Biratnagar, Morang, Nepal
१७ कार्तिक २०८३, मङ्गलवार
+977 21 450305, 515728, 578305
आर्थिक

आइक्यानद्वारा लेखा परीक्षणमा कृत्रिम बौद्धिकता सम्बन्धी अन्तर्राष्ट्रिय वेबिनार सम्पन्न

उद्‌घोष संवाददाता
१६ कार्तिक २०८३, सोमवार

Advertisement

विराटनगर । बदलिँदो समयसँगै लेखा पेसालाई अझ पारदर्शी, भरपर्दो र समयसापेक्ष बनाउने संकल्पका साथ नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान), विराटनगर शाखाको आयोजनामा सोमबार ‘लेखांकनमा कृत्रिम बौद्धिकता तथा स्वचालन’ (एआई तथा अटोमेसन इन एकाउन्टिङ) विषयक अन्तर्राष्ट्रिय भर्चुअल वेबिनार भव्यताका साथ सम्पन्न भएको छ।

अन्तर्राष्ट्रिय लेखा दिवस सप्ताहको विशेष अवसर पारेर आयोजित सो कार्यक्रमले आधुनिक प्रविधिलाई आत्मसात् गर्दै सीए पेसाको गरिमालाई अझ उच्च बनाउने साझा प्रतिबद्धतालाई उजागर गरेको छ।

वेबिनारमा लेखांकन, लेखापरीक्षण र वित्तीय व्यवस्थापनमा कृत्रिम बौद्धिकता (एआई) र स्वचालनको बढ्दो प्रयोग, यसले सिर्जना गरेका नयाँ अवसर, चुनौती र भावी दिशाबारे गहन विचार–विमर्श गरिएको थियो ।

‘सबै कार्यमा लेखा परीक्षणको आवश्यकता’ भन्ने मूल मर्मका साथ सञ्चालित वेबिनारमा मुख्य वक्ता सीए बिजेन्द्रसिंह थापाले विषयगत प्रस्तुति दिँदै प्रविधिले लेखा क्षेत्रको गति र शुद्धतामा ल्याएको क्रान्तिकारी परिवर्तनबारे प्रकाश पारेका थिए ।  

त्यस्तै, उद्योग, प्रविधि र लेखा क्षेत्रका अनुभवी व्यक्तित्वहरू प्रतीक राउत, सूर्य अर्याल, सुभाष निरौला र सीए बिजेन्द्रसिंह थापाको जीवन्त सहभागितामा विशेष प्यानल छलफल सञ्चालन गरिएको थियो ।

सो गहन मन्थनको सहज र प्रभावकारी सहजीकरण सीए प्रज्वल अधिकारीले गरेका थिए ।

समूहगत छलफलपछि सहभागी सीए व्यवसायी, उद्यमी तथा अध्ययनरत विद्यार्थीहरूबिच अनुभव, जिज्ञासा र समाधानका उपायहरूबारे हार्दिक अन्तरक्रिया भएको थियो।

लेखापरीक्षण केवल अंकहरूको हिसाब–किताब मात्र नभई संस्थागत विश्वास, पारदर्शिता र आर्थिक अनुशासनको मेरुदण्ड हो भन्ने भावनालाई मूर्तरूप दिँदै आयोजित यस वेबिनारले सहभागी सम्पूर्ण लेखा व्यवसायी तथा सरोकारवालाहरूमा नयाँ ऊर्जा र प्रविधिमैत्री सोचको सञ्चार गराएको विराटनगर शाखा संयोजक संयोजक सीए सुरज तिम्सिनाले गरेका थिए . 

सहभागीहरुलाई स्वागत आईक्यानका  अध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले गरेका थिए । 

View : 88

Copyright © 2023 -2026. Udghosh Daily. All Rights Reserved