्ता परामर्श प्रविधिको प्रयोग गरियो। साथै, आप्रवासी स्रोत केन्द्रसँगको समन्वयमा वैदेशिक रोजगार बोर्ड र बीमाबाट प्राप्त हुने सेवा–सुविधा लिन आवश्यक सहजीकरण पनि गरियो।
करिब ६–७ पटकको नियमित परामर्शपछि निरुतामा सकारात्मक परिवर्तन देखिन थाल्यो। उनका परिवारका सदस्यहरूले पनि त्यो परिवर्तन महसुस गरे।
उहाँकी दिदीले भावुक हुँदै भन्नुभयो, «पहिले मेरी बहिनी दिनभर रोइरहन्थिन्। अहिले फेरि छोरीहरूसँग हास्न थालेकी छन्। तपाईंहरूको साथ र कार्यक्रममार्फत प्राप्त सहयोगले उनलाई फेरि बाँच्ने हिम्मत दिएको छ।’
आज निरुता बिस्तारै सामान्य जीवनतर्फ फर्किएकी छन्। उनले आफ्ना पीडा, चिन्ता र तनावलाई व्यवस्थापन गर्न सिकेकी छन्।
उनी अहिले आफ्ना दुई छोरीको भविष्यलाई जीवनको सबैभन्दा ठूलो जिम्मेवारी र प्रेरणाका रूपमा हेर्छिन्। छोरीहरूले विद्यालयमा राम्रो नतिजा ल्याउँदा उनी गर्वले मुस्कुराउँछिन्।
छिमेकीहरू पनि उनको मेहनत र संघर्षको प्रशंसा गर्छन्। उनी भन्छिन् कि श्रीमान् नभए पनि छोरीहरूको मुस्कान नै अहिले उनको बाँच्ने आधार बनेको छ।
वैदेशिक रोजगार बोर्डबाट प्राप्त १० लाख र बीमाबाट प्राप्त १४ लाख गरी कुल २४ लाख रुपैयाँ उनले छोरीहरूको शिक्षा र भविष्यका लागि सुरक्षित राखेकी छन्। साथै, निकट भविष्यमा सानो व्यवसाय सञ्चालन गर्ने योजना पनि बनाएकी छन्।
निरुता भन्छिन्, «मेरो श्रीमान्ले किन यस्तो निर्णय गर्नुभयो, म आजसम्म बुझ्न सकेकी छैन।
तर म आफ्ना दुई छोरीका लागि भने हार मान्ने छैन। जीवनले धेरै कुरा सिकायो।
एक समय यस्तो थियो, जब मैले हाँस्नै बिर्सेकी थिएँ।
आज फेरि जीवनलाई स्वीकार्न, छोरीहरूको मुस्कानमा आफ्नो भविष्य देख्न र नयाँ बिहानको आशामा बाँच्न सिकेकी छु। अब मेरो पर्खाइ कसैको फर्किने प्रतीक्षाको होइन, आफ्नै नयाँ जीवनको सुरुवातको हो।’
यस कथाले देखाउँछ कि समयमै प्राप्त मनोसामाजिक परामर्श, परिवारको साथ, सामाजिक सहयोग र सम्बन्धित निकायहरूको समन्वित सेवाले गहिरो शोक र निराशामा रहेका व्यक्तिलाई पुनः आशा र आत्मविश्वासका साथ जीवनतर्फ फर्काउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।
(रुविना श्रीकार, भोजपुरकी मनोसामाजिक परामर्शकर्ता हुन्।)
View : 322
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved