विराटनगर । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज तथा सिरहामा भएका घटनाको निष्पक्ष छानबिनका लागि तत्काल स्वतन्त्र र सर्वस्वीकार्य न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिले जारी गरेको प्रेस विज्ञप्तिमा घटनापछि सरकारले सम्झौता गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नगरेको आरोप लगाइएको छ ।
सम्झौता कार्यान्वयनको माग गर्दै विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदा समेत सरकारले चासो नदेखाएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।
कांग्रेसले देवानगञ्ज–कप्तानगञ्ज, सिरहा लगायतका स्थानमा राज्यको दमनका कारण निर्दोष नागरिकले ज्यान गुमाएको तथा निजी सम्पत्तिमा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको दाबी गरेको छ ।
सरकारले चार जनालाई शहीद घोषणा गरे पनि पीडितलाई न्याय दिने लगायतका अन्य सहमति कार्यान्वयन नगरेको कांग्रेसको भनाइ छ ।
सरकारको गैरजिम्मेवार रवैयाका कारण स्थानीय समुदायमा आक्रोश बढ्दै गएको र पुनः अर्को दुर्घटना निम्तिने खतरा रहेको कांग्रेसले चेतावनी दिएको छ ।
उसले यसअघि भएका सम्झौता तत्काल कार्यान्वयन गरी पीडितलाई राहत र न्याय दिन माग गरेको छ ।
त्यस्तै, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याज पीडितलगायत विभिन्न समूह र संघ–संस्थासंग सरकारले गरेका दर्जनौं सहमति पनि कार्यान्वयन नभएको कांग्रेसले जनाएको छ ।
सहमति गर्ने तर कार्यान्वयन नगर्ने सरकारी प्रवृत्तिले नागरिकमा सरकारप्रति अविश्वास र निराशा बढाएको कांग्रेसको निष्कर्ष छ ।
‘राज्य नागरिकको अभिभावक हो’ भन्ने विश्वास कमजोर हुदै गएको भन्दै कांग्रेसले सरकारलाई संवेदनशील भएर आफना प्रतिबद्धता कार्यान्वयन गर्न आग्रह गरेको पार्टीका प्रवक्ता देवराज चालीसेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
View : 41
Udghosh Daily
प्रेस काउन्सिल दर्ता नं.- ६१८/२०७४-१-१०
सूचना विभाग दर्ता नं : ४५८७-२०८०/२०८१Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved